Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कृषिमा जापानी सीप र प्रविधि भित्र्याउन तालिम


२२ वैशाख, काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाभित्र कृषि क्षेत्रमा जापानी सीप र प्रविधि भित्र्याउन युवा महिलालाई तालिम दिन थालिएको छ । यसका लागि नगरले गत चैत अन्तिम साता जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग स्थानीय कृषकलाई सीप र प्रविधि तथा भाषाबारे छ महिने तालिम प्रदान गर्ने सम्झौता गरेको थियो ।

सम्झौतामा जापानका विभिन्न १० कृषि उद्योग र होमकेयर कम्पनीमा धुलिखेलका कृषकलाई पाँच वर्षसम्म रोजगारी दिइने उल्लेख छ । सोहीअनुसार जापानी भाषा तथा सीप कक्षाको सुरुआत गरिएको नगरप्रमुख अशोक ब्याञ्जूले बताए । “सम्झौताअनुसार जापानी भाषा, सीप र प्रविधिको तालिमपछि सीप परीक्षण गरी उत्तीर्ण हुने कृषकलाई जापानमा कृषि क्षेत्रमै रोजगारीका लागि पठाइने भएकाले प्रारम्भिक चरणमा स्थानीय युवा महिलालाई कक्षा सञ्चालन गरेका हौँ”, उनले भने ।

नगरप्रमुख ब्याञ्जूका अनुसार जापानमा निश्चित समय बसेर फर्कने कृषकलाई पुनः कृषि पेसा गर्न चाहे नगरले प्रविधिमा सहयोग गर्ने छ । नगरको कृषि तथा पशुपालन व्यवसायलाई निकट भविष्यमा आधुनिकीकरण एवं प्रविधिमैत्री बनाउन युवा महिलालाई भाषा (एन–४ लेभलसम्मको) तथा आवश्यक सीप सिकाइमा कक्षा सञ्चालन गरिएको हो । बीस वर्ष पूरा भई ३० वर्ष ननाघेका कृषि तथा पशुपालनमा संलग्न परिवारका सदस्यलाई हाल भाषा तथा सीप प्रदान गर्न थालिएको होे ।

नगरले यसअघि कृषि ऐन, कानुन तथा नियमावली बनाइसकेको छ । सम्झौतापछि धुलिखेल नगरको कृषि क्षेत्रमा थप आधुनिकीकरण हुने अपेक्षा गरिएको छ । यस नगरलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपालको पहिलो स्वस्थ सहरको रूपमा सूचीकृत गर्ने तयारी गरिरहेको छ । काठमाडौँबाट ३० किलोमिटर पूर्वमा अवस्थित पर्यटकीय नगर धुलिखेललाई डब्लुएचओले करिब एक महिनामा पहिलो स्वस्थ सहरको मान्यता दिई नगरलाई सदस्यता प्रदान गर्ने जनाइएको थियो । दिगो विकासका चार लक्ष्य शिक्षा, स्वास्थ्य, खानेपानी र गरिबी निवारणको क्षेत्रमा काम गरिरहेका विश्वका आठ देशमा धुलिखेलको अनुकरण भइरहेको बताइन्छ ।

नगर क्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाइएको विषयले सात महिनाअघि बेलायतको संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२६)मा समेत चर्चा कमाएको यस पर्यटकीय नगरले स्वस्थ सहरका लागि स्वास्थ्य सेवा विभाग, प्रदेश मन्त्रालय र स्थानीय जनप्रतिनिधिबीच सात प्रतिबद्धतासमेत जनाएको थियो । धुलिखेलले यसअघि दक्षिण एसियामै पहिलोपटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनमा ल्याइएको थियो । नगरलाई केही महिनाअघि मात्रै शून्य कार्बन उत्सर्जन र वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौँ नम्बर र एसियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो ।


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?