Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

ग्रामीण सडकलाई पक्की बनाउँदै बेनी नगरपालिका


३१ वैशाख ,म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले ग्रामीण सडकलाई पक्की बनाउने योजना कार्यान्वयन गरेको छ । जिल्ला सदरमुकामसमेत रहेको नगरपालिकाको केन्द्र बेनी बजारबाट वडा कार्यालय र मुख्य बस्ती जोड्ने सडकमा बाह्रै महिना नियमित र सुरक्षित सवारी सञ्चालनका लागि पक्की बनाउने योजना अघि बढाएको छ ।

ग्रामीण सडकले हिउँद र बर्खा दुवै याममा दुःख दिइरहन थालेपछि पछिल्लो समय त्यस्ता सडकलाई पक्की बनाउने अभियान थालिएको नगर उपप्रमुख ज्योति लामिछानेले बताईन् । “नगरपालिकाका १० वटै वडाका सबै बस्तीमा सडक पुगिसकेको छ । यसअघिका वर्षमा मार्ग खोल्ने, सोलिङ र विस्तारको काम धेरै भएका थिए”, उनले भनिन्, “यस वर्षदेखि ग्रेड नमिलेका सडकका घुम्ती ढलान गर्ने, पक्की नाली, कल्भर्ट र कजवे बनाएर वर्षैभर सवारी चल्न सक्ने बनाउने काम सुरु गरेका छौँ ।”

सडक बनाएको भन्दा वर्षात्मा पहिरो नियन्त्रण र बर्सेनि मर्मत गर्न लाग्ने खर्च बढी आउन थालेपछि यो नीति लिइएको हो । अधिकांश ग्रामीण सडकमा पहिरो खसेर बालीनालीसमेत नष्ट हुने क्रम रोक्न यो विधि अपनाइएको नगर उपप्रमुख लामिछानेको भनाइ छ ।

पक्की पर्खाल र नाली बनाएपछि पहिरो नियन्त्रणका साथै धुलो र हिलोमुक्त बनाउन सकिने बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले बताए । भकिम्लीलाई बेनी बजारसँग जोड्ने सडक ढलान, नाली र सोलिङ गर्न चालु आव २०७९/८० मा दुईवटा प्याकेजमा रु एक करोड २५ लाख विनियोजन भएको छ । दुवै प्याकेजमार्फत चार सय ५० मिटर ढलान, तीन सय ५० मिटर नाली, तीन सय मिटर पर्खाल निर्माण र तीन सय ५० मिटर सोलिङ हुँदैछ ।

बेनी नगरपालिका–४ स्थित तातोपानी बजारमा तीन सय २५ मिटर सडक कालोपत्र भइरहेको छ । रु ७० लाखमा ठेक्का सम्झौता भएको महारानीथान–छाप–ठूलोखोला सडक आयोजनामार्फत एक सय ७२ मिटर सडक ढलान हुदैछ । बेनी–पाखापानी सडकको जामुनाखर्क, अर्थुङ्गे–पुलाचौर सडकको बाँसबोट क्षेत्रको सडक पनि ढलान भइरहेको छ ।

बेनी नगरपालिकाका योजना अधिकृत कृष्ण सुवेदीले यस वर्षका एक सयभन्दा बढी योजना सडक ढलान र पक्की नाली निर्माण गर्नेसँग सम्बन्धित रहेका बताए । नगरपालिकाका इञ्जीनियर विमलरञ्जन कार्कीले भिरालो भूगोलको सडकमा गरिएको कालोपत्र नटिक्ने भएकाले दिगो र टिकाउका लागि ढलान प्रभावकारी देखिएको बताए ।

भुइँमा ढुङ्गा बिछ्याएर, रड बानेर, सिमेन्ट, बालुवा र गिट्टी मिसाएर गरिएको कालोपत्र बलियो हुने इञ्जीनियर कार्कीको भनाइ छ । सडक ढलान भएपछि घर अगाडि हिलोमा गाडी फस्ने, धुलो हुने समस्या हटेको बेनी नगरपालिका–५ भिरमुनिका कृष्ण कार्कीले बताए । ‘‘गाडी नचल्दा सामान ढुवानी र आवतजावतमा सास्ती खेपेका थियौँ, अहिले सहज भयो”, उनले भने, “ढलान गर्दा पानीले पनि असर गरेन ।”


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?