Trending
>>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक
Logo
२१ कार्तिक २०८३, शनिबार
२१ कार्तिक २०८३, शनिबार

भारतसित जोडिएको चिवाभञ्ज्याङ नाका खोल्न माग


१८ जेष्ठ ,पाँचथर। पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमविन्दु पाँचथरको याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङ सीमानाका खोल्न स्थानीयले माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका अवसरमा यसबारे भारतीय पक्षसँग छलफल गर्न माग गरिएको हो । नाका खोल्न माग गर्दै याङवरक गाउँपालिकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको छ ।

नाका सञ्चालनमा नआउँदा नेपाल–भारत (सिक्किम) आवतजावत गर्न समस्या भएको गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्याले बताए । स्थानीय उत्पादन भारत निकासी रोकिएको, चिवाभञ्ज्याङ हुँदै नेपाल आउन चाहने पर्यटक र तीर्थयात्रीले बाटो प्रयोग गर्न नपाएकाले यथाशीघ्र नाका सञ्चालनको व्यवस्था गर्न माग गरिएको उनले बताए ।

नेपालले चिवाभञ्ज्याङसम्म एक दशकअघि नै सडक पुर्याएको थियो । मध्यपहाडी लोकमार्गको ट्र्याक खोलिएसँगै यहाँसम्म सवारीसाधन पुग्न थालेका थिए । दुई वर्षअघि भारतको सिक्किम राज्य सरकारले पनि चिवाभञ्ज्याङसम्म सडक विस्तार गरिसकेको छ । यहाँ राज्यको उपस्थिति छैन । नेपालका विभिन्न पर्यटकीय तथा धार्मिकस्थलसम्म जान चाहने पर्यटकले यो बाटो प्रयोग गर्न पाएका छैनन् ।

“सिक्किमबाट पाथीभरा मन्दिरको दर्शन गर्न र पूर्वी पहाडका विभिन्न स्थानमा रहेका आफन्त भेट्नका लागि आउने भारतीय नागरिकले बाटो प्रयोग गर्न पाएका छैनन्”, याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङले भने, “यहाँबाट सिक्किम जान चाहनेले पनि बाटो प्रयोग गर्न पाएका छैनन् ।” पाँचथर र ताप्लेजुङका सयौँ परिवारको सिक्किमसँग पारिवारिक सम्बन्ध छ । अहिले पनि वारिपारि बिहेवारी हुने गरेको छ । प्रहरीले उपलब्ध गराएको प्रवेश अनुमतिपत्र बोकेर मात्र आफन्त भेट्नुपर्ने स्थानीयवासीको बाध्यता छ । “सरसामान ल्याउन तथा लैजान उत्तिकै कठिन छ”, वडाध्यक्ष खालिङले भने ।

चिवाभञ्ज्याङको सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल तैनाथ छ । नेपालतर्फ पनि तीन वर्षअघि बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । दुवैतर्फ सुरक्षाकर्मी तैनाथ गरिएको अवस्थामा नाकालाई व्यवस्थित गरिनुपर्ने गाउँपालिकाका अध्यक्ष योङ्याको भनाइ छ । यहाँ भन्सार कार्यालय स्थापना गर्न माग गरिएको छ । नाका सञ्चालन भए पाँचथर र ताप्लेजुङका सीमावर्ती गाउँपालिका याङवरक, फालेलुङ, सिरिजङ्घा, सिदिङ्वाका ग्रामीण क्षेत्रको उत्पादनले भारतमा बजार पाउने स्थानीयवासी बताउँछन् ।

मध्यपहाडी लोकमार्गसँग याङवरक–६ गणेशचोकमा मेची राजमार्ग र हिलिहाङ–१ फेदापामा तमोर करिडोर जोडिन्छ । नाका खुलेमा सामग्री आयात गर्न सहज हुने, राजस्व सङ्कलनमा वृद्धि हुने अध्यक्ष योङ्या बताउछन् । चिवाभञ्ज्याङबाट याङवरक–४ दारिम्बासम्म मध्यपहाडी लोकमार्गको ५१ किलोमिटर सडक कालोपत्र गर्न बाँकी नै छ । कालोपत्रका लागि ठेक्का आह्वान गरिएको छ । सीमानाका सहजरुपमा सञ्चालनमा आए भारतीय पर्यटक भित्र्याउन ससहज हुने देखिन्छ ।

अहिले पनि दिनहुँ भारतीय पर्यटक पाथीभरा मन्दिर पुग्ने गर्छन् । उनीहरू झापाको काँकरभिट्टा नाका हुँदै लामो बाटो प्रयोग गर्न बाध्य छन् । नाका सञ्चालनका लागि भारत सरकारसँग सम्झौता गरी चिवाभञ्ज्याङलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्नुपर्ने गाउँपालिकाको माग छ ।


प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?