Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

गण्डकी सरकारलाई पूर्णता दिने तयारी


२२ वैशाख, पोखरा । प्रदेशसभाबाट विश्वासको मत पाएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । गत १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले साता दिनभित्रैमा सरकारले पूर्णता पाउने जनाएका थिए ।

सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटलगायत विषय लगभग टुङ्गिसकेको बताए । “गठबन्धनमा आन्तरिक तयारी भइरहेको छ, दुई÷तीन दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ”, उनले भने ।

मन्त्रिपरिषद्ले पूर्णता पाएर मन्त्रीहरुले कार्यजिम्मवारी सम्हालेपछि सरकारका कामकारबाहीले गति लिने उनको भनाइ छ । “मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत पनि पाइसक्नुभएको छ, अब मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदैन, सरकार सहज रुपमा अघि बढ्छ”, प्रवक्ता तिवारीले भने ।

साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र नेकपा (एकीकृत समाजवादी)का एक गरी ३५ बहुमत सदस्यले मुख्यमन्त्री पाण्डेलाई बिहीबार विश्वासको मत दिएका थिए । नेकपा (एमाले)का २२ प्रदेशसभा सदस्यले विश्वासको मतको विपक्षमा मत हाले भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई प्रदेशसभा सदस्य तटस्थ बसेका थिए ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री रेशम जुग्जालीले गठबन्धन दलहरुबीच मन्त्रालयको भागबण्डा मिलिसकेको बताउनुभयो । “मन्त्रालयको जिम्मेवारीमा जाने पात्रहरुबारे अहिले दलगत रुपमा छलफल केन्द्रित छ”, उनले भने, “मन्त्रीको नाम टुङ्गो लाग्नासाथ सरकारले पूर्णता पाउँछ ।”

“एकीकृत समाजवादीलाई कुन मन्त्रालय दिने भन्ने विषय मुख्यमन्त्रीले नै मिलाउनुहुन्छ, गठबन्धनले त्यसको जिम्मेवारी उहाँलाई नै दिएको छ”, प्रदेशसभा सदस्य जुग्जालीले भने, “मन्त्रालयको संख्या भने सातभन्दा बढ्दैन ।” निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारले मन्त्रालयको सङ्ख्यालाई १२ बाट घटाएर सातमा पुर्याएको थियो ।

नवनियुक्त मुख्यमन्त्री पाण्डेले पदभार ग्रहणका बेला मन्त्रालयको सङ्ख्या नथप्ने प्रतिबद्धता जनाएका थिए । हाल मन्त्रिपरिषद्मा मुख्यमन्त्री पाण्डेसहित बिनाविभागीय मन्त्रीका रुपमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुशीला सिम्खडा र कांग्रेसका सरस्वती अर्याल तिवारी रहेका छन् ।


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?