Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

महसुल नतिरेपछि नगरपालिका कार्यालयको धारा काटियो


६ जेठ, झापा । तीन वर्षदेखि मेचीनगर नगरपालिका कार्यालयले खानेपानीको बक्यौता महसुल नतिरेका कारण नगरपालिका कार्यालयको खानेपानीको धारा काटिएको छ ।

धारा काटिएपछि मेचीनगर नगरपालिकाको कार्यालय परिसरमा रहेको नगर प्रहरी र बारुण यन्त्रका कर्मचारीलाई खानेपानीको असुविधा भएको नगरका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले बताए । उनले नगरपालिका प्रशासनलाई नसोधी खानेपानीका प्राविधिकले पानीको धारा काटिदिएको गुनासो गरे । “एउटा सरकारी कार्यालयको खानेपानीको धारा यसरी अचानक काटिँदा अचम्म लाग्यो, हामी कार्यालयमै थियौँ, एक शब्द सोधिएन”, उनले भने ।

काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीले तीन वर्षदेखि नगरपालिकाले खानेपानीको बक्यौता नतिरेपछि बाध्य भएर धारा काट्नु परेको बताए । उनका अनुसार नगरपालिकाको बक्यौता रू छ लाखभन्दा बढी भइसकेको र यसबीचमा पटकपटक महसुल तिर्नका लागि ताकेता पत्राचार गरिएको थियो ।

“उपभोक्तालाई लाग्ने कानुन र नियम भनेको एउटै हुनुपर्छ, धेरैपटक समन्वयका लागि पहल गर्याैँ, तर नगर प्रशासनले बेवास्ता गरेपछि धारा काटेका हौँ”, समितिका अध्यक्ष पराजुलीले भने । मेचीनगर नगरपालिकाले खानेपानीको १४ धारा प्रयोग गरिरहेको संस्थाले जनाएको छ । अध्यक्ष पराजुलीले शुक्रबार दुई वटा धारा काटिएको र अरु १२ वटा धारा पनि काट्ने तयारी भइरहेको जानकारी दिए । नगरपालिकाले भने खानेपानीको बक्यौता छिट्टै भुक्तानी गरिने जनाएको छ ।

संस्थाले नगरपालिकाको वडा नं ६ लाई सरसफाइका लागि भाडामा दिइएको ट्र्याक्टरको छ महिनादेखिको भाडासमेत भुक्तानी नपाएको जनाएको छ । हरेक ट्रिपको रू एक हजार आठ सय भाडा तिर्ने वडासँग सम्झौता भएकामा वडा कार्यालयको भुक्तानीसमेत नगरपालिकाबाट नदिइएको संस्थाका अध्यक्ष पराजुलीले बताए । उनले खानेपानी महसुल बुझाउन अटेर गर्ने कार्यालय र उपभोक्ताको धारा काट्ने अभियान सुरु गरिएको बताए । “लामो अवधिदेखि महसुल नबुझाएका तीन दर्जन सङ्घसंस्थाको यसै साता धारा काटिदिएको छ”, अध्यक्ष पराजुलीले भने ।


प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?