Trending
>>   नेपाल र जर्मनी सरकारबिच विद्युत वितरण सुदृढीकरणका लागि सम्झौता >>   अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा >>   युक्रेनमा पुनः रूसी हमला सातजनाको मृत्यु >>   त्रिशूलीमा ट्रक खस्यो >>   आज मिति २०८१ साल मङ्सिर ०४ गते मंगलबार,हेर्नुहोस आजको राशिफल >>   मिसन –८४ मा पार्टीलाई निर्णायक शक्तिका रूपमा स्थापित गर्छौं : शङ्कर पोखरेल >>   ‘देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नु पर्छ’ >>   आज देखि २० दिन राति ११ बजेदेखि चार घण्टा पृथ्वीराजमार्ग बन्द हुने >>   आज मिति २०८१ साल मङ्सिर ०३ गते सोमबार,हेर्नुहोस आजको राशिफल >>   टेलिकमको अवरुद्ध सेवा सञ्चालन
Logo
४ मंसिर २०८१, मंगलवार
४ मंसिर २०८१, मंगलवार

धार्मिक र पर्यटक गन्तव्यका रुपमा विकसित हुँदै ‘केलादीधाम’


३० वैशाख, पाल्पा । कालीगण्डकी नदी तटको केलादीधाम धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलमा विकास हुँदैछ । स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुर (नवलपरासी सुस्तापूर्व) जोडेको यस धाममा यहाँको रमणीय प्राकृतिक वातावरणले सबैलाई लोभ्याउछ ।

निम्वार्क वैष्णव सम्प्रदायको केन्द्रीय पीठको कार्यालय रहेको यहाँ विभिन्न जिल्लाबाट दर्शनार्थी आउँछन् । केलादीधामको दर्शन गर्न नसके नाम उच्चारण गरे मात्र पुण्य मिल्ने जनविश्वास छ । मुक्तिनाथबाट उत्पत्ति भई बगेको कालीगण्डकी नदी किनारमा अवस्थित यहाँ विशेषतः हिन्दू धर्म संस्कारका कार्यका लागि यो धार्मिक पर्यटकीय गन्तव्यस्थल बनेको छ ।

मन्दिर पुनःनिर्माण, ज्येष्ठ नागरिक भवन, महन्त निवास, भान्छाघर, खानेपानी ट्याङ्की निर्माणलगायतका पूर्वाधार विकास हुँदै गएपछि धार्मिक पर्यटक बढेको राधा दामोदर नेपाल निम्वार्क पीठ केलादीधाम संरक्षण समितिका सचिव घनश्याम खनालले बताए ।

‘देवघाटधाम जस्तै बनाउने सङ्कल्पसाथ भौतिक संरचना तयार पारेपछि सबैजसो उमेर समूहका मानिस आउनेक्रम बढ्दो छ’, उनले भने, ‘पहिला काम विशेषले मात्रै आउने अचेल घुमफिर, अवलोकनलाई आउँछन् ।’

शनिबार र बिदामा चहलपहल बढ्दो छ । कालीनदीको धार्मिक तथा ऐतिहासिक महत्वसँग जोडिएको केलादीधामका बारेमा चासो राख्दै अध्ययन अवलोकनलाई आउने गर्छन् ।

बस, कार, भ्यान, जीप मन्दिरसम्म पुग्ने सुविधा भएपछि गाडी रिजर्भ गरेर नदी स्नान र धाम दर्शन गरेर फर्कने गरेको पाइएको छ । पहिला हिँडेर बाँस बस्ने चलन थियो । यहाँ गौशाला, ज्येष्ठ नागरिकको बसोबासका लागि ज्येष्ठ नागरिक आश्रम सञ्चालित छ जहाँ २२ ज्येष्ठ नागरिक बस्छन् । विसं २०१० मा निर्माण भएका पुराना कुटी (ज्येष्ठ नागरिक बस्ने घर) अझै भेटिन्छन् ।

आश्रममा चार दशकदेखि आश्रयस्थल बनाएर बसोबास गर्दै आइरहेको ८० वर्षीय श्यामदासी सिग्देलले बताइन् । तनहुँको किहुँ घर बताउने उनी श्रीमान्को मृत्युपश्चात् केलादी आएर बसेकी हुन् । १३ वर्षको उमेरमा विवाह बन्धनमा बाधिएकी सिग्देल १५ वर्षको कलिलो उमेरमा श्रीमान्को मृत्यु भएपछि केलादीधामलाई आश्रयस्थलका रुपमा आएकी हुन् ।

‘सानै उमेरमा बिवाह बन्धनमा बाँधियो, श्रीमान्को मृत्यु भएपछि एक्लो जीवन जीउन सकिएन’, उनले भनिन्, ‘श्रीमान् नभएपछि आफन्त छरछिमेक सबैबाट अपहेलित भइयो, आश्रममा आएर बस्न थालेपछि कसैको अपहेलना सहनु परेको छैन ।’ उनले सरकारले उपलब्ध गराएको ज्येष्ठ नागरिक भक्ताबाट आफ्नो जीविकोपार्जन गरिरहेकी छन् । मन्दिरको आश्रममा आफैँले पकाएर खाना खाने गर्छन्। जीवनको अन्तिम समय नै यहीँ बिताउने सङ्कल्पका साथ मन्दिरको पूजाआजा, भजनकीर्तनमा सहभागी भएर जीवन व्यतित गरिरहेको पाइन्छ ।

आश्रममा बस्न थालेपछि एक्लोपनको महसुस नभएको बताउँछन्, ९१ वर्षीय गोपालदासी । मन्दिरमा भजनकीर्तनमा सहभागी हुँदा समय बिताउन सजिलो भएको उनले अनुभव सुनाइन् । बिहे गरेको एक वर्षमा नै श्रीमान् बितेपछि सहाराविहीन भएकी उनी बाँकी जीवन बिताउन केलादीधाम आश्रममा आएकी हुन् ।

‘खाने, उपचार खर्च आफैँले जुटाए पनि बास बस्ने सुविधा पाउँदा हामी असाध्यै खुसी छौँ, कसैको दुव्र्यवहार सहनु पर्दैन, सहाराविहीनका लागि यसरी बस्ने आश्रम पाउँदा धेरै सजिलो भएको छ, घरमा छोराछोरी भएर पनि हेरेनन् भनेपनि यहीँ आएर बस्न पाइने व्यवस्था छ’, उनले भनिन् ।

ज्येष्ठ नागरिक भक्ता बुझेको रकमले यहाँ बसोबास गर्ने नागरिकले बिहान साँझको जोहो गरिरहेका छन् । पहिला यहाँ एक सय २० कुटी (ज्येष्ठ नागरिक बस्ने घर) थिए । कुटीमा एक सय ५० ज्येष्ठ नागरिकले केलादीधाम क्षेत्रलाई बासस्थान बनाएर बसोबास गर्ने गरेको बूढापाका बताउँछन् । आजभन्दा दुई दशकअघिसम्म यहाँ बसोबास गर्ने ज्येष्ठ नागरिकको ठूलो सङ्ख्या हुन्थ्यो । पहिलाको तुलनामा आश्रममा बसोबास गर्ने अहिले घटेका छन् । विभिन्न प्राचीन पूर्वीय धर्मग्रन्थमा पनि यसको महिमा र गरिमा वर्णन गरिएको छ । शालिग्राम पाइने विश्वको एकमात्र नदी कालीगण्डकीको किनारमा रहेको यो स्थानमा पुगेपछि मनको बोझ हट्ने र शान्ति प्राप्त हुने विश्वास लिइन्छ । यहाँ मुलुकका पूर्वदेखि पश्चिमसम्मका दर्शनार्थी भित्रिन्छन् ।

यहाँ निर्मित राधा दामोदरको मन्दिर पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । कालीगण्डकीको नजिकै रहेकाले शीतल हावासँगै मन्दिर दर्शन, अवलोकन गर्न जानेक्रम बढ्दो छ । यो क्षेत्र कालीगण्डकी तटमा रहेकाले पनि पुण्यप्राप्तिका लागि धेरै जिल्लाका स्थानीयले आफ्ना दिवङ्गत परिवारजनको अन्तिम संस्कार गर्ने, विभिन्न चापडपर्व, वैशाखे, माघे सङ्क्रान्ति, एकादशी जस्ता पर्वमा नदी स्नान गर्ने गर्दछन् । पुण्यभूमि रहेकाले यहाँ धेरै ठाउँबाट शव दाहसंस्कार गर्न ल्याइने गरिन्छ ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?