Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

जग्गा नापजाँच सुरु भएपछि स्थानीय खुसी


१९ वैशाख ,मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा भूमिसम्बन्धी समस्या समाधानका लागि जग्गा नापी सुरु भएको छ । नगरपालिकाको वडा नं १ सेतापानीबाट नापीको काम सुरु भएको हो । नगरपालिकाको नापी टोलीले जग्गा नापजाँचको काम सुरु गरेपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन् ।

सेतापानीमा विसं २०६१/६२ मा बस्ती बसेको थियो । धेरैपटक आश्वासन पाए पनि अहिले नापीको काम नै सुरु हुदा अब जग्गाधनी पुर्जा पाउने विश्वास भएको स्थानीय यादवकुमारी महतोले बताईन् । मध्यविन्दु नगरपालिका–२ को सेहरीमा नारायणी नदीले जग्गा कटान गरेपछि सुरक्षित स्थानको खोजीमा सेतापानी पुग्नुभएकी महतोले विगतमा बस्ती बस्दा गर्नुपरेको सङ्घर्ष निकै कहालीलाग्दो भएको स्मरण गरिन् ।

“स्याउलाले बारेर घर बनाएको कहिले भत्काउने, कहिले आगो लगाउने, द्वन्द्वकाल थियो निकै डर लाग्थ्यो”, उनले भनिन्, “के गर्ने उता नारायणीले बगायो । यही सबै सहेर बसेको, अब त नापीको काम सुरु भयो । मेयरसरहरू पनि आउनुभएको छ । अबचाहिँ जग्गा पाउँछ भन्ने विश्वास लागेको छ ।”

स्थानीय लक्ष्मी विकले जग्गाधनी पुर्जा नहुँदा निकै समस्या भोगेको जनाउँदै अब सजिलो हुने बताईन् । उन्नाइस वर्षदेखि बस्दै आएको जमिनको पुर्जा आउने थाहा पाउँदा खुसी लागेको स्थानीय राधिका चौधरीले सुनाईन् । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन राष्ट्रिय भूमि आयोग जिल्ला समितिसँगको सहकार्यमा नापीको काम सुरु भएको मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले जानकारी दिए ।

“नगरपालिकाको सबैभन्दा बढी भूमिसम्बन्धी समस्या रहेको मध्यविन्दु–१ को सेतापानीबाट नापीको काम सुरु गरिएको छ”, उनले भने, “जहाँ ४० भूमिहीन दलित, ७३ भूमिहीन सुकुम्बासी र छ सय ४३ अव्यवस्थित बसोवासीले समास्या समाधानका लागि फारम भरेका छन् ।”

मध्यविन्दु–१ बाट सुरु भएको नापीको कामलाई थप जनशक्तिको व्यवस्थापन गरी अन्य वडाबाट समेत गरी दुई स्थानबाट एकैसाथ अगाडि बढाउने योजनामा नगरपालिका रहेको नगरप्रमुख अधिकारीले बताए । लामो समयदेखि राजनीतिक मुद्दामा सीमित बनेको भूमिसम्बन्धी समस्या समाधानको चरणमा प्रवेश गरेको अधिकारीले बताए ।

जग्गा नापीको काम भइरहँदा हुनसक्ने समस्या समाधानका लागि स्थानीयस्तरमा सहजीकरण समिति गठन गरिएको वडाध्यक्ष तिलकराम न्यौपानेले बताए । विभिन्न स्थानमा प्वाइन्ट निर्धारण गरेर नापीको काम सुरु भएको अमिन सरोजप्रसाद कुशवाहले बताए । “जग्गाको भौगलिक बनावट, जग्गाको साँधियारबीचको समझदारीलगायतका आधारमा जग्गा नापजाँचका लागि कति दिन लाग्ने भन्ने निर्धारण हुने छ”, उनले भने ।

मध्यविन्दु नगरपालिकाले जग्गा नापजाँचका लागि राष्ट्रिय भूमि आयोगबाट प्राप्त जनशक्तिसँगै स्थानीयस्तरमा सर्वेक्षकसहितको प्राविधिकसमेत नियुक्त गरी जग्गा नापजाँचको काम अगाडि बढाएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताए । मध्यविन्दु नगरपालिकामा दुई सय ६४ भूमिहीन दलित, एक हजार एक सय ३२ भूमिहीन र छ हजार दुई सय ७२ अव्यवस्थितले बसोबासका लागि फारम भरेका छन् ।


प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?