Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

तीन हजार बढी घरमा खरको छाना हटाएर जस्तापाता लगाइयो


३१ वैशाख, रोल्पा । रोल्पाका तीन हजार बढी घरमा खरको छाना हटाएर जस्तापाता लगाइएको छ । जिल्लाका तीन हजार एक सय ६९ घरधुरीमा जस्तापाता राखिएको हो । यसका लागि सङ्घीय र स्थानीय सरकारले रु १५ करोड ६७ लाख १३ हजार खर्च गरिसकेका छन् । खरको छानो हटाएसँगै वर्षात्को समयमा पानी चुहिने र सु्क्खा मैसममा आगलागी हुने समस्याबाट मुक्त भएका छन् ।

रोल्पा नगरपालिकामा एक हजार दुई सय ३८ वटा घरमा फुसको छाना भएकामा हालसम्म छ सय ७८ घरको छाना फेरिएको छ । नागरिक सुरक्षित आवास कार्यक्रमबाट दुई सय ३२ र फुसको छाना विस्थापित कार्यक्रमबाट चार सय ४६ घरको छाना फेरिएको हो । पाँच सय ६० घरमा फुसको छाना फेर्न बाँकी रहेको रोल्पा नगरपालिकाका योजना अधिकृत सुशील थापाले बताए।

यस कार्यक्रमका लागि सङ्घीय सरकार र नगरपालिकाको रु तीन करोड १२ लाख खर्च भइसकेको छ । सङ्घीय सरकारको नागरिक सुरक्षित आवास कार्यक्रम र स्थानीय सरकारको फुसको छानो विस्थापन कार्यक्रम सुरु भएपछि जिल्लाका विपन्न समुदायका धेरैलाई राहत पुगेको छ ।

रुन्टीगढी गाउँपालिकाले फुसको छाना हटाइएको छ । यहाँका फुसको छाना भएका एक हजार छ सय ३१ घरमध्ये हालसम्म एक हजार १२ घरधुरीको छाना फेरिएको गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिए । सो गाउँपालिकामा यस शीर्षकमा सङ्घीय सरकार र स्थानीय तहको रु पाँच करोड छ लाखभन्दा बढी बजेट खर्च भएको छ ।

त्रिवेणी गाउँपालिकामा टिनको छाना लगाउन छनोट भएका पाँच सय १४ मध्ये तीन सय ८८ घरको छाना फेरिएको गाउँपालिकाले जानकारी दिएको छ । यसका लागि उसले सङ्घीय सरकार र स्थानीय सरकारको रु एक करोड ९४ लाख खर्च गरेको छ । परिवर्तन गाउँपालिकाले नागरिक सुरक्षित आवास कार्यक्रमअन्तर्गत दुई सय घर छनोट भएका थिए । उसले छनोट भएकामध्ये एक सय ६४ घरको छाना फेर्न रु ५१ लख ९३ हजार दिइसकेको छ ।

गङ्गादेव गाउँपालिकामा चार सय ४८ घरको छाना फेर्ने कार्यक्रम छ । सो गाउँपालिकाले यस काममा रु एक करोड ६८ लाख खर्च गरिसकेको छ भने चालु आर्थिक वर्षका लागि समेत ५६ लाख बजेट विनियोजन गरेको छ । सुनिल स्मृति गाउँपालिकाले हालसम्म चार सय एक घरमा फुसको छानाका साटो टिनको छाना लगाएको छ । सङ्घीय सरकारको सहयोगमा दुई सय ३६ घर र गाउँपालिकाको कार्यक्रमअन्तर्गत एक सय ६५ घरमा टिनको छाना हालिएको हो ।

लुङ्ग्री गाउँपालिकाले नागरिक सुरक्षित आवास कार्यक्रमअन्तर्गत ७० घरमा टिनको छाना लगाएको छ । छनोट भएका एक सय १० घरमध्ये ७० घरमा टिनको छाना लगाइसकिएको छ । बाँकी घरमा पनि टिनको छाना लगाउन सहयोग गर्ने गाउँपालिकाले बताएको छ । थवाङ गाउँपालिकाले नागरिक सुरक्षित आवासअन्तर्गत काठको छानाका सट्टामा टिनको छाना लगाउन छनोट भएका एक सय २१ घरमध्ये ५७ घरको छाना फेरिएको छ ।

फुसको छानाको घरमा पटक–पटक आगलागीको समस्या भोग्ने गरेका थिए । दुई–तीन वर्षको अन्तरालमा छाना फेरिरहनुपर्ने समस्याका साथै पानी चुहिने समस्यासमेत भोग्दै आएका रोल्पालीको अहिले एकैपटक सबै समस्या हल भएको छ ।

रोल्पामा खर तथा काठले घर छाउने चलन पुरानो हो । थवाङ, सुनछहरी र परिवर्तन गाउँपालिकाका केही वडामा काठले छाना छाउने गर्दछन् भने अन्य पालिकामा खरले छाउने गर्दछन् । सम्पन्न व्यक्तिले स्लेटढुङ्गा र टिनले छाउँछन् । खर र काठले छाएका घरमा पानी चुहिने, आगलागी हुने डर हुने गरेको थियो ।


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?