Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पशुमा फैलिँदै लम्पीस्किन सङक्रमण


१७ वैशाख ,देउखुरी । दाङमा पशुमा लाग्ने लम्पीस्किन रोगको सङक्रमण बढ्दै गएको छ । पछिल्लो समय जिल्लाको बङ्गलाचुली, राप्ती, लमही, गढवा, राजपुर, घोराहीका लगायत क्षेत्रका रोगको सङक्रमण बढेको जनाइएको छ ।

बङ्गलाचुली गाउँपालिकाको वडा नं ४, ५, ६, ७ र ८ मा बढी मात्रामा रोग सङक्रमण देखापरेको छ । रोगका कारण बङ्गलाचुली–७ जबरकोटका टीकाराम नेपाली, जुद्धबहादुर नेपाली, वडा नं ८ पाँचपोखरीका तिलकराम घर्तीमगर र गोठीवनका गुमानसिंह घर्तीमगरका पशु चौपाया बिरामी परेका उपचारमा खएका बङ्गलाचुली गाउँपालिकाका पशु शाखा प्रमुख गोविन्द नेपालीले जानकारी दिए ।

उनका अनुसार पालिकाका करिब दुई सय ५० भन्दा बढी पशु चौपाया बिरामी परेका छन् । रोग लागेमा पशुका शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलो हुने, दूध दिन छाड्ने समस्या हुने गरेको उनले बताए । जिल्लास्थित पशु सेवा विज्ञ केन्द्रसँगको समन्वयमा बिरामी पशुको नमूना सङ्कलन गरी क्षेत्रीय प्रयोगशाला सुर्खेत पठाएकामा त्यहाँबाट लम्पीस्किन पुष्टि भएको विज्ञ केन्द्रका भेटेरेनरी अधिकृत भरत देवकोटाले जानकारी दिए ।

उनका अनुसार यसको थप अनुसन्धानका लागि काठमाडौँ नमूना पठाइएको बताए । राप्ती गाउँपालिकाको वडा नं ५, ७, ८ र ९ का विभिन्न बस्तीमा सो रोगले पशु थलिएका छन् । यहाँ तीन सय ५० भन्दा बढी गाईगोरु बिरामी परेका पशु सेवा शाखा प्रमुख जीवराज पौडेलले बताए ।

उनका अनुसार पशु प्राविधिकको टोलीले पालिकाको वडा नं ५ को करङ्गेकोट, थकरीकोट, वडा नं ९ को घोसखोला, देवीकोटलगायत स्थानमा एक साताभन्दा बढी समय लगाएर उपचार गरेको छ । अहिलेसम्म राप्ती गाउँपालिकाको रुपाकोट, घोसखोलालगायत स्थानमा पाँच पशु मरेका उनले जानकारी दिए । लम्पीस्किनका कारण राजपुर, लमहीलगायत ठाउँमा पनि समस्या बढ्दै गएको छ ।

“पहिले पहाडी क्षेत्रमा समस्या देखियो अब विस्तारै तराईतिर सर्दै गएको छ, पशु सेवा विज्ञ केन्द्र प्रमुख सुदाम भट्टले भने, “लम्पीस्किन एक प्रकारको बिफरजस्तै रोग हो । भाइरसका कारण रोग लाग्ने भएकाले उपचार छैन । रोकथामको प्रयास गर्ने हो । सबैभन्दा महत्वपूर्ण कुरा सावधानी अपनाउनु नै हो ।”

“दाङमा प्रयोगशाला छैन, सुर्खेत पठाउनुपर्छ, अहिलेसम्म यसरी नै काम चलेको छ । उता पनि नभ्याउने भएपछि केन्द्रमा पठाउने गरिएको छ । यसले गर्दा पनि उपचारमा समस्या हुने गरेको छ”, उनले भने, “यहाँ रोगले ग्रस्त बनाइसकेको हुन्छ, के भएको हो भन्ने थाहा पाउन लामो समय कुर्नु परिरहेको हुन्छ ।”

घोराही उपमहानगरपालिका–१९ का पहाडी क्षेत्रमा पनि लम्पीस्किन रोगका कारण किसान समस्यामा परेका छन् भने पशुलाई सास्ती भएको छ । राप्ती गाउँपालिकाको पहाडी क्षेत्रमा देखिएको लम्पीस्किनको सङ्क्रमण वडा नं २, ३ र ४ मा पनि देखापरेको पशु सेवा शाखाले जनाएको छ ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?