Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

बाघ लुक्ने झाडी फाड्दै वडा कार्यालय


२३ वैशाख, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रअन्तर्गत पर्ने बेलौरी नगरपालिकामा बाघ लुक्ने झाडी फाड्ने काम भइरहेको छ । बाघले मान्छे मारेको बेलौरी नगरपालिका–८ पचुईंस्थित खप्टीनालाको करिब दुई किलोमिटर क्षेत्रको झाडी फाडिएको हो ।

बाघ आक्रमणको घटनापछि यहाँका स्थानीय त्रसित छन् । नगरपालिकासँग समन्वय गरेर बाघ लुक्न सक्ने भएकाले पचुईं क्षेत्रको झाडी फाँड्ने कार्य भइरहेको बेलौरी–८ का अध्यक्ष बिसराम रानाले जानकारी दिए । “झाडीमा औषधि छर्केका छौँ, बिस्तारै झाडी सुक्दै गएको छ”, उनले भने, “झाडीमा बाघ लुक्ने सम्भावना छ, त्यसैले वडा कार्यालयले झाडी सफा गरिरहेको हो ।”

झाडी फडान भएपछि खप्टीनाला क्षेत्र खुल्ला हुनेछ । स्थानीय घरबाहिर निस्किन डराइरहेका छन् । “झाडी फडान भएपछि बाघ लुक्न नसक्ने विश्वासले स्थानीयको त्रास कम हुनसक्छ”, अध्यक्ष रानाले भने, “स्थानीयको मागअनुसार झाडी फँडानी गरिरहेका हौँ ।”

त्यस क्षेत्रमा पर्ने हुलाकी राजमार्ग भएर दिनमा मानिसको ओहोरदोहोर भए पनि बाघको त्रासले रातिमा मानिसको आवतजावत निकै कम भएको उनले बताए । मानिसमा आक्रमण गर्ने बाघको जोडी सो क्षेत्रमा हुनसक्ने भन्दै स्थानीय त्रसित छन् । बाघले महिलामाथि आक्रमण गरेको खप्टी नाला क्षेत्रमा ठूलो घनाजङ्गल छैन ।

यही वैशाख ८ गते घाँस काट्न गएकी बेलौरी–८ की गङ्गा चन्दको बाघको आक्रमणबाट ज्यान गएको थियो । महिलालाई आक्रमणपछि बाघ खप्टी नालाको झाडीमा लुकेको थियो । घटनापछि स्थानीय त्रसित बनेका छन् । “पचुईंपारि भारततिर बाघ देखियो भन्ने हल्ला छ, बाघ हिँडेको नयाँ पाइला पनि देखिएका छन्”, स्थानीय महेश विष्टले भने, “घटनापछि स्थानीयमा डर छ, सामान्य अवस्थामा फर्किन सकेका छैनौँ ।”

उहाँका अनुसार बाघको आक्रमणपछि त्रसित स्थानीयको दैनिकी नै प्रभावित भएको छ । “घाँसपात जान पनि महिला डराएको अवस्था छ, कति बेला के हुन्छ भनेर ढुक्कसँग खेतीपाती भित्र्याउन पनि सकेका छैनन”, उनले भने ।

पचुईंमा महिलाको ज्यान लिने नरभक्षी बाघलाई अर्को दिन बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएको थियो । मानिसमाथि आक्रमण गर्ने बाघ अहिले चिडियाखानामा राखिएको छ । बाघको निगरानीका लागि बेलौरी–८ पचुईं क्षेत्रमा छवटा स्वचालित क्यामेरा जडान गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको सहायतामा बाघको ‘ट्र्याकिङ’का लागि स्वचालित क्यामेरा जडान गरिएको डिभिजन वन कार्यालयका प्रमुख शम्भुप्रसाद तिवारीले जानकारी दिए । “बाघले मान्छे मारेपछि स्थानीय त्रसित छन्, फेरि बाघको हल्ला छ”, उनले भने, “त्यसैले बाघको ट्र्याकिङका लागि क्यामेरा जडान गरिएको हो ।” बाघले महिलाको ज्यान लिएको खप्टी नालासहित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र जनपद प्रहरीले साइरन बजाएर गाडीमा गस्ती गर्ने गरिरहेका छन् ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?