Trending
>>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

तीन प्रहरी सम्मानित


२ जेष्ठ ,खोटाङ । किराना पसल सञ्चालन गरिएको घरमा आगजनी गर्दै गरेको देखेपछि घरधनी तथा छिमेकीलाई सूचना दिएर जनधनको क्षति हुनबाट जोगाउन भूमिका निर्वाह गरेकामा तीन जना प्रहरीलाई अभिनन्दन गरिएको छ ।

गत वैशाख ३१ गते बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको भवनगैरास्थित महेश बजिमयको पसलमा अपरिचित व्यक्तिले आगो लगाएको देखेर खबर गरी तत्काल निभाउन सहयोग गरेकामा प्रहरी जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत प्रहरी हवल्दार प्रकाश तामाङ, प्रहरी जवान दुर्गाप्रसाद निरौला र लीलाबहादुर थापालाई ज्येष्ठ नागरिक सङ्घ खोटाङले सोमबार अभिनन्दन गरेको हो ।

आपराधिक मानसिकता भएका व्यक्तिले बजिमयको पसलमा अचानक आगो लगाएको देखेपछि सूचना दिएर अर्बौँका धनजन तथा पशुपक्षी जोगाउन सफल भएकाले उनीहरूको योगदानको उच्च कदरका साथै सम्मानस्वरुप अभिनन्दन गरिएको सङ्घका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए ।

“प्रहरीले नदेखेको भए दिक्तेल बजारका दर्जनौँ घर तथा पसल आगलागीबाट ध्वस्त हुने थियो”, उनले भने, “गस्तीमा रहेका प्रहरी जवानले बेलैमा देखेर सूचना दिएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।आगलागीका घटनाबाट जोगाउन ठूलो योगदान दिएकाले उनीहरू तीनै जनालाई हौसला तथा सम्मानका लागि अभिनन्दन गरिएको हो ।”

जिल्ला प्रहरी कार्यालय खोटाङबाट दिक्तेल बजारको सुरक्षाका लागि रात्रि गस्तीमा खटाइएका तीन प्रहरी जवानलाई बजिमयकै पसल अगाडि ल्याएर अभिनन्दन गरिएको छ । घटना देखेर बेलैमा खबर गरेका कारण प्रहरी जवानलाई प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’ले जनही नगद रु पाँच–पाँच हजार र बजिमयले जनही नगद रु चार–चार हजारका दरले पुरस्कार प्रदान गरेका छन् ।

प्रहरी जवानलाई प्रदेशसभा सदस्य पिके, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँ र प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले अभिनन्दन गरेका थिए । अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य पिकेले ज्येष्ठ नागरिक सङ्घको यो कार्यक्रम प्रशंसनीय रहेको प्रतिक्रिया दिएका छन् ।

आगजनी गर्न प्रयास गर्ने आपराधिक व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए । रातको समयमा भएको घटना भएकाले आपराधिक व्यक्तिको पहिचान गर्न समय लाग्ने प्रहरीले जनाएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारका अधिकांश घर पुरानो तथा परम्परागत रहेका छन् । एकआपसमा जोडेर बनाइएका घर भएकाले एउटा घरमा लागेको आगो सबैमा सल्कने अवस्था छ ।

यसअघि दिक्तेल बजारको रत्नपार्क र अस्पताल चोकमा भएको आगलागीबाट दर्जनौँ घर तथा पसल जलेर नष्ट भएका थिए । साँघुरो बाटो (सडक) तथा ढुङ्गा/माटोले बनेका घर भएकाले दिक्तेल बजार आगलागीको उच्च जोखिममा रहेको छ ।


प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?