Trending
>>   मोवाइल फुड ल्याव भ्यानबाट दक्षिणकाली नगरपालिका क्षेत्रमा रहेका खाद्य पदार्थको अनुगमन >>   एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत >>   सार्वजनिक पर्खालका भित्तामा कलात्मक भित्ते चित्र (फोटो फिचर ) >>   फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिए >>   बिना राउत र गायक रबिनको ‘तिमी हिँड्ने बाटो’ सार्वजनिक >>   इमान्दारितापूर्वक आत्मसमीक्षा गर्दै अगाडि बढौँः अध्यक्ष प्रचण्ड >>   ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबिच शिष्टाचार भेट >>   प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छ : परराष्ट्रमन्त्री डा राणा >>   पुनहिलमा विद्युत् र खानेपानीको समस्या >>   रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो
Logo
१ मंसिर २०८१, शनिबार
१ मंसिर २०८१, शनिबार

श्मशानघाटदेखि स्वर्गद्वारसम्म


१२ वैशाख, जनकपुरधाम । मन्दिरै मन्दिरको सहर जनकपुरधाम उपमहानगरपालिका-४ गंगासागर दक्षिणतर्फ भूतनाथ महादेव मन्दिर छ। उपमहानगरको मध्यभागमा अवस्थित यो मन्दिरको आँगनीमा सयौँ वर्षदेखि मान्छे जलाउने श्मशानघाट पनि छ।

वर्षौँदेखि मृत्यु र नर्कको मात्रै चित्र देखाउने त्यो श्मशानघाटलाई अचेल भने मृत्यु, जीवन र स्वर्गलाई एकै ठाउँमा साक्षात्कार गर्न मिल्ने गरी विकास गरिएको छ। त्यसैले सो स्थान श्मशान नभई स्वर्गद्वारका रूपमा पहिचान बनाउँदै छ। यसरी पहिचान बनाउन २१ वर्षभन्दा बढी समय र करिब दुई हजार मानिसको योगदान खर्चिएको छ।

२०७६ साउन २८ मा स्वर्गद्वारले कानुनी स्वरूप ग्रहण गरे पनि ‘श्मशानदेखि स्वर्गद्वार’ को यात्रा भने २१ वर्ष अघिदेखि सुरु भएको यस अभियानका अगुवा जनकपुरधाम निवासी पवनकुमार सिंघानियाको भनाइ छ। ‘२०५८ मंसिर-पुसतिर मेरो पिताजी हरद्वारीलाल सिंघानियालाई विसञ्चो भएपछि उहाँको अनुपस्थितिमा एकदिन मैले मलामी जानुपर्ने भयो। त्यहाँ जाँदा फोहर र दुर्गन्धले एकछिन टिक्न पनि मुस्किल भयो,’ उनले स्मरण गरे, ‘फोहरको डुङ्गुर र त्यसको दुर्गन्धले मरेको लासलाई पनि गिज्याइरहेको थियो। मलामीहरूलाई सास्ती दिइरहेको थियो। त्यही दिन संकल्प गरेँ श्मशानघाटलाई यस्तै रहन दिनुहुँदैन। त्यहीबाट सुधार अभियान सुरु भयो।’

उनका अनुसार सोही वर्ष माघ १ गतेदेखि श्मशानघाट स्वच्छता अभियानले औपचारिकता पायो र माघ ७ गते नगरपालिकालाई यसबारेमा जानकारी दिइयो। ‘मृत्यु शाश्वत सत्य हो। जतिसुकै आलिसान महलमा बसे पनि एकदिन मान्छेले आउनैपर्ने अन्तिम घर यही श्मशानघाट त रहेछ १ त्यसैले यो ‘नर्क’ जस्तो घरलाई ‘स्वर्ग’ बनाउन लागौँ भनेर बिन्ती गरेँ,’ अभियान शुभारम्भ गर्दाको क्षण सिंघानियाले सम्झिए। त्यसबेला धेरैले हाँसोको पात्र बनाएको र व्यापारिक घरानाको तन्नेरीले फोहर तथा दुर्गन्ध सफा गर्ने कुरा धेरैले नपत्याएको सन्दर्भ पनि उनको मनस्पटलमा ताजै छ।

सिंघानियाले श्मशान सुधारको योजना सुनाएको विषय तत्कालीन नगरप्रमुख बजरंगप्रसाद साहको पनि स्मरणमै छ। ‘श्मशान सुधारको योजना ल्याउँदा उहाँको (सिंघानिया) उमेर र व्यापारिक घरानाको पृष्ठभूमिले गर्दा सुरुमा धेरैले पत्याएनन्। मसँग पनि धेरैपटक कुरा भयो। वास्तवमा त्यो सराहनीय पहल थियो, त्यसैले मैले पनि सक्दो सहयोग गरे,’ उनले भने, ‘म भारतको गुजरातमा आयोजित एउटा सम्मेलनमा जाँदा द्वारिकाधाम क्षेत्रमा बनाइएको व्यवस्थित श्मशानघाट देखेर फर्किएको थिएँ। संयोग नै भन्नुपर्छ त्यसको केही समयपछि सिंघानियाले जनकपुरमै श्मशानलाई स्वर्गद्वार बनाउने प्रस्ताव ल्याउनुभयो।’ जग्गा व्यवस्थापनदेखि अन्य काममा सक्दो सहयोग गरेको त्यो अभियानले स्वर्गद्वारलाई जनकपुरमा हेर्न लायक ठाउँको रूपमा विकास गरेको देख्दा आफूलाई निकै खुसी लागेको बताए।

२०५८ फागुन १७ गतेदेखि स्वर्गद्वार निर्माण सुरु भएको थियो। तीन सय ४५ फिट लम्बाइ र एक सय २५ फिट चौडाइभित्र बाबा भूतनाथको मन्दिर, दुईकोठे धर्मशाला, भैरवनाथ मन्दिर तथा सो मन्दिरको छेउमा भोलेनाथ शेषनागको छायाँमा माता पार्वतीसहितको मनमोहक दृश्य हेर्न लायक छ। स्वर्गद्वारको बीच भागमा दुई सय फिट लम्बाइ र ४० फिट चौडाइको शव जलाउने ठाउँ, पश्चिमतर्फ व्यवस्थापन समिति तथा शवयात्री (मलामी) विश्राम गर्न पाँचकोठे धर्मशाला बनाइएको छ।

त्यसैगरी प्रवेशद्वारदेखि बाबा भूतनाथ मन्दिरसम्म १२ फिट चौडाइ र करिब दुई सय १० फिट लम्बाइको पैदलमार्ग, त्यसैमा रंगीबिरंगी फूल, यो देख्दा लाग्छ श्मशानघाट नभई यो कुनै उद्यान हो। ‘यहाँ मलामीमात्रै होइन, जनकपुरधाम घुम्न आउने अरु पर्यटक पनि आउँछन्, तस्बिर खिचाउँछन् र रमाएर जान्छन्,’ विगत १० वर्षदेखि शव जलाउने काममा सहयोग गर्दै आएका हीरा मल्लिकले भने, ‘मैले काम सुरु गर्दा यो ठाउँ देखेर डराउँथे, नाकमुख थुन्थे तर अहिले मलामीहरू पनि खुसी भएर जान्छन्। यस्तो श्मशानघाट देखेकै छैनौँ भन्छन्।’

हीरा मल्लिकमात्रै होइन, कठियारी (शव जलाउने मान्छे) विपत्ति डोम पनि श्मशानघाटमा शव ल्याएर आउनेहरूले दुर्गन्धका कारण नाकमुख थुन्न नपर्ने बताउँछन्। ‘मैले अरू श्मशानघाटमा पनि काम गरेको छु। आफन्त मरेको पीडामा आँसु पुछ्नेभन्दा फोहर र दुर्गन्धले नाकमुख थुन्नै सकस हुन्छ, तर यहाँ त्यसो गर्नुपर्दैन,’ उनले भने।

यो त श्मशानघाटभित्रको कुरा भयो। त्योभन्दा आकर्षक त बाहिरको वातावरण छ। मलामी र बटुवाहरूलाई एकपटक रोकिएर हेर्न बाध्य बनाउने उक्तिहरू पर्खालमा कुँदिएका छन्।

सिंघानियालाई अहिलेसम्म सरकार, संघसंस्था र व्यक्ति गरी एक हजार आठ सयभन्दा बढीले सहयोग गरेका छन्। करिब तीन करोड रकम खर्च भएको छ। ‘सुरुमा सम्झाउन गाह्रो भयो। बिन्ती गरेरै भए पनि सहयोग जुटाएँ। १० वर्षसम्म एक सय आठ जनाबाट मासिक एक हजार एक सयका दरले सहयोग लिएँ तर प्रत्येक महिना पैसा दिने र उठाउने दुवैलाई झन्झट हुने भएपछि अहिले एक करोड ५१ लाखको अक्षयकोष बनाइएको छ,’ सिंघानियाले भने।

त्यही छेउमा स्वर्गद्वार भाग–२ पनि निर्माण भइरहेको छ। निर्माणको अन्तिम चरणमा रहेको भाग–२ मा सानै उमेरमा ज्यान गुमाउने बालबच्चाको शव व्यवस्थापन गरिने छ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?