Trending
>>   नेपाल र जर्मनी सरकारबिच विद्युत वितरण सुदृढीकरणका लागि सम्झौता >>   अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा >>   युक्रेनमा पुनः रूसी हमला सातजनाको मृत्यु >>   त्रिशूलीमा ट्रक खस्यो >>   आज मिति २०८१ साल मङ्सिर ०४ गते मंगलबार,हेर्नुहोस आजको राशिफल >>   मिसन –८४ मा पार्टीलाई निर्णायक शक्तिका रूपमा स्थापित गर्छौं : शङ्कर पोखरेल >>   ‘देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नु पर्छ’ >>   आज देखि २० दिन राति ११ बजेदेखि चार घण्टा पृथ्वीराजमार्ग बन्द हुने >>   आज मिति २०८१ साल मङ्सिर ०३ गते सोमबार,हेर्नुहोस आजको राशिफल >>   टेलिकमको अवरुद्ध सेवा सञ्चालन
Logo
४ मंसिर २०८१, मंगलवार
४ मंसिर २०८१, मंगलवार

जीविकोपार्जन गर्न तरबुजाको व्यापार


३१ वैशाख, कञ्चनपुर । महेन्द्र राजमार्ग छेउमै लहरै छन्, स–साना छाप्रा । अघिल्तिर भरिभराउ तरभुजा । किनमेल गर्नेको त्यस्तै भीडभाड । झट्ट हेर्दा राजमार्गमा ‘तरभुजा मेला’ लागेजस्तै देखिन्छ ।

शुक्लाफाँटा नगरपालिका–११ वनहरा पुल क्षेत्रको यो दृश्यले महेन्द्र राजमार्ग भएर आउजाउ गर्ने यात्रुलाई आकर्षित गराएको छ । तरभुजा किन्न यात्रु सवारीसाधन रोकेर ओर्लिरहेका छन् । घाम छल्न त्रिपाल टाँगिएको छ । त्रिपालमुनि बसेर कोही ग्राहक कुरिरहेका छन् । कोही तरभुजा तौलिनमा व्यस्त देखिन्छन् । तरभुजाको मोलमोलाइ पनि चलिरहेकै छ ।

यहीँ भीडमा तरभुजा बिक्री गरिरहेको भेटिए, कृष्णपुर नगरपालिका–२ वाणीका जगदेव राना । उनले वनहरा नदीको बगरमा पाँच कठ्ठा क्षेत्रमा तरभुजा खेती गरेका छन् । “यो सिजनमा एक साता भयो तरभुजा बिक्री गर्न थालेको छ, अहिलेसम्म १५ हजारको बिक्री गरेँ”, उनले भने, “दैनिक एक हजारदेखि दुई हजारसम्मको बिक्री हुन्छ ।”

जगदेवको परिवार नै बगरमा तरभुजा खेती गर्नमा खटिने गरेका छन् । बङ्ककी ५० वर्षीया नथ्थु बडायकले राजमार्ग छेउमा त्रिपाल थापेर तरभुजा बिक्री गर्न लागेको दुई दशक बितिसक्यो । अनडैया भन्ने ठाउँमा बस्ने उनी आरक्ष विस्तारका क्रममा विस्थापित भएकी थिइन् । अनडैयाबाट विस्थापित भएपछि उनीसँग खेतीपातीका लागि जमिन थिएन । त्यसपछि बगरमा तरभुजा खेती गरेर जीविकोपर्जन गर्दै आएको उनले बताइन्।

“कसैले जमिन पाए, कसैले पाएनन्, हामीले जमिन नपाएपछि यहाँ बस्दै आएका हौँ”, उनले भनिन्, “खेतपातीका लागि जमिन छैन, सिजनमा बगरमा तरभुजा खेती गरेर जीवन धानेका छौँ ।” वनहरा पुल क्षेत्रमा तरभुजा बेचेर जीविकोपार्जन गर्नेमा अधिकांश आरक्षपीडित रहेका छन् । अहिले राजमार्ग क्षेत्रको वनहरा पुल क्षेत्रमा ९० जनाभन्दा बढी तरभुजा बेचेर घर खर्च रहेकी छिन् ।

गत चैत अन्तिम सातादेखि जेठसम्म तरभुजा बिक्री गर्ने गरेको उनीहरूको भनाइ छ । बङ्ककै ४५ वर्षीय मानबहादुर चौधरी बिहान बगरबाट तरभुजा टिपेर दिनभर राजमार्ग छेउमा बिक्रीका लागि बस्छन् । “सुरुमा घरमै खानलाई मात्रै तरभुजाको खेती गर्थेँ, राम्रो आम्दानी हुन थालेपछि सात–आठ वर्षदेखि व्यावसायिकरूपमा खेती गरिरहेको छु”, उनले भने, “बर्खामा मजदुरी गरेर घर खर्च चलेको छ ।”

उनका अनुसार प्रत्येक वर्षमा तरभुजा बिक्री गरेर ३० हजारदेखि ४० हजारसम्म बचत हुने गरेको छ । “छोराछोरीको विद्यालयको खर्च, राशनको जोहो सबै तरभुजा बेचेर आएको पैसाबाट हुन्छ”, मानबहादुरले भने, “३० हजारदेखि रु ४० हजारसम्म लगानी लाग्छ ।”

मानबहादुरको परिवारका छ सदस्य नै खेतीमा जुट्ने गरेका छन् । माघदेखि बगरमा तरभुजा खेतीका लागि तयारी थालिन्छ । चैत अन्तिम साता तयार भएपछि तरभुजा बिक्रीका लागि बजारमा ल्याउने गरिन्छ । तरभुजा प्रतिकेजी २५ देखि ४० सम्म बिक्री गर्ने गरिएको छ । बेला–बेलामा वनहरामा आउने बाढीले खेतीमा नोक्सानी गर्ने गरेको नथ्थु बडायकले बताइन् । “गत वर्ष बाढीले सबै बगायो, लगानी पनि असुल भएन”, उनले भनिन्, “बाढीले नोक्सान नगरे सिजनमा राम्रै आम्दानी हुन्छ ।”


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?