Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

काभ्रेका आठ स्थानीय तहद्वारा भू–वर्गीकरण


११ वैशाख ,काभ्रेपलाञ्चोक । सरकारले भू–उपयोग नियमावली जारी गरी दश क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेअनुसार हालसम्म काभ्रेपलाञ्चोकका आठ स्थानीय तहले वर्गीकरण गरेका छन् । जग्गाको जथाभावी कित्ताकाट रोक्ने उद्देश्यले सरकारले २०७९ जेठमा भू–उपयोग नियमावली जारी गरेको थियो ।

काभ्रेको बेथानचोक गाउँपालिकाले १६ हजार कित्ता जग्गालाई भू–वर्गीकरण गरी आइतबार मालपोत तथा नापी कार्यालयलाई बुझाएको छ । “सबै कित्तालाई छुट्टाछुट्टै वर्गीकरण गर्दै नक्सासमेत तयार गरी बुझाएका हौँ”, गाउँपालिका अध्यक्ष भगवान अधिकारीले भने ।

यसअघि नमोबुद्ध नगरपालिका, पनौती, पाँचखाल, धुलिखेल र बनेपा नगर तथा चौँरीदेउराली गाउँपालिका र भुल्लु गाउँपालिकाले भू–वर्गीकरण गरिसकेका छन् । पाँच तहले अझै वर्गीकरण नगरेको जिल्ला मालपोत कार्यालयले जनाएको छ । मन्त्रिपरिषद् बैठकले हप्ताअघि मात्रै भू–उपयोगसम्बन्धी पहिलो संशोधन नियमावली–०७९ स्वीकृत गर्दै कित्ताकाट खुला गरेको छ ।

नियमावलीले हालसम्मको अंशबन्डा, कारोबार र कित्ताकाटसम्बन्धी समस्याको सहजीकरण गर्ने जनाइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७९ साउन ३१ गते परिपत्र गर्दै मङ्सिर २३ गतेसम्ममा कृषि क्षेत्र र गैर कृषि क्षेत्रमा छुट्याउनुपर्ने जनाउँदै ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको थियो ।

निर्देशनअनुसार हालसम्म एक सय ५७ स्थानीय तहले मात्रै जग्गाको वर्गीकरण गरेको जनाइएको छ । भू–उपयोग नियमावलीअनुसार कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र नेपाल सरकारबाट आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्रमा जग्गाको अनिवार्य वर्गीकरण गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् । जग्गा वर्गीकरण नहुँदा मालपोत कार्यालयले प्राप्त गर्ने करोडौँ राजस्व घटेको छ । चालु आर्थिक वर्षको दश महिनासम्म जग्गा कारोबार नहुँदा स्थानीय सरकारको बजेटमासमेत प्रत्यक्ष असर परेको बताइन्छ । यसअघि नामसारी, दृष्टिबन्धक (व्यक्तिगत), पूरा कित्ता (अंश बण्डा), पूरा कित्ता (पास), छोडपत्र (पूरा) सगोलनामा मात्रै कारोबार हुने गरेको थियो ।

मन्त्रालयले गाउँपालिका वा नगरपालिकाले भूउपयोग क्षेत्र वर्गीकरण वा नियमावलीको नियम ५ को उपनियम (७) बमोजिम चारकिल्ला खुलाई कृषि क्षेत्र नतोकेसम्म जग्गाको कित्ताकाट गरी जग्गाको लिखत पास नहुने भएकाले तोकेको समयमा वर्गीकरण गर्न अनुरोध गर्दै आएको छ । सरकारले कृषि क्षेत्रबाहेक अन्य नौ क्षेत्रमा जुनसुकै बेला पनि वर्गीकरण गर्नसक्नेसमेत जनाएको छ ।


प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?