Trending
>>   आज मिति २०८१ साल मङ्सिर ०३ गते सोमबार,हेर्नुहोस आजको राशिफल >>   टेलिकमको अवरुद्ध सेवा सञ्चालन >>   खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन >>   भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण >>   मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छौं : मन्त्री पाण्डे >>   दुर्गा प्रसाईकाे नयाँ महाअभियान ‘फस्ट नेपाल,फस्ट नेपाली’ >>   सञ्चालनमा ल्याएको तीन महिना नबित्दै अनिश्चितकालका लागि धरहरा बन्द ! >>   उपनिर्वाचनका लागि मनोनयन दर्ता थालियाे >>   नेपाल टेलिकमको सेवामा पटक-पटक समस्याः फोन नलाग्ने र एसमएम नगएर सेवाग्राही मर्कामा ! >>   उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू: सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ !
Logo
३ मंसिर २०८१, सोमबार
३ मंसिर २०८१, सोमबार

साइपालमा खाद्य सङ्कट, सिंहदरबार नधाए पुग्दैन चामल


२४ वैशाख, बझाङ । साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङको परिवारमा सात जना छन् । गाउँमै बस्ने उनिहरूको आयस्रोत ‘सिजन’अनुसार यार्सागुम्बा सङ्कलन नै हो । दुई वृद्धावस्था उमेरका बाहेक पाँचै जना यार्सागुम्बा सङ्कलनमा हिमाल चढ्छन् । यसबाट तामाङको परिवारले रु पाँच–छ लाख आम्दानी गर्दछ । त्योबाहेक उनिहरूको आम्दानीको स्रोत अन्य केही छैन ।

एक महिना पुग्ने गरी मात्रै खाद्यान्न उत्पादन हुने धुलीमा ११ महिना किनेरै खानुपर्छ । सोनामको परिवारमा वर्षभरिका लागि करिब ११ क्विन्टल चामल आवश्यक पर्छ । गएको वर्षमात्रै उनको परिवारले नौ क्विन्टल चामल किन्नुपर्यो । सहुलियत चामल (खाद्य संस्थानबाट प्राप्त) साढे दुई क्विन्टलमात्रै पाएपछि महँगोमा किन्नुपरेको सोनामले बताए ।

तामाङ परिवारले एक वर्षमा रु एक लाख चामल ढुवानीमै खर्च गर्नुभयो । चामलसँगै अन्य दैनिक उपभोग्य सामानमा पनि वार्षिक झन्डै रु एक लाख खर्च हुने गरेको उनले सुनाए । “सदरमुकाम चैनपुरमा पाउने सामान साइपालमा पुग्दा चौबर हुने गर्छ”, उनले भने, “साइपालको धुली पुग्न चैनपुरबाट पाँच दिन पैदलयात्रा गर्नुपर्छ । पाँच दिन लगाएर बोकेको सामान तेब्बरभन्दा बढी नै हुन्छ ।” चिसोले अलि बढी नै खाना खाने त्यसैमा दुवै छाक भात खाने हुँदा क्विन्टलका क्विन्टलनै खरिद गर्नुपरेको उनले बताए ।

सोनामको जस्तै अवस्था छ, साइपाल गाउँपालिका–५ बलौडीका पदम बोहराको । पदमको परिवारमा पाँच छन् । उनको परिवारलाई वार्षिक सात क्विन्टल चामल आवश्यक पर्छ । हिउँदेबाली कोदो र जौँ एक महिनामात्रै पुग्ने भएपछि नियमित किनेरै खानुपरेको उनले बताए । “गत वर्ष खाद्यको चामल डेढ क्विन्टलमात्रै पाएको हुँ”, उनले भने, “त्यो चामल दुई महिनामात्रै पुग्यो । बाँकीका महिना किनेरै खायौँ ।”

ताक्लाकोट नाका बन्द हुँदा सास्ती

नेपाल–चीन सीमानाका पूर्णरूपमा बन्द भएको पाँच वर्ष भयो । नाका बन्द हुँदा मारमा परे साइपालवासी । धुलीबाट नजिकै पर्ने हुँदा साइपालवासीका दैनिक उपभोग्य सामान ताक्लाकोटबाटै आउँथे । खाद्य संस्थानले दिने मूल्यभन्दा सस्तोमा चिनियाँ खाद्यान्न साइपाल पुग्थ्यो ।

सोनामकी श्रीमती सोनाम तामाङ (दम्पतीको एउटै नाम)ले भनिन्, “हामीलाई खाद्य सङ्कट हुन लागेको पाँच वर्ष नै भयो । ताक्लाकोट नाका बन्द भएपछि सदरमुकामबाट सामान ल्याउन सुरु गर्यौँ । सदरमुकामबाट ल्याउँदा सामानको मूल्य चौबरभन्दा बढी पर्न थाल्यो ।”

साइपाल–५ न्यूनाका वडाध्यक्ष जैपाल बोहराका अनुसार ताक्लाकोटमा नाकाबन्दी हुनुअघि वडा नं ३, ४ र ५ का गाउँ न्यूना, बलौडी, लट्टोन, कोल, रजाडा, सैनगाउँ, बिछाडा, धलौन, एैराडी, पराली, डाउगाउँलगायतमा चिनियाँ सामान नै हुन्थ्यो ।” धलौनमा भने तलकोट गाउँपालिका पनि नजिक पर्ने हुँदा दुवैतिरबाट आवश्यकतानुसार सामान आउने गरेको उनि सम्झिन्छन् । तर नाकाबन्दीपछि भने आवतजावत नै ठप्प भएको उनले बताए ।

दुई वर्ष अगाडि साइपालमा निकै खाद्य सङ्कट थियो । भोकमरी भएपछि धुलीका भीम धामीले चैनपुरबाट चामल माग गरे। तलकोटको रूपातोलाका गोविन्द बोहरा, उहाँका दाई प्रदीपसहित तीन जनाले एक क्विन्टल चामल धामीको घरमा पुर्याए । एक क्विन्टल चामल पुर्याएवापत भीमबाट प्रतिकेजी रु दुई सयका दरले रु २० हजार बोहरा दाजुभाइले बुझे ।

“रूपातोलाबाट धुलीसम्म प्रतिकेजी रु दुई सय लागेकै दररेट हो”, गोविन्दले भने, “अरु सामान त रु दुई सयकै दरले सधैँ बोकिन्थ्यो, अहिले पनि सोही मूल्य पर्ने सामान बोकिरहेका छौँ । चामल भने त्यसबखत नै पहिलो चोटी बोकेका हौँ ।”

मान्छेले चामल बोकेर साइपालको धुली पुर्याउँदा प्रतिक्विन्टल (मोटो चामल) रु साढे २२ हजारमा पुग्छ । खच्चडमा बोकाउँदा प्रतिक्विन्टल रु १३ हजार पर्छ । न्यूनाका जीवन बोहराले भने, “खच्चड हिउँदयाममा मात्रै आउँछ । बर्खामा खोलानाला बढ्ने हुँदा मान्छेले मात्रै आवतजावत गर्छन् । बर्खामा कसैको परिवारमा खाद्यसङ्कट भए बोकेरै ल्याउनुपर्छ । आफैँले बोक्न नसके भरियालाई ज्याला तिरेर ल्याउनुपर्छ ।”

गोविन्दका अनुसार किर्किट्या हुँदै कालडाँडाबाट न्युनासम्म प्रतिकेजी रु एक सय ८० ज्याला लाग्छ भने बलौडीसम्म रु एक सय ९० र धुलीसम्म प्रतिकेजी रु दुई सय लाग्छ । बोहोराले भने, “हामी महिनामा चार–पाँचपटक साइपालको सामान बोकेर गन्तव्यमा पुर्याउँछौँ ।” प्रायः फलामका रड, किला, जस्तापाता, भाँडाकुँडालगायतका विभिन्न सामान केजीको हिसाबले बोक्ने गरेको उहाँले बताउनुभयो । “खाद्यको ढुवानी बढीजसो खच्चडबाट नै हुन्छ”, उनले भने ।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?