Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

शुक्लाफाँटामा फेला पर्यो नयाँ प्रजातीको चरा


१० जेठ, कञ्चनपुर । नेपालका लागि नयाँ प्रजातिको चरा सुदूरपश्चिमको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा थपिएको छ । लानिडी पंछी परिवारअन्तर्गतको नयाँ प्रजातिको भद्राई चरा थपिएको हो ।

यो चराको अङ्ग्रेजी नाम ‘लेसर ग्रे स्राइक’ रहेको छ । निकुञ्ज कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) शुक्लाफाँटा संरक्षण कार्यक्रमले सञ्चालन गरेको नियमित वन्यजन्तु अनुसन्धानको क्रममा यहि वैशाख ३० गते (मे १३, २०२३ मा) लेसर ग्रे स्राइक चरा फेला परेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले जानकारी दिए ।

“नयाँ प्रजातिको चरा देखिएपछि त्यो नयाँ प्रजाति हो वा होइन भनेर पुष्टि गर्नका लागि हामीले फिल्डमा खिचेको फोटोसहितको विवरण नेपालका पंक्षी विज्ञविद्हरुको कमिटीलाई पठाएका थियौं”, उनले भने,“त्यो नयाँ प्रजाति रहेको पुष्टि भएको छ ।”

शुक्लाफाँटा संरक्षण कार्यक्रमका वन्यजन्तु प्राविधिक देवराज जोशीले उक्त चरालाई अभिलेख गरेको एनटीएनसीले प्रेस विज्ञप्ती जारी गरेर जानकारी दिएको छ । सो संस्थाका अनुसार निकुञ्जको उत्तरी भागमा रहेको कालापानी क्षेत्रको नदीतटमा नयाँ प्रजातिको भद्राई चरा पहिलो पटक देखिएको थियो । चरा अभिलेख गरिएको क्षेत्र समुन्द्र सतहबाट २१८ मिटरको उचाइमा रहेको छ ।

नेपालमा यसअघि छ प्रजातिका भद्राई चरा अभिलेख गरिएका छन् । नयाँ प्रजातिको भद्राई चरा फेला परेपछि थप पहिचानका लागि विवरणसहित नेपाल पंक्षीविद् संघअन्तर्गतको ‘रेअर बर्ड रेकर्ड कमिटी’ मा पठाइएको थियो । शरीरको आकारमा रहेको भिन्नता, निधार, र तालुमा विशेष कालो चिह्नहरु, कालो पखेटामा रहेको एकमात्र सेतो चिह्न आदिका आधारमा अरु भद्राईभन्दा यो फरक रहेको निक्र्योल निकालिएको थियो ।

फिल्डबाट लिइएको फोटोसहितको विवरण राष्ट्रिय, अन्तर्राष्ट्रिय ख्याती प्राप्त पंक्षीविद्को रायसहित शुक्लाफाँटामा फेला परेको भद्राई चरा नयाँ प्रजाति रहेको कमिटीले यकिन गरेको छ । यो कमिटीमा पंक्षीविद्हरु डा. हेमसागर बराल, क्यारोल इन्सकिप, हथन चौधरी, टीकाराम गिरी लगायतका पंक्षीविदहरु रहनुभएको मेहताले बताए ।

लेसर ग्रे स्राइक लामो दूरीसम्म विचरण गर्ने फिरन्ते चरा रहेको एनटीएनसीले जनाएको छ । यो चरा साइबेरियादेखि मध्य एशियाहुँदै अफ्रिका महादेशसम्म विचरण गर्ने गरेको जनाइएको छ । यसअघि, सन २०२० मा भारतको पञ्जाब प्रान्तको लुधियाना क्षेत्रमा यो प्रजाति अभिलेख गरिएको थियो ।

शुक्लाफाँटामा भेटिएको नयाँ प्रजातिको भद्राई आक्कलझुक्कल देखिने चरा रहेको पंक्षीविद् हिरुलाल डङ्गौराको ठम्याइ छ । उनका अनुसार लामो दूरीसम्म विचरण गर्ने यो प्रजातिको चरा कहिलेकाँही बाटो बिर्सेर आउने गर्दछन् । भारत वा चीनतर्फबाट यो चरा शुक्लाफाँटामा आएको हुन सक्ने डङ्गौराले बताए ।

नयाँ प्रजातिको चरा अभिलेख भएसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने चरा प्रजातिको सङ्ख्या ४६० पुगेको छ । यसैगरी, नेपालमा पाइने चरा प्रजातिहरुको समग्र सङ्ख्या ८९२ पुगेको छ । नेपालकै लागि नयाँ प्रजातिको चरा शुक्लाफाँटामा थपिनु निकै खुशीको विषय रहेको प्रमुख संरक्षण अधिकृत मेहताले बताए । “यो चरा दुर्लभ नरहे पनि नेपालकै लागि प्रजाति थपिनु खुशीको विषय हो ।,” उनले भने ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?