Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

बेनी अस्पतालमा फिजियोथेरापी सेवा सुरु


२५ वैशाख ,म्याग्दी । म्याग्दीको बेनी अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेको छ । जिल्लाकै सरकारी अस्पतालमा पहिलो पटक फिजियोथेरापी सेवा उपलब्ध भएपछि बिरामीलाई राहत मिलेको छ । बेनी अस्पतालका निमित्त प्रमुख डा अञ्जु थापाले आइतबारदेखि फिजियोथेरापी सेवा सञ्चालन भएको जानकारी दिईन् ।

फिजियोथेरापीबाट हड्डी खिइएको, नसा च्यापिएको, माँसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मदा नै असाधारण भएका बालबालिका, हातखुट्टा नचल्नेसम्बन्धी रोगको उपचार हुन्छ ।

अस्पतालको निर्माणाधीन भवनको भुई तलामा छुट्टै कोठामा फिजियोथेरापी कक्ष स्थापना भएको छ । चार शय्या राखिएको छ । अस्पतालमा दैनिक पाँचदेखि १५ जनासम्म फिजियोथेरापी गर्नुपर्ने बिरामी आउने गरेका छन् ।

गण्डकी प्रदेश सरकारको सहयोगमा फिजियोथेरापी सेवाका लागि आवश्यक उपकरण खरिद गरिएको थियो । फिजियोथेरापीका उपकरण खरिद गर्न प्रदेश सरकारले रु आठ लाख बजेट विनियोजन गरेको थियो ।

अस्पताल व्यवस्थापन समितिले फिजियोथेरापिष्ट चिकित्सक कान्तिलक्ष्मी देवी कटुवाललाई नियुक्त गरेको छ । पछिल्लो समय बिरामीको सङ्ख्या बढेसँगै फिजियोथेरापी सेवा विस्तार गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले जानकारी दिए ।

फिजियोथेरापी सेवा लिन यसअघि म्याग्दीका बासिन्दा पोखरा, बागलुङ, काठमाडौँ जाने गरेका थिए । बेनीमै सेवा पाउने भएपछि जिल्ला बाहिर जाँदा हुने समय र रकमको बचत भएको छ । म्याग्दीका साथै छिमेकी जिल्ला पर्वत, बागलुङ र मुस्ताङका सर्वसाधारणले सेवा लिने बेनी अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवा विस्तार गरेको छ ।

साउन यता फिजियोथेरापीका अलावा ज्येष्ठ नागरिक उपचार कक्ष (जेरियाट्रिक वार्ड), अत्याधुनिक एक्सरे, सामाजिक सुरक्षा एकाइको सेवा थप गरेको अस्पतालले छिट्टै मानसिक रोग उपचार सेवा सुरु गर्ने तयारी गरेको छ ।

अस्पतालले अन्तरङ्ग र बहिरङ्ग विभागका अलावा शल्यक्रियामार्फत प्रसूति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलाइसिस सेवा सञ्चालन गर्दै आएको छ ।

मिर्गौला रोगसम्बन्धी समस्या भएका १९ जनाले डायलाइसिस सेवा लिएका छन् । सामाजिक सेवा एकाइमार्फत लक्षित समुदायको सहुलियत र निःशुल्क उपचार सेवा दिइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको रु एक करोड ५० लाख मूल्य बराबरको डिजिटल एक्सरे मेसिन प्रयोगमा ल्याएको अस्पताल परिसरमा अक्सिजन प्लान्ट सञ्चालनमा छ । पचास शय्या क्षमताको अस्पतालले १५ शय्याकै संरचना र पूर्वाधारबाट ७६ शय्याको सेवा दिएको छ ।


प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?