Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

हलेसी तुवाचुङमा सामुदायिक विद्यालयको नतिजा निराशाजनक


१७ वैशाख ,खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ नगरस्तरीय वार्षिक परीक्षा लिएको थियो । यसअघिसम्म कक्षा ८ को मात्रै नगरस्तरीय परीक्षा सञ्चालन गर्दै आएको हलेसी तुवाचुङले गत चैत ९ देखि १६ गतेसम्म कक्षा ४ देखि ९ सम्मको नगरस्तरीय वार्षिक परीक्षा सञ्चालन गरेको हो ।

कक्षा ४ र ५ सञ्चालन भइरहेका ४२ र कक्षा ६ देखि ८ सञ्चालन भइरहेका १५ आधारभूत तथा १२ माध्यमिक विद्यालयलाई वार्षिक परीक्षामा सहभागी गराइएको थियो । नगरपालिकाले सञ्चालन गरेको नगरस्तरीय बाह्य मूल्याङ्कनमा देखिएको विद्यार्थी उत्तीर्ण प्रतिशत भने निराशाजनक छ । जनता मावि सल्लेका कक्षा ४ मा अङ्ग्रेजी, नेपाली, गणित र सामाजिक विषयमा कुनै पनि विद्यार्थी उत्तीर्ण भएनन् ।

कक्षा ४ मा विज्ञानमा एक जनामात्र विद्यार्थी उत्तीर्ण हुन सफल भएको पाइएको छ । सोही माविको कक्षा ७, ८ र ९ मा गणितमा उत्तीर्ण दर शून्य देखिएको छ । कक्षा ६ मा गणितमा एक र सामाजिकमा दुई जना मात्र उत्तीर्ण भएका छन् । कक्षा ७ मा सामाजिकमा एक जना उत्तीर्ण भएका छन् । कुनै पनि विषयमा उत्तीर्ण हुनका लागि विद्यार्थीले आन्तरिक र बाह्य मूल्याङ्कनमा न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गर्नुपर्ने हुन्छ ।

यस्तै ज्योति मावि राजापानीको कक्षा ४ मा गणित, सामाजिक र विज्ञानमा एक जना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् । कक्षा ५ मा पनि गणितमा नतिजा शून्य देखिएको छ । कक्षा ६ मा अङ्ग्रेजीमा दुई, नेपाली, गणित, सामाजिक र विज्ञानमा एक–एक जना उत्तीर्ण भएका छन् । कक्षा ७ मा गणितमा एक जनामात्रै उत्तीर्ण भएका छन् । कक्षा ८ मा अङ्ग्रेजीमा तीन, नेपालीमा तीन, गणितमा एक, सामाजिकमा तीन र विज्ञानमा एक तथा कक्षा १० मा गणितमा एक जनामात्र उत्तीर्ण भएका छन् ।

आन्तरिक मूल्याङ्कनतर्फ सम्बन्धित विद्यालयले पहिलो र दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गरेको थियो । नगरस्तरीय परीक्षाका लागि उत्तरपुस्तिका र प्रश्नपत्र नगरपालिकाले व्यवस्था गरेको थियो । नगरस्तरीय परीक्षालाई निष्पक्ष बनाउन उत्तरपुस्तिका कोडिङ गरेर फरक–फरक विद्यालयलाई परीक्षण गर्न दिइएको थियो । नगरपालिकाभित्रका माविमध्येमा नगरस्तरीय वार्षिक परीक्षामा कालिका मावि बाहुनीडाँडाको उत्तीर्ण दर सबैभन्दा उत्कृष्ट देखिएको छ ।

कालिका माविका कक्षा ४ देखि कक्षा ९ सम्मका एक सय २१ विद्यार्थी परीक्षामा सहभागी भएकामा ४७ प्रतिशत उत्तीर्ण भएका छन् । सरस्वती मावि अर्खौलेका परीक्षामा सहभागी एक सय ८९ विद्यार्थीमध्ये ४५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बुलापन्थे मावि धितुङका परीक्षामा सहभागी दुई सय १८ विद्यार्थीमध्ये ४१ प्रतिशत, महेन्द्रद्धोय मावि हलेसीका परीक्षामा सहभागी दुई सय १८ विद्यार्थीमध्ये ३० प्रतिशत, लक्ष्मी माविका परीक्षामा सहभागी ८४ विद्यार्थीमध्ये २९ प्रतिशत, दुर्छिम माविका एक सय ३२ विद्यार्थीमध्ये २६ प्रतिशत उत्तीर्ण भएका छन् ।

यस्तै मालिकादेवी कदुवाका परीक्षामा सहभागी एक सय ११ विद्यार्थीमध्ये २६ प्रतिशत, दाम्ली माविका एक सय २३ मध्ये २४ प्रतिशत, ज्योति मावि राजापानीका एक सय ३५ विद्यार्थीमध्ये १४ प्रतिशत, जनता मावि सल्लेका ७८ विद्यार्थीमध्ये १२ प्रतिशत र च्यास्मिटार माविमा दुई सय ७४ विद्यार्थी परीक्षामा सहभागी भएकामा १० प्रतिशत उत्तीर्ण भएका छन् । नगरस्तरीय परीक्षाको नतिजाको आधारमा नगरपालिकाको शैक्षिक अवस्था निराशाजनक देखिए पनि तुलनात्मकरुपमा अन्य स्थानीय तहका विद्यालयसरहकै परिणाम आएको शिक्षा शाखा संयोजक पदक कार्कीले बताएका छन् ।

“नतिजाका बारेमा वैशाख ३ गते समीक्षा गरिसकेका छौँ । दुई विषय लागेका छात्र–छात्रालाई पाँच अङ्क ग्रेस दिएर उत्तीर्ण गराउने तथा दुई विषय लागेका तर, ग्रेस अङ्क दिँदा पनि उत्तीर्णाङ्क नपुग्ने विद्यार्थीका लागि ग्रेडवृद्धि परीक्षा लिने निर्णय गरेका छौँ”, उनले भने, “शैक्षिक सुधार गर्न नगरस्तरीय पाठ्ययोजना बनाएर कार्यान्वयन गर्दैछौँ । एक दशमलव छ जिपीएभन्दा कम अङ्क आएका विषयका शिक्षकलाई स्पष्टीकरण सोध्नेसम्मको तयारी छ ।”

नगरस्तरीय वार्षिक परीक्षाले विद्यालयको शैक्षिक चित्र स्पष्ट देखाएको नगरपालिकाका सामाजिक विकास समिति संयोजक एव वडा नं १ बाहुनीडाँडाका वडाध्यक्ष रुद्रबहादुर राईले बताए । “नगरको शैक्षिक संस्थाको रोग पत्ता लागेको छ । शिक्षाको स्तर छ्याङ्ग भएको छ । यसमा शिक्षक दोषी छन् । व्यवस्थापन समिति र अभिभावक पनि दोष भागीदार छन्”, उनले भने, “कमजोरी पत्ता लाग्यो । अब आवश्यक कार्ययोजनासहित उपचारमा जुट्ने विन्दुमा पुगेका छौँ ।”

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि नगरपालिकाबाट रु एक करोड ४७ लाख बजेट विनियोजन गरेको थियो । परीक्षा प्रणालीमा सुधार, अङ्ग्रेजी माध्यममा पढाइ, स्थानीय भाषामा पठनपाठन, विद्यार्थीलाई शुल्क मिनाहालगायतका योजना बनाएर नगरपालिकाले शैक्षिक गुणस्तर सुधारको पहल थालेको हो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यकताका आधारमा नगर शिक्षक नियुक्ति, दरबन्दी समायोजन, विद्यालय थपघटलगायतका योजनासमेत बनाइएको थियो । विद्यार्थीलाई सामुदायिक विद्यालयप्रति आकर्षित गर्न सरकारले लागू गरेको दिवा खाजा कार्यक्रमलाई नगरपालिकाले प्रभावकारीरूपमा कार्यान्वयन गराए पनि नतिजाका कारण अभिभावकसमेत झस्किएका छन् ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?