Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

गुप्तेश्वर महादेवको संरक्षण गरिँदै


२६ वैशाख, भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिका–३ भुल्केस्थित गुप्तेश्वर महादेवको संरक्षण थालिएको छ। धार्मिक क्षेत्रका रूपमा विकास गर्न यसको संरक्षण थालिएको हो । सडक खन्ने क्रममा अनोठौ प्रकृतिका ढुङ्गा फेला परेपछि यहाँ गुप्तेश्वर नामकरण गरेर संरक्षण थालिएको हो।

सडकको भित्तामा देवी–देवताको आकृति फेला परेपछि सडकलाई छेउबाट विस्तार गरेर यहाँ संरक्षणको काम थालिएको गाउँपालिकाले जनाएको छ । भुल्केकट्टीमा रहेको पाँचधारे मुहान नजिकै उत्पत्ति भएको यो स्थानको संघीय सरकारको रु ३० लाख र गाउँपालिकाको ४० लाख गरी ७० लाख लागत साझेदारीमा काम भइरहेको छ।

यसको बृहत्तर विकास लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरेर निर्माणको काम अघि बढाइएको रामप्रसादराई गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले जानकारी दिए। यहाँ गुप्तेश्वर मन्दिर निर्माण तथा घेराबारा र आवश्यक संरचना निर्माण गरिने छ। यहाँ निर्माण हुने सबै संरचनाको चार करोडको बराबरको डिपिआर तयार भएको उनले बताए।

‘धार्मिक क्षेत्रका रूपमा विकास गर्न गुप्तेश्वर महादेवको संरक्षण थालेका हौँँ’, उनले भने, ‘अहिले विस्तृत परियोजना प्रतिवेदन नै तयार गरेर काम थालेका छौँ । यो क्षेत्रलाई एक धार्मिक क्षेत्रका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।’ मन्दिर उत्पत्ति भएपछि यहाँ देशका विभिन्न ठाउँबाट मानिस दर्शनका लागि आउने गरेका कारण यसको विकास गर्दै प्रचार–प्रसारमा जोड दिने उनकोभनाइ छ।

यो ठाउँलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके यहाँका स्थानीयको आर्थिकस्तरमा सुधार ल्याउन टेवा पुग्ने वडाध्यक्ष रामु थापामगरले बताए।

प्राकृतिक स्वरुपलाई यथावत राख्दै आवश्यक विकासको काम गरिने उहाँको भनाइ छ । ‘यो एउटा विशेष धार्मिक महत्व बोकेको स्थल हो’, उनले भने, ‘यो ठाउँलाई संरक्षण गरेर विकास गर्न आवश्यक छ, धार्मिक क्षेत्रका रूपमा विकास गर्दै पर्यटनसँग जोडेर यहाँका स्थानीयको आर्थिक उपार्जनमा टेवा दिने उद्देश्य छ।’

यो मन्दिरमुनि रहेको पाँचेधारे मुहानबाट मिनिरल वाटरको उद्योग सञ्चालनका लागि समेत आवश्यक प्रक्रियाको काम भइरहेको छ। यो भेगको आसपासमा रहेका पाँचवटा मुहानमध्ये यहाँको पानी उत्कृष्ट रहेकाले यो अवधारणा अघि बढाइएको गाउँपालिकाका योजना शाखाका प्राविधिक ज्ञानराज भट्टराईले जानकारी दिए। ‘यो ठाउँबाट मिनिरल वाटर उद्योग सञ्चालनको प्रक्रिया अघि बढेको छ’, उनले भने, ‘यहाँ भएका पाँचवटा मुहानमध्ये यो मुहान पानी उद्योगका लागि उत्कृष्ट देखिएको छ। अब यहाँ उद्योग पनि सञ्चालनमा आउँछ।’

यो क्षेत्रमा जलधारको राम्रो सम्भवना रहेकाले पानी मुहानसँगै यहाँको पञ्चकञ्या देवीथानको पनि संरक्षण भइरहेको स्थानीयवासी तथा वडासदस्य टेकराज भट्टराईले जानकारी दिए। यहाँका पानीका मुहान रहेको ठाउँलाई सिमसार क्षेत्रका रूपमा विकास गर्ने काम भइरहेको उहाँको भनाइ छ।

वन तथा वातावरण मन्त्रालयको नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत २५ लाख लागतमा तीनधारे र पात्लेखेत भुल्भुले मुहानको संरक्षण थालिएको हो । यही भुलभुले मुहानको नामबाट गाउँको नामसमेत भुल्के रहेको स्थानीयको भनाइ छ । यो ठाउँको भुलभुलेबाट गुप्तेश्वरसम्म पाँचवटा मुहान छन्। यी मुहानमा बाह्रै महिना एकनासले पानी आइरहने स्थानीयवासीले जानकारी दिए । मुहान संरक्षणको काम थालिएकाले यहाँको विकासमा टेवा पुग्ने स्थानीयको भनाइ छ।


प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?