Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

जङ्गल नजिकको बस्तीमा हात्तीको त्रास


३ जेठ, कञ्चनपुर । बस्ती नजिकैको जङ्गलमा हात्ती देखिन थालेपछि कैलालीको टीकापुर नगरपालिकाका नागरिक त्रसित भएका छन् । नगरपालिकाको वडा नं २ को पूर्वतिरको जङ्गलमा आजभोलि दैनिकजसो हात्ती देखिन थालेपछि उनीहरू त्रसित भएका हुन् ।

खोटेना भुराखानी सामुदायिक वन क्षेत्रमा बढीजसो हात्ती देखिन थालेका उनीहरू बताउँछन् । स्थानीयका अनुसार कहिलेकाहीँ एक, कहिले दुईवटासम्म हात्ती वन क्षेत्रमा देखिने गरेका छन् । “दिउँसोको समयमा खोटेना भुराखानी सामुदायिक वनको पूर्वतिर कर्णाली नदीको बीच टापुमा हात्ती देखिन्छन् भने रातिको समयमा बस्तीतिर आउने गरेका छन्”, खोटेना भुराखानी सामुदायिक वनका वन हेरालु टीकाराम बोगटीले भने, “हामीलाई पनि हात्तीको निकै डर लाग्छ । त्यसैले आजभोलि वनभित्र जाँदा हामी पनि समूह बनाएर जाने गर्दछौँ । एक्लै–एक्लै हिँड्न छाडेका छौँ ।”

केही दिनअघि मात्र सीतापुर गाउँको जङ्गल छेउतिरको बस्तीमा केही व्यक्तिको घाँस फार्ममा हात्ती पसेर घाँससमेत खाइदिएको छ । गाउँमा हात्ती पसेको थाहा पाएपछि होहल्ला गर्ने, बाजागाजा बजाउने, भाँडाकुँडा ठटाउने काम स्थानीयले गरिरहेका छन् । केही दिनअघि गाउँमा पसेको हात्तीलाई पनि आफूहरूले होहल्ला गरेरै भगाएको सीतापुरका लक्ष्मण चौधरीले बताए ।

“हात्ती गाउँमा पसेपछि सबै त्रसित भयौँ, पछि आगो बालेर, हल्ला गरेर भगायौँ”, उनले भने, “हात्तीको त्रासले स्थानीय निर्धक्क सुत्न सक्दैनन् । हात्ती बस्तीमा पसेमा घर भत्काउने हो कि भन्ने त्रास रहन्छ ।”

वडा नं २ को पूर्वतिर खोटेना भुराखानी, रानी कर्णाली, सितल र जनशक्ति गरी चार सामुदायिक वन रहेका छन् । ती सामुदायिक वनमा दैनिक सयाैँ उपभोक्ता घाँस दाउरा काट्न जान्छन् । हात्ती देखिन थालेपछि जङ्गलमा घाँस दाउरा खोज्न डराइ–डराइ जाने गरेको टीकापुरकी राधिका रावतले बताए । “जङ्गल गएकाहरू सधैँ त्रासमा रहन्छन्”, उहाँ भन्नुहुन्छ, “वनजङ्गल जानुपर्ने बाध्यता भएकाले अचेल समूह बनाएर जाने गरेका छौँ ।”

हात्ती देखिन थालेपछि जङ्गलमा घाँस दाउरा गर्न जानेलाई सामुदायिक वनका पदाधिकारी तथा कर्मचारीले सजग रहन आग्रह गर्ने गरेका छन् । वडा नं २ को पूर्वतिर अधिकांश जङ्गल क्षेत्र पर्ने भएकाले वडा कार्यालयले पनि जङ्गलतिर जाँदा वा रातिको समयमा जङ्गल छेउ बस्तीकालाई सचेत रहन आग्रह गरिएको वडा नं २ का वडाध्यक्ष दीपक चौधरीले बताए ।

“हामीले सचेत रहन सूचना जारी गरेका छौँ । सकेसम्म जङ्गलतिर नजाने, घाँस दाउराका लागि जानैपर्ने भए सतर्कता अपनाउन भनेका छौँ”, उनले भने, “घना जङ्गलमा अन्य जङ्गली जनावरको पनि डर हुन्छ ।”

गत वर्ष यहाँ जङ्गल क्षेत्रमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो । केही महिनाअघि बाघको आक्रमणबाट एक जना घाइते भएका थिए ।


प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?