Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

बेनी अस्पतालमा फिजियोथेरापी सेवा सुरु


२५ वैशाख ,म्याग्दी । म्याग्दीको बेनी अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेको छ । जिल्लाकै सरकारी अस्पतालमा पहिलो पटक फिजियोथेरापी सेवा उपलब्ध भएपछि बिरामीलाई राहत मिलेको छ । बेनी अस्पतालका निमित्त प्रमुख डा अञ्जु थापाले आइतबारदेखि फिजियोथेरापी सेवा सञ्चालन भएको जानकारी दिईन् ।

फिजियोथेरापीबाट हड्डी खिइएको, नसा च्यापिएको, माँसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मदा नै असाधारण भएका बालबालिका, हातखुट्टा नचल्नेसम्बन्धी रोगको उपचार हुन्छ ।

अस्पतालको निर्माणाधीन भवनको भुई तलामा छुट्टै कोठामा फिजियोथेरापी कक्ष स्थापना भएको छ । चार शय्या राखिएको छ । अस्पतालमा दैनिक पाँचदेखि १५ जनासम्म फिजियोथेरापी गर्नुपर्ने बिरामी आउने गरेका छन् ।

गण्डकी प्रदेश सरकारको सहयोगमा फिजियोथेरापी सेवाका लागि आवश्यक उपकरण खरिद गरिएको थियो । फिजियोथेरापीका उपकरण खरिद गर्न प्रदेश सरकारले रु आठ लाख बजेट विनियोजन गरेको थियो ।

अस्पताल व्यवस्थापन समितिले फिजियोथेरापिष्ट चिकित्सक कान्तिलक्ष्मी देवी कटुवाललाई नियुक्त गरेको छ । पछिल्लो समय बिरामीको सङ्ख्या बढेसँगै फिजियोथेरापी सेवा विस्तार गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले जानकारी दिए ।

फिजियोथेरापी सेवा लिन यसअघि म्याग्दीका बासिन्दा पोखरा, बागलुङ, काठमाडौँ जाने गरेका थिए । बेनीमै सेवा पाउने भएपछि जिल्ला बाहिर जाँदा हुने समय र रकमको बचत भएको छ । म्याग्दीका साथै छिमेकी जिल्ला पर्वत, बागलुङ र मुस्ताङका सर्वसाधारणले सेवा लिने बेनी अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवा विस्तार गरेको छ ।

साउन यता फिजियोथेरापीका अलावा ज्येष्ठ नागरिक उपचार कक्ष (जेरियाट्रिक वार्ड), अत्याधुनिक एक्सरे, सामाजिक सुरक्षा एकाइको सेवा थप गरेको अस्पतालले छिट्टै मानसिक रोग उपचार सेवा सुरु गर्ने तयारी गरेको छ ।

अस्पतालले अन्तरङ्ग र बहिरङ्ग विभागका अलावा शल्यक्रियामार्फत प्रसूति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलाइसिस सेवा सञ्चालन गर्दै आएको छ ।

मिर्गौला रोगसम्बन्धी समस्या भएका १९ जनाले डायलाइसिस सेवा लिएका छन् । सामाजिक सेवा एकाइमार्फत लक्षित समुदायको सहुलियत र निःशुल्क उपचार सेवा दिइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको रु एक करोड ५० लाख मूल्य बराबरको डिजिटल एक्सरे मेसिन प्रयोगमा ल्याएको अस्पताल परिसरमा अक्सिजन प्लान्ट सञ्चालनमा छ । पचास शय्या क्षमताको अस्पतालले १५ शय्याकै संरचना र पूर्वाधारबाट ७६ शय्याको सेवा दिएको छ ।


प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?