Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

हावाहुरीले कागती खेती नष्ट


९ जेष्ठ ,दमौली । केही दिनदेखि आएको हावाहुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका–१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा नोक्सान पुर्याएको छ । स्थानीयवासी राजु रेग्मीले व्यावसायिकरूपमा सुरु गरेको कागती खेतीमा हावाहुरीले नोक्सानी गरेको हो । छब्बीस रोपनी क्षेत्रफलमा एक हजार बोट लगाएकामा हावाहुरीले तीन सय बोट नष्ट गरेको उनले जानकारी दिए ।

उनका अनुसार २६ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा कागती खेती गरिएको छ । किसान रेग्मीले भने, “हावाहुरीले धेरै ठूलो क्षति पुगेको छ, तीन सयभन्दा बढी बोट भाँचिएको छ, बगैँचा ध्वस्त बनाएको छ ।” कृषिमा केही गर्छु भन्ने सोच राखेर अगाडि बढ्दा प्रकृतिबाट ठगिएको उनले गुनासो गरे ।

चार वर्ष कोरिया बसेर फर्केका उनले कागतीलाई नै मुख्य पेसा बनाउने सोचसहित अगाडि बढेका छन् । हालसम्म रु ३५ लाख लगानी भएको उनले बताए । अघिल्लो वर्ष रु पाँच लाखको कागती बिक्री गरेकामा यस वर्ष रु २५ लाखको बिक्री गर्ने लक्ष्य थियो । उनले भने, “कागती राम्रो फलिरहेको थियो, यो वर्ष विस्तार पनि गरेको थिएँ, तर हावाहुरीले बोटहरू जरैदेखि भाँचिएको छ ।”

कृषिप्रधान देश भनिए पनि कृषिमा सम्बन्धित निकायको कम चासो रहने गरेको उनले गुनासो गरे  । कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा तरकारी बालीमा क्षति पुगेको जानकारी दिए । उनका अनुसार जिल्लाभर क्षतिको विवरण सङ्कलन भइरहेको छ । कृषिमा पुगेको क्षतिको मूल्याङ्कन गरेर कृषकलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।“हामी सम्बन्धित निकायमा यसबारेमा जानकारी गराउँछौँ, कृषकलाई क्षतिपूर्तिको व्यवस्था नगर्ने हो भने उहाँहरू कृषि पेसाबाटै विमुख हुनुपर्ने अवस्था आउन सक्छ”, उनले भने ।

आशापानीका कागती खेती कृषकको बगैँचामा पुगेर अवलोकन गर्दा धेरै ठूलो क्षति भएको जानकारी पाएको उनले बताए । उनले भने, “कृषकले राम्रो व्यवस्थापनका साथ कागती खेती गर्नुभएको थियो, बगैँचा व्यवस्थापन आकर्षण छ, तर हावाहुरीले एकतिहाइ बोट जरैदेखि नष्ट गरिदियो ।” पछिल्लो समय कृषिमा युवाहरूको आकर्षण बढिरहेकाले युवालाई कृषि क्षेत्रमा टिकाइराख्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । जिल्लाभरको हावाहुरीको क्षतिको विवरण आइनसकेको भन्दै उनले भने, “हामीले स्थलगतरूपमा क्षतिको विवरण सङ्कलनको काम गरिरहेका छौँ ।”

व्यास नगरपालिकाले हावाहुरी, असिनापानीका कारण भएको क्षतिको विवरण सङ्कलन गर्न लागेको छ । केही दिन अगाडि आएको हावाहुरी, असिनापानीका कारणले नगरपालिका क्षेत्रका विभिन्न वडामा पारेको असरको विवरण सङ्कलन गरी सात दिनभित्र वडा विपद् समितिबाट निर्णय गराई नगर विपद् समितिमा सिफारिस गर्न सबै वडा समितिलाई निर्देशन दिइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?