Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

जङ्गल नजिकको बस्तीमा हात्तीको त्रास


३ जेठ, कञ्चनपुर । बस्ती नजिकैको जङ्गलमा हात्ती देखिन थालेपछि कैलालीको टीकापुर नगरपालिकाका नागरिक त्रसित भएका छन् । नगरपालिकाको वडा नं २ को पूर्वतिरको जङ्गलमा आजभोलि दैनिकजसो हात्ती देखिन थालेपछि उनीहरू त्रसित भएका हुन् ।

खोटेना भुराखानी सामुदायिक वन क्षेत्रमा बढीजसो हात्ती देखिन थालेका उनीहरू बताउँछन् । स्थानीयका अनुसार कहिलेकाहीँ एक, कहिले दुईवटासम्म हात्ती वन क्षेत्रमा देखिने गरेका छन् । “दिउँसोको समयमा खोटेना भुराखानी सामुदायिक वनको पूर्वतिर कर्णाली नदीको बीच टापुमा हात्ती देखिन्छन् भने रातिको समयमा बस्तीतिर आउने गरेका छन्”, खोटेना भुराखानी सामुदायिक वनका वन हेरालु टीकाराम बोगटीले भने, “हामीलाई पनि हात्तीको निकै डर लाग्छ । त्यसैले आजभोलि वनभित्र जाँदा हामी पनि समूह बनाएर जाने गर्दछौँ । एक्लै–एक्लै हिँड्न छाडेका छौँ ।”

केही दिनअघि मात्र सीतापुर गाउँको जङ्गल छेउतिरको बस्तीमा केही व्यक्तिको घाँस फार्ममा हात्ती पसेर घाँससमेत खाइदिएको छ । गाउँमा हात्ती पसेको थाहा पाएपछि होहल्ला गर्ने, बाजागाजा बजाउने, भाँडाकुँडा ठटाउने काम स्थानीयले गरिरहेका छन् । केही दिनअघि गाउँमा पसेको हात्तीलाई पनि आफूहरूले होहल्ला गरेरै भगाएको सीतापुरका लक्ष्मण चौधरीले बताए ।

“हात्ती गाउँमा पसेपछि सबै त्रसित भयौँ, पछि आगो बालेर, हल्ला गरेर भगायौँ”, उनले भने, “हात्तीको त्रासले स्थानीय निर्धक्क सुत्न सक्दैनन् । हात्ती बस्तीमा पसेमा घर भत्काउने हो कि भन्ने त्रास रहन्छ ।”

वडा नं २ को पूर्वतिर खोटेना भुराखानी, रानी कर्णाली, सितल र जनशक्ति गरी चार सामुदायिक वन रहेका छन् । ती सामुदायिक वनमा दैनिक सयाैँ उपभोक्ता घाँस दाउरा काट्न जान्छन् । हात्ती देखिन थालेपछि जङ्गलमा घाँस दाउरा खोज्न डराइ–डराइ जाने गरेको टीकापुरकी राधिका रावतले बताए । “जङ्गल गएकाहरू सधैँ त्रासमा रहन्छन्”, उहाँ भन्नुहुन्छ, “वनजङ्गल जानुपर्ने बाध्यता भएकाले अचेल समूह बनाएर जाने गरेका छौँ ।”

हात्ती देखिन थालेपछि जङ्गलमा घाँस दाउरा गर्न जानेलाई सामुदायिक वनका पदाधिकारी तथा कर्मचारीले सजग रहन आग्रह गर्ने गरेका छन् । वडा नं २ को पूर्वतिर अधिकांश जङ्गल क्षेत्र पर्ने भएकाले वडा कार्यालयले पनि जङ्गलतिर जाँदा वा रातिको समयमा जङ्गल छेउ बस्तीकालाई सचेत रहन आग्रह गरिएको वडा नं २ का वडाध्यक्ष दीपक चौधरीले बताए ।

“हामीले सचेत रहन सूचना जारी गरेका छौँ । सकेसम्म जङ्गलतिर नजाने, घाँस दाउराका लागि जानैपर्ने भए सतर्कता अपनाउन भनेका छौँ”, उनले भने, “घना जङ्गलमा अन्य जङ्गली जनावरको पनि डर हुन्छ ।”

गत वर्ष यहाँ जङ्गल क्षेत्रमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो । केही महिनाअघि बाघको आक्रमणबाट एक जना घाइते भएका थिए ।


प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?