Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

वार्षिक शैक्षणिक योजना बनाउन निर्देशन


३१ वैशाख ,टीकापुर । कैलालीको टीकापुर नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरू आजभोलि व्यस्त छन् । उनीहरू दैनिक विद्यालयमा शिक्षण गर्छन् भने फुर्सदका समयमा वार्षिक शैक्षणिक योजना बनाउन थालेका छन् । कतिपय विद्यालयका शिक्षकले योजना निर्माण गरिसकेका छन् भने कतिपय शिक्षक योजना निर्माणमा व्यस्त छन् ।

टीकापुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले शिक्षकले आफूले शिक्षण गर्ने विषयको शैक्षणिक योजना अनिवार्य बनाउनैपर्ने नीति लागू गरेपछि शिक्षकहरू योजना निर्माणमा जुटेका हुन् । आफूले पढ्दा शैक्षणिक योजना निर्माणको अभ्यास गरिसकेकाले खासै गाह्रो महसुस नभएको खड्ग मावि टीकापुरका शिक्षक रामकुमार चौधरीले बताए । “मैले आफू विद्यार्थी हुँदा शैक्षणिक योजना बनाएको अनुभव थियो, त्यसैले मलाई खासै गाह्रो भएन”, उनले भने, “पढाउने विषयको शैक्षणिक योजना निर्माण गरिसकेको छु । अब योजनाअनुसार अध्यापन गर्न सहज हुनेछ ।”

टीकापुरले शिक्षकलाई यो खालको अभ्यास गर्न पहिलोपल्ट अनिवार्य गरेको छ । त्यसैले पनि धेरैलाई केही न केही कठिन महसुस भएको छ । आफूलाई केही विषयको शैक्षणिक योजना निर्माण गर्दा केही कठिन भएको नवदुर्गा आधारभूत विद्यालयका शिक्षक भगिरथ चौधरीले बताए । “पहिलोपटक निर्माण गर्न थालेकाले केही कठिन भएको छ । तर पालिकाको निर्देशन मान्नुपर्छ”, उनले भने, “मेहनत गरिरहेको छु, मेहनतले पछिका लागि सहज बनाउनेछ । योजना बनाएमा मलाई पूर्वतयारीका साथ शिक्षण गर्न सहज हुन्छ ।”

केदारेश्वर आधारभूत विद्यालयका शिक्षिका मङ्गला मिश्रले शैक्षणिक योजना निर्माणबारे आफूलाई जानकारी नभएको बताईन् । “मलाई जानकारी नभएकाले बनाएको छैन । अब योजना निर्माणमा लाग्छु”, उनले भनिन् । कुनै पनि काम योजना निर्माण गरी अगाडि बढ्दा सहज, छिटो र उपलब्धिमूलक हुने भएकाले शिक्षकले वार्षिक शैक्षणिक योजना निर्माण गरी पठनपाठन गर्न अनिवार्य गर्नु सकारात्मक भएको शिक्षकहरू नै बताउँछन् ।

“शिक्षक शिक्षकमात्र नभई विद्यार्थी पनि हो । एउटा शिक्षकले कक्षा कोठामा प्रवेश गर्नुपूर्व विषयवस्तुको अध्ययन गरी पूर्वतयारी गर्नुपर्छ अनि मात्र कक्षा प्रवेश गर्दा राम्रो मानिन्छ”, शिक्षक रवीन्द्रबहादुर कठायतले भने, “कुन विषयवस्तु कसरी शिक्षण गर्ने, कस्ता शैक्षिक सामग्री प्रयोग गर्ने भन्ने विषयमा शिक्षकले तयारी गर्न जरुरी छ । योजना निर्माणले शिक्षकलाई अध्ययनशील हुन सघाउँछ ।”

शैक्षिक प्रक्रियामा शैक्षणिक योजना निर्माण अनिवार्य हो । सुरु–सुरुमा निर्माण गर्दा केही कठिनजस्तो देखिए पनि पछि–पछि सजिलो हुने टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख दमनसिंह चौधरीले बताए । “निर्माण गर्दा अलि कठिन हुन्छ, तर योजना पहिल्यै बनाएमा पछि शिक्षकलाई धेरै सहज हुन्छ”, उनले भने, “हरेक काम योजना बनाएर गर्दा सहज हुन्छ । अझ शिक्षाजस्तो क्षेत्रमा लापरवाही गर्नै मिल्दैन । योजनाअनुसार अध्यापन गरेमा विद्यार्थीको सिकाइ उपलब्धि सुधारमा समेत सहयोग हुन्छ ।”

शैक्षणिक योजना निर्माणपश्चात एक प्रति शिक्षा शाखामा राखिने र योजना हेरी आवश्यक सुझाव दिने पालिकाको तयारी छ । यसरी शैक्षणिक योजना पालिकामा समेत बुझाउनुपर्ने भएकाले शिक्षकले शैक्षणिक योजना बनाए/नबनाएको विद्यालयमा गई अनुगमन पनि गरिने चौधरी बताउनुभयो । “योजना निर्माणपश्चात सिकाइ उपलब्धिमा वृद्धि हुनेछ”, उनले भने, “पालिकालाई विद्यालयको अनुगमन गर्न, योजना बनाउनसमेत सहयोग पुग्छ ।”


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?