Trending
>>   सरकार संसदलाई अवमूल्यन गरिरहेको छः माओवादी सांसद सापकोटा >>   बालकार्य र बालश्रम छुट्याउन जरुरीः मन्त्री भण्डारी >>   गुड गभर्नेन्सका लागि निजामति विधेयकमा कुलिङ पिरियड रािखएको होः मन्त्री गुरुङ >>   पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल >>   वैकल्पिक विकास वित्त विधेयकले आर्थिक क्षेत्रको विविधिकरण र विकासका लागि सकारात्मक पहल गर्ने सांसदहरुको विश्वास >>   संसद विघटन गर्दा मलाई कुनै दबाब थिएन, सरकारको निर्णय कार्यान्वयन गरेकी हुँः पूर्वराष्ट्रपति भण्डारी >>   विधान महाधिवेशनमा मेरो भुमिका केन्द्रिय कमिटीले गरेको निर्णयमा भर पर्छः एमाले नेतृ भण्डारी >>   रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छः मन्त्री खड्का >>   अनौपचारिक क्षेत्र औपचारिकीकरण भएपछि प्रतिष्पर्धा बढ्छः अध्यक्ष ढकाल >>   वर्ष दिनमा ननुहाउने हिमालवासीहरु अहिले दिनको एक पटक नुहाउँछौँ, यो उपलब्धि होइन ? : सांसद…
Logo
१ श्रावण २०८२, बुधबार
१ श्रावण २०८२, बुधबार

मौसमी प्रणाली र रोग कीराको चपेटामा अलैँची


२२ वैशाख ,ताप्लेजुङ । हिमाली तथा पहाडी जिल्लाको प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीमा रोग किराको प्रकोपसँगै खडेरी र असिनाका कारण बोट र पात सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । लामो समयसम्म परेको खडेरीका कारण फस्टाउन नसकेका बोटमा रोग कीरासँगै केही दिनअघि परेको असिनाले थप क्षति पुर्याएकाले अलैँची खेती गरिरहेका किसान चिन्तामा परेका हुन् ।

“यसपालि खडेरीले बोट फस्टाउन सकेनन्, त्यही माथि केही दिनअघि असिनाले क्षति पुग्यो, हिजोआज हरियो रङ्गको झुसुले जस्तै देखिने कीरा लाग्न थालेको छ, अलैँची सखाप हुने भयो”, मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका किसान ईन्द्रकुमार हाङ्गामले भने । उनका अनुसार आसपासमा रहेका छिमेकीका बगान रोग कीराको प्रकोपमा परेका छन् ।

यता सिरीजङ्घा गाउँपालिकाको तेल्लोक, पेदाङ, खेवाङलगायत ठाउँमा अलैँचीका बोट सुक्न थालेका छन् । तीन दिनसम्म लगातार साँझपखमा परेको असिनाकै कारण पेदाङलगायतका ठाउँमा आधाजसो अलैँचीका बोट भाँचिएको यहाँका वडा अध्यक्ष बमबहादुर गौतमले बताए । “केही दिनअघि लगातार तीन दिन साँझपखमा असिना पर्यो, आधाजसो अलैँचीका बोट भाँचिएका र सुक्न थालेका देखिन्छन्, अलैँचीसँगै किबी र मकै बालीमा समेत क्षति पुग्यो”, गौतमले भने ।

अलैँची खेती गर्दै आएका सिदिङ्वा, मिक्वाखोला, फक्ताङलुङ गाउँपालिकाका किसानले समेत खडेरी, असिना र रोगकिराले अलैँचीमा क्षति पुगेको बताएका छन् । गत असोजदेखि फागुनसम्म ताप्लेजुङमा प्रयाप्त वर्षा भएको थिएन । फागुनको मध्यदेखि सामान्य वर्षासँगै हिमपात सुरु भएको थियो । लामो समय वर्षा नहुँदा भएको खडेरीले विशेषगरी अलैँची बालीमा त्यसको असर पुगेको किसानले बताएका छन् ।

खडेरीले जमिन सुक्खा हुँदा अलैँचीका बोट सुकेको र सिँचाइ उपलब्ध क्षेत्रमा समेत प्रयाप्त वर्षा नहुँदा बोट फस्टाउन नसकेको सिरीजङ्घा ७ खेवाङका कषक लक्ष्मण अधिकारीले बताए । “पछिल्लो समय मूल्यमा पनि सुधार छैन, यो पटक खडेरी, असिना र रोग किराले गोडमेलकै खर्च नउठ्ला भन्ने चिन्ता छ”, अधिकारीले भने ।

पछिल्ला दिनमा परेको वर्षाले किसानलाई सामान्यतया राहत मिले पनि सुकेका अलैँचीका बोट भने उठ्न सकेनन् । त्यसैमाथी केही दिनअघि जिल्लाका अधिकांश क्षेत्रमा परेको असिनाले अन्य बालीनालीसँगै अलैँचीमा थप क्षति पुग्यो । लगातार र बाक्लो असिना परेको क्षेत्रमा अलैँचीका बोट भाँचिएका छन् । कतै पात सुक्दै गएकाछन् भने कतै बोट नै मर्न थालेका छन् । यो समयमा हरियाली देखिनुपर्ने अलैँचीका बगान उजाड देखिन थालेको स्थानीयले बताएका छन् ।

यता कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख सन्तोष थापाले समेत केही दिन अघि परेको असिनाले अलैँची बालीमा निक्कै क्षति पुगेको पाईएको बताए । “फिल्डमा जाँदा अधिकांश अलैँची बगानमा असिनाका कारण क्षति पुगेको देखियो, यसले गत वर्षको तुलनामा उत्पादन घट्न सक्ला भन्ने अनुमान छ, तर के कति घट्छ भन्ने यकिन गरिसकेका छैनौँ”, थापाले भने ।

यस पटक भएको खडेरी, असिना लगाएतले हिउँदे बालीनालीमा क्षति भएको उनको भनाइ छ । यस्तै आकस्मिक रुपमा आएको रोग किरा जस्ता प्रकोपको न्यूनीकरणमा कृषि ज्ञान केन्द्रले सहयोग गर्ने कार्यालय प्रमुख थापाले बताएका छन् । अलैँचीमा मात्र नभई अन्य बालीनालीमा समेत नयाँ रोग किराको प्रकोप देखिए किसानले कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्न सक्ने र त्यसको निदानका लागि कार्यालयले सहयोग गर्ने थापाको भनाइ छ ।

यसका लागि बजेट र जनशक्तिको व्यवस्थापन गरेर समेत सहयोग गर्न सकिने उनले बताए । ताप्लेजुङका अधिकांश क्षेत्रमा अलैँची खेती गरिन्छ । यहाँका ६१ वटा वडाहरुमध्ये फक्ताङलुङ गाउँपालिकाको ओलाङ्चुङगोला बाहेकका सबै ठाउँमा अलैँचीको खेती गरिँदै आएको छ । प्राय किसान अलैँची खेतीमा नै आत्मनिर्भर छन् । तर मूल्यमा आएको गिरावटसँगै मौषमी प्रणाली र रोग किराको प्रकोपले उत्पादन घट्ने भन्दै चिन्तित छन् । आजभोलि ताप्लेजुङमा प्रतिमन अलैँचीको मूल्य ३५ हजार रहेको छ । केही दिनअघि रु ३६ हजारसम्म पुगेको मूल्य फेरी घटेर ३५ मा कारोबार भइरहेको अलैँची व्यवसायीले बताए ।


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?