Trending
>>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु >>   प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी >>   समाजमा कुष्ठरोगलाई हेर्ने दृष्टिकोण अझै नकरात्मकः कानूनमन्त्री सिन्हा >>   समानुपातिकतर्फको सिट बाँडफाँड कसरी हुन्छ ? यस्तो छ निर्वाचन आयोगले प्रयोग गर्ने ‘सेन्ट लग’ विधि >>   एनआरएनएको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता शुरु >>   जमानत जफत हुनेमा २,८९० उम्मेदवार , ३५० जनाले एक भोट पनि पाएनन्
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

विवादमा रोकियो मर्चवारीदेवी मन्दिरको निर्माण कार्य


२५ वैशाख, लुम्बिनी । रुपन्देहीको मर्चवारीदेवी मन्दिर निर्माण कार्य सम्पन्न नहुँदै विवादित बनेको छ । ऐतिहासिक मर्चवारीदेवीको प्राचीन शक्तिपीठ र निर्माणाधीन मन्दिर भवनमा राखिने गजुरको सम्बन्ध नमिल्ने देखिएपछि निर्माण कार्य रोकिएको छ ।

निर्माण कम्पनीले ‘शक्तिपीठ’ लाई बेवास्ता गर्दै निर्माण कार्य अघि बढाएपछि विवाद सिर्जना भएको भन्दै मन्दिर व्यवस्थापन समितिका सचिव चन्द्रिका यादवले त्रुटि सच्याएपछि मात्र निर्माण कार्य अघि बढाउन सकिने बताए । ऐतिहासिक मर्चवारीमाई मन्दिर रुपन्देही जिल्लाको दक्षिणी क्षेत्र कोटहीमाई गाउँपालिका–६ र मर्चवारी गाउँपालिका–५ को सिमानामा स्थित छ । यिनै देवीको नामबाट मर्चवार क्षेत्रको नामकरण भएको जनविश्वास पनि छ ।

‘यो शक्तिपीठ प्राकृतिक हो, यसको स्थापनाबारे कोही जानकार छैनौँ’, कोटहीमाई गाउँपालिकाका निवर्तमान अध्यक्ष चन्द्र भूषण यादवले भने, “तर छेवैमा रहेको राम जानकी मन्दिर विसं २०४६ मा राजा वीरेन्द्रले दिएको रु एक लाख आठ हजार दान रकमबाट निर्माण भएको थियो ‘

पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, पर्यटन डिभिजन कार्यालय रुपन्देहीद्वारा रु दुई करोड ५६ दाख ८८ हजार आठ सय १९ को लागतमा अहिले उक्त मन्दिर भवन निर्माणाधीन छ । विसं २०८१ असार १६ गते निर्माण कार्य सम्पन्न गर्ने गरी २०७९ मङ्सिर ६ गतेको ब्रेभ कन्स्ट्रक्सनको ठेक्का सम्झौता छ ।

ठेक्का सम्झौता लगत्तै पुस १ गतेदेखि निर्माण कार्य सुरु भएको उक्त मन्दिर भवनको संरचना बिग्रिसकेको देखिएपछि निर्माण कार्य वैशाखदेखि बन्द भएको मन्दिरका महन्त (पुजारी) शम्भु शरणदासले बताए । ‘शास्त्रअनुसार गजुरको केन्द्र र शक्तिपीठ सिधाइमा हुनुपर्नेमा अन्यथा हुन गएको छ’, उनले भने ।

महन्त शम्भु शरणदासले मन्दिरको जग ढलान हुँदाको समयदेखि नै गजुरको बिचमा मर्चवारीमाइको शक्तिपीठ नपर्ने देखिएको ठेकेदारलाई बताए पनि कसैले वास्ता नगर्दा बिग्रिएको बताए । उनले भने, ‘यो शास्त्रोक्त कुरा हो, यसमा सम्झौता हुँदैन ।’ यसबारे परामर्श भइरहेको उनले बताए ।

‘चिन्ता नलिनु, म आफैँ इञ्जिनियर हो । शक्तिपीठ र गजुरको केन्द्रबीच जम्मा नौ इञ्च जमिनको फरक छ, हामी मिलाइहाल्छौँ’, ठेकेदारले भनेका थिए’, उनले भने, ‘अहिले छत ढलान गर्ने बेला भयो, यसबारे डिपीआर गरेको इञ्जिनियरसँग परामर्श गरी मात्र अगाडि बढ्न सक्ने बताउँदा त छाँगाबाट खसे झैँ भएका छौँ ।’

मर्चवारीदेवी मन्दिरको भौतिक संरचना निर्माणका क्रममा त्रुटि भए पनि सँगै निर्माण भइरहेको रामजानकी मन्दिरको डिपीआरमै त्रुटि देखिएको उनले बताए। ‘साविकको रामजानकी मन्दिरभित्र श्रद्धालुका लागि परिक्रमा गर्ने ठाउँ थियो, जुन आवश्यक पनि छ । तर निर्माणाधीन मन्दिरमा त्यस्तो छैन’, उनले भने ।

‘एउटा रुख जोगाउन मन्दिरको संरचना नै बिगारियो’ उनले भने, ‘मन्दिरको अगाडि उत्तर–पूर्व कुनामा सटेर रहेको आँपको रुख स्थानीय केही व्यक्तिले हटाउनुहुँदैन भन्दा ठेकेदार कम्पनीले मन्दिरको संरचना करिब डेढ फिट पश्चिम सारेर निर्माण थालेपछि माथिको गजुर र शक्तिपीठको सिधाइ फरक परेको हो ।’

उनका अनुसार पूर्वस्थापित प्राचीन शक्तिपीठ, निर्माणाधीन मन्दिरमाथि राखिने गजुरको ठिक तल हुनुपर्ने हो, होइन भने मन्दिर र शक्तिपीठको कुनै मेल रहँदैन । निर्माण कम्पनी, मन्दिर व्यवस्थापन समिति, प्राविधिक र धार्मिक अध्येतालगायत सरोकारवालाले विचार–विमर्शबाट सच्याएर मात्र अघि बढ्नुपर्ने उनले सुझाए ।

‘भत्काइएको पुरानो मन्दिर अगाडि रहेको आँपको रुख जोगाउन मन्दिरको संरचना डेढ फिट पश्चिम सारेका थियौँ’, ठेकेदार कम्पनी ब्रेभ कन्स्ट्रक्सनका सञ्चालक अमित श्रीवास्तवले भने, ‘निर्माणाधीन भवनको सिङ्गो संरचना त सारियो तर शक्तिपीठ भने उही ठाउँमा रहने भएकाले गजुरको बीचमा नअटाएर ढोका छेवैमा रहन गई भद्दा देखिएको छ ।’

प्राप्त सुझावअनुसार गल्ती सच्याउन विशेषज्ञसँग परामर्श गरिरहेको भन्दै उहाँहरूले दिनुहुने नयाँ रेखाङ्कन ल्याई व्यवस्थापन समितिसँग छलफल गरी निर्माण कार्य अगाडि बढाउने उनले बताए ।


प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?