Trending
>>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

महसुल नतिरेपछि नगरपालिका कार्यालयको धारा काटियो


६ जेठ, झापा । तीन वर्षदेखि मेचीनगर नगरपालिका कार्यालयले खानेपानीको बक्यौता महसुल नतिरेका कारण नगरपालिका कार्यालयको खानेपानीको धारा काटिएको छ ।

धारा काटिएपछि मेचीनगर नगरपालिकाको कार्यालय परिसरमा रहेको नगर प्रहरी र बारुण यन्त्रका कर्मचारीलाई खानेपानीको असुविधा भएको नगरका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले बताए । उनले नगरपालिका प्रशासनलाई नसोधी खानेपानीका प्राविधिकले पानीको धारा काटिदिएको गुनासो गरे । “एउटा सरकारी कार्यालयको खानेपानीको धारा यसरी अचानक काटिँदा अचम्म लाग्यो, हामी कार्यालयमै थियौँ, एक शब्द सोधिएन”, उनले भने ।

काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीले तीन वर्षदेखि नगरपालिकाले खानेपानीको बक्यौता नतिरेपछि बाध्य भएर धारा काट्नु परेको बताए । उनका अनुसार नगरपालिकाको बक्यौता रू छ लाखभन्दा बढी भइसकेको र यसबीचमा पटकपटक महसुल तिर्नका लागि ताकेता पत्राचार गरिएको थियो ।

“उपभोक्तालाई लाग्ने कानुन र नियम भनेको एउटै हुनुपर्छ, धेरैपटक समन्वयका लागि पहल गर्याैँ, तर नगर प्रशासनले बेवास्ता गरेपछि धारा काटेका हौँ”, समितिका अध्यक्ष पराजुलीले भने । मेचीनगर नगरपालिकाले खानेपानीको १४ धारा प्रयोग गरिरहेको संस्थाले जनाएको छ । अध्यक्ष पराजुलीले शुक्रबार दुई वटा धारा काटिएको र अरु १२ वटा धारा पनि काट्ने तयारी भइरहेको जानकारी दिए । नगरपालिकाले भने खानेपानीको बक्यौता छिट्टै भुक्तानी गरिने जनाएको छ ।

संस्थाले नगरपालिकाको वडा नं ६ लाई सरसफाइका लागि भाडामा दिइएको ट्र्याक्टरको छ महिनादेखिको भाडासमेत भुक्तानी नपाएको जनाएको छ । हरेक ट्रिपको रू एक हजार आठ सय भाडा तिर्ने वडासँग सम्झौता भएकामा वडा कार्यालयको भुक्तानीसमेत नगरपालिकाबाट नदिइएको संस्थाका अध्यक्ष पराजुलीले बताए । उनले खानेपानी महसुल बुझाउन अटेर गर्ने कार्यालय र उपभोक्ताको धारा काट्ने अभियान सुरु गरिएको बताए । “लामो अवधिदेखि महसुल नबुझाएका तीन दर्जन सङ्घसंस्थाको यसै साता धारा काटिदिएको छ”, अध्यक्ष पराजुलीले भने ।


प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?