Trending
>>   विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक छ : मन्त्री भण्डारी >>   यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो, चिन्तित हुने कुरा छैन: प्रचण्ड >>   सरकार निराशालाई चिर्दै सकारात्मक सोचका साथ विकास निर्माणका तल्लीन छ : शङ्कर पोखरेल >>   काठमाडौंमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल >>   सरकारले मुलुकलाई समृद्धितर्फ अघि बढाएको छ : सञ्चारमन्त्री गुरुङ >>   भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने >>   करको सदुपयोग राष्ट्र समृद्धिको आधार : अर्थमन्त्री पौडेल >>   उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता >>   ‘कार्वन व्यापारलाई थप प्रभावकारी बनाउनु आवश्यक छ’ >>   पहाडी भू-भागका एक-दूई स्थानमा वर्षा र तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लाग्ने
Logo
१ मंसिर २०८१, शनिबार
१ मंसिर २०८१, शनिबार

छोटो दूरीको आकर्षक गन्तव्य मौलाकालिका


१६ वैशाख, नवलपरासी । चितवन, नवलपरासी र तनहुँको दृश्यावलोकन गर्न बनाइएको ‘भ्यूटावर’ जस्तै गरी नारायणगढको काखमा रहेको गैँडाकोटको शिर मौलाकालिका मन्दिरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ। नयाँ वर्षसँगै यहाँ सञ्चालनमा आएको केबलकारले यहाँको पर्यटकीय गतिविधि बढाएको हो।

मौलाकालिकाको फेदीबाट छोटो दूरीको केबलकार चढेर मन्दिरसम्म पुग्नसक्ने भएपछि मन्दिरको दर्शनमा जाने भक्तजनलाई सहज भएको छ। यसका साथै सहरको रमझम र प्राकृतिक दृश्यावलोकनमा रमाउन चाहनेका लागिसमेत मौलाकालिका एक उत्कृष्ट गन्तव्य भएको छ।

यहाँबाट नवलपरासी, चितवन, तनहुँ, गोर्खाका अग्ला डाँडा, भञ्ज्याङ, भिरपाखा र हिमशृङ्खलाका साथै सुप्रसिद्ध तीर्थस्थल देवघाटधाम, चितवनको समथर भूमि, राष्ट्रिय निकुञ्जको जङ्गल तथा मौलाकालिकालाई दाहिने पारेर सलल बगेको नारायणी नदी अवलोकन गर्न सकिन्छ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवन आउने पर्यटकका लागि मौलाकालिका पनि एक धार्मिक पर्यटकीय गन्तव्य बनेको यहाँका स्थानीय पर्यटन व्यवसायी बताउँछन्। स्वदेशी एवं विदेशी पर्यटक पुग्ने चितवनका पर्यटकीय गन्तव्यमा केबलकारको सञ्चालनसँगै अर्को एक गन्तव्य पनि थपिएको स्थानीय पर्यटन व्यवसायीको भनाइ छ।

यहाँ जङ्गल सफारीका लागि आउने पर्यटकका लागि थप गन्तव्य बनेको क्षेत्रीय होटेल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे बताउँछन्। उनले भने, “यसले चितवनको पर्यटन प्रवर्द्धनका लागि निकै सहयोग पुग्ने हामीले ठानेका छौँ। हामीले यहाँ आउने पर्यटकलाई घुमाउने गन्तव्यमा अब मौलाकालिका पनि थपिएको छ। त्यसैले यहाँ आउने पर्यटकको बसाई लम्ब्याउन यसले थप सहयोग गर्छ भन्ने हाम्रो बुझाइ छ।” केबलकार चढ्न आउने जङ्गल सफारी जाने र सफारी गर्न आउने केबलकार चढ्न सक्ने भएकाले चितवन आउने पर्यटकको बसाई लम्ब्याउन सहयोग पुग्ने उनको भनाइ छ।

नारायणगढबाट नारायणी नदीको पुल पार गर्ने बित्तिकै दाहिनेतर्फ दुई किलोमिटरमा मन्दिरको फेदीको प्रवेशद्वार पुगिन्छ। त्यहाँबाट केबलकारको पाँच मिनेटको यात्रामा मन्दिर नजिकै पुग्न सकिन्छ।

मौलाकाली सामुदायिक वन र मौलाकालिका धार्मिक वनभित्र रमणीय हरियाली वातावरण छ। केबलकारबाट पनि यो प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ। मौलाकालिका मन्दिर पूर्वी नवलपुरको गैँडाकोटस्थित पूर्वपश्चिम राजमार्गको नारायणी–पुलबाट उत्तरतर्फ करिब चार किलोमिटर टाढा छ। समुद्र सतहदेखि पाँच सय ६१ मिटर उचाइमा पहाडी वनको धुरीमा मौलाकालिका मन्दिर अवस्थित छ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले गैँडाकोटमा केबलकार सञ्चालनमा आउँदै गर्दा यसको प्रत्यक्ष लाभ भरतपुरले प्राप्त गर्ने बताइन्। यसले भरतपुर क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनको भनाइ छ। उनले भनिन्, “मौलाकालिकामा केबलकार चल्दै गर्दा यहाँ पर्यटकको बसाई लम्बिने छ। यसका साथै चितवनमा अर्को एक पर्यटकीय पूर्वाधार थपिएकामा हामी खुसी छौँ।” पछिल्लो समय सो केबलकारसँगै प्याराग्लाइडिङसमेत सुरु भएको भन्दै उनले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउने तयारी गरिरहेकाले समयमा यी गन्तव्य महत्त्वपूर्ण हुने बताइन्। यसले भरतपुर क्षेत्रको आर्थिक गतिविधि बढाउन थप सहयोग पुग्ने उनको विश्वास छ।

गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी स्थानीय तहसँग समन्वय गरेर केबलकार सञ्चालन गरेमा यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए। चितवनका स्थानीय पर्यटकीय गतिविधि प्रवर्द्धनमा यस पूर्वाधारले टेवा पुर्‍याउने विश्वास उनले व्यक्त गरे।

होटेल व्यवसायी महासङ्घका अध्यक्ष दिनेशकुमार चुकेले मौलाकालिकामा केबलकार सञ्चालन हुँदै गर्दा नारायणगढ क्षेत्रका होटेल व्यवसायमा सकारात्मक प्रभाव पर्ने बताए। उनले भने, “यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा मौलाकालिका केबलकार सहयोगी बन्नेछ।”

धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिग्राम सापकोटा केबलकार सञ्चालनमा आएसँगै पहिले हिँडेरै जानुपर्ने अवस्था नरहेको र यसका कारण भक्तजनको सङ्ख्या बढेको बताउँछन्। केबलकार सञ्चालनमा आएपछि यहाँ २० प्रतिशतभन्दा बढी भक्तजन थपिएको र यो सङ्ख्या बढ्दै जाने देखिएको उनले बताए। उनले भने, “विगतका वर्षमा यस शक्तिपीठमा वर्षमा कम्तीमा तीन लाख ५० हजार भक्तजन जाने गरेकामा अब सबैका लागि सहज भएकाले यो सङ्ख्या बढ्ने अनुमान हामीले गरेका छौँ।”

ऐतिहासिक महत्वको यस मन्दिर चार सय ५० वर्ष पहिला सेन राज्यका पालामा निर्माण भएको जानकारी उनले दिए। उनले भने, “डाँडाको टुप्पामा एउटा सानो मन्दिर थियो, कहिलेकाहीँ स्थानीय आदिवासी पूजाअर्चना गर्थे। सोह्रौँ शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द सेनले देवी कलिकाको नाममा ‘प्रतीक’ को प्रतीकात्मक प्रस्तुतिस्थल सिर्जना गरेपछि पर्वत (मौला पहाड) को नाम राखिएको किंवदन्ती छ।”

हिन्दु पौराणिक कथाअनुसार देवी काली वा कलिका माईलाई ऊर्जा, शक्ति र नयाँ कार्यको सुरुआतको प्रतीक मानेर पूजा गर्ने गरिएको मन्दिरको प्रशासनिक एवं व्यवस्थापकीय एक सदस्य छवि खनाल बताउँछन्। उनले मन्दिरलाई स्थानीय स्तरमा धेरै पटक पुनः स्थापित गरिएको भन्दै थप आगन्तुक समायोजन गर्न आधार क्षेत्र विस्तार गरिएको बताए। मन्दिर व्यवस्थापन समितिले पछिल्ला वर्षमा यहाँ बलि दिने प्रथामा रोक लगाएको छ। यहाँ बलिको साटो नरिवल, फलफूल चढाउने संस्कार बढ्दै गएको छ। भगवतीको दर्शन गरी उहाँको चरणमा परेर गरेको भाकलबाट मनोकाङ्क्षा पूरा हुने विश्वास छ।

विसं १९९० सम्म त्यहाँ ठुलो सालको रुख थियो भन्ने कथन रहेको छ। रुख वरिपरि ढुङ्गाको पर्खाल थियो। खिया लागेर भष्म भइसकेका खुँद आकारका फलामका हतियार थिए। धमिराले खाएको काठको मौलो र कालिका भगवतीको शिलारपत्थर थिए। आज पनि भक्तजनले तिनको पूजा गर्दै आएका छन्। मौलाकालिका मन्दिरमा हरेक वर्ष नेपाल र छिमेकी मुलुक भारतबाट धार्मिक आस्था राख्ने हजारौँ भक्तजन पूजा गर्न आउने गरेका छन्।

नेपालका पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्या भण्डारी, पूर्व राजा, पूर्वमन्त्रीहरु, भारतका प्रसिद्ध योगगुरु राम देवले मन्दिरमा पूजाअर्चना तथा भ्रमण गरेका छन्। पूर्वराष्ट्रपति भण्डारीले विसं २०७३ वैशाख ८ गते मन्दिरमा पूजा अर्चनाका साथै मन्दिरको आवासीय सुविधाको उद्घाटन गरेका थिए।

विसं २०३८ देखि संस्थागत पूजाअर्चनाका साथै जनसहभागितामा विकास निर्माण कार्य गरिँदै आएको र विसं २०५३ मा प्यागोडा शैलीमा ठुलो मन्दिर निर्माण भएपछि धार्मिक तथा अन्य पर्यटकको सङ्ख्या उल्लेखनीयरुपमा बढेको छ।

स्थानीय बासिन्दा र निजी क्षेत्रको साझेदारीको नमूना परियोजनाका रुपमा छोटो समयमै यहाँ केबलकार निर्माण सम्पन्न भएको छ। “यहाँ केबुलकार सञ्चालनमा आएपछि गैँडाकोट र नवलपुरलाई मात्रै नभई छिमेकी जिल्लालाई समेत हरेक तरिकाबाट फाइदा पुग्ने स्थानीयको भनाइ छ। यो आयोजनाबाट पर्यटन, कृषि, व्यवसाय, होटेल रेस्टुराँ, रोजगारी सिर्जनासहित धेरै तरिकाले स्थानीयलाई फाइदा पुग्ने यहाँका जनप्रतिनिधिहरू बताउँछन्।

केबलकार आयोजनामा ५१ प्रतिशत शेयर मुख्य लगानीकर्ता आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहको छ। केबलकारले स्थानीयसहित करिब चार सय व्यक्तिलाई रोजगारी दिने कम्पनीको भनाइ छ। यसका साथै मौलाकालिका मन्दिर नजिकै अत्याधुनिक रिसोर्ट निर्माणाधीन अवस्थामा छ। मन्दिर नजिक रहेको हेलिप्याडमा केबलकारको टपस्टेशन निर्माण भएको छ भने मौलाकालिका फेदीमा रहेको धारापानीमा बटम स्टेशन निर्माण भएको छ।

केबलकारले एकतर्फी लम्बाई एक हजार दुई सय मिटर छ। यसका लागि छ वटा टावर निर्माण गरिएको छ। केबलकारमा १४ डब्बा (गोन्डला) रहेका छन्। एउटा डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ। हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्दछ।

केबलकार सञ्चालनमा आएपछि प्रतिदिन छ हजार यात्रु आवतजावत गराउन सकिने क्षमता रहेको छ। केबलकारका लागि ५६ रोपनी जग्गा अधिग्रहण गरिएको छ। कम्पनीले त्यसबापत सरकारलाई ५८ रोपनी जग्गा सट्टाभर्ना दिएको छ। कम्पनीले पूर्वी नवलपरासीकै मिथुकरम (दुर्गम पहाडी) गाउँको जग्गा किनेर सरकारलाई दिएको हो।

देशको पूर्वपश्चिम यात्रा गर्ने व्यक्ति अधिकांश नारायणगढ पुग्नुपर्छ। नारायणगढमा कुनै व्यक्ति दुई घण्टामात्र अडिनुपर्ने अवस्था आयो भने पनि उसले मौलाकालिका पुगेर दर्शन र दृश्यावलोकन गरेर सजिलै ओर्लिन सक्छ। त्यसैले यहाँका स्थानीय पर्यटन व्यवसायीले पनि यसलाई छोटो समयकै एक आकर्षक गन्तव्यका रुपमा लिएका छन्।


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?