Trending
>>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बागलुङमा डढेलोले ४५० हेक्टर वन सखाप


९ वैशाख ,बलेवा । सुक्खायाम सुरु भएसँगै बागलुङको करिब चार सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । पाँच राष्ट्रिय र १७ सामुदायिक वनमा आगलागी भएको हो । गत माघ १८ गते पहिलो पटक जिल्लाको तमानखोला गाउँपालिकाको खुंखानीमा पर्ने हापली छहरा मठुरे राष्ट्रिय वनमा आगलागी भएको थियो ।

चार दिनसम्म फैलिएको आगलागीले दुई सय हेक्टर वन क्षेत्र मासेको डिभिजन वन कार्यालय बागलुङको तथ्याङ्क छ । गतमाघदेखि सुरु भएको आगलागीको शृङ्खला रोकिएको छैन ।

बस्ती नजिकैका सामुदायिक तथा निजी आवादी वन क्षेत्र र सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भइरहेको डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले बताए । जानीजानी वा दुर्घटनावश बिहीबारसम्म बागलुङका २२ वनमा डढेलो लागेको तथ्याङ्क छ । केही तथ्याङ्क भने आउनै बाँकी छ । यस वर्ष सबैभन्दा धेरै आगलागी बागलुङ नगरपालिकाका वनमा भएको छ ।

बागलुङ नगरपालिकाका छ सामुदायिक वन र एक ठाउँमा राष्ट्रिय वन क्षेत्रमा आगलागी भएको हो । जैमिनी नगरपालिकाका पाँच, बडिगाडका तीन, काठेखोलाका दुई र तमानखोला, निसीखोला र बरेङ गाउँपालिका तथा ढोरपाटन नगरपालिकाको एक/एक वनमा आगलागी भएको छ । जिल्लामा एक लाख पाँच हजार पाँच सय एक हेक्टर जमिनमा वन फैलिएको छ ।

जिल्लाभर पाँच सय २७ सामुदायिक वन ३३ हजार नौ सय नौ हेक्टरमा फैलिएका छन् भने, आठ दर्ता भएका निजी र बाँकी राष्ट्रिय वन क्षेत्र रहेको सहायक वन अधिकृत मदन कँडेलले बताउनुभयो । गत वर्ष हिउँदमा वर्षा हुँदा बागलुङका वन क्षेत्रमा आगलागी भएको थिएन । एकाध वन क्षेत्रमा लागेको आगोसमेत समयमै स्थानीयले नियन्त्रणमा लिएका थिए ।

यस वर्ष हिउँद सुक्खा हुँदा अधिकांश वन क्षेत्र आगलागीको जोखिममा परेको वन अधिकृत अधिकारीले बताए । वर्षा नभएसम्म बाँकी रहेका वन क्षेत्रसमेत आगलागीको जोखिममा छन् । “गत वर्ष डढेलो नलागेकाले वनमा कुहिएका काठ र पात पतिङ्गर सङ्कलन भएर बसेका थिए”, उनले भने, “थुप्रो लागेका काठ, पात र झाडीका कारण यो वर्ष वन थप जोखिममा परे, आगलागी भएको ठाउँमा नियन्त्रण गर्न कठिन भयो ।”

डढेलोको सम्भावित जोखिम भएका ठाउँमा सचेतनामूलक कार्यक्रम गर्ने, अग्निरेखा बनाउने तालिम, आगलागी भइहालेमा रोकथाम र नियन्त्रणका लागि सुरक्षा निकायलाई उपकरण उपलब्ध गराउनेलगायतका काम गरिएको उनले बताए । वनमा आगो लगाउनेलाई बिगो असुल, तीन वर्ष कैद सजाय, रु ६० हजार जरिवाना वा ती सबै सजाय हुने कानुनी व्यवस्था छ तर वनमा आगो लागउनेको पहिचान हुन सकेको छैन ।

जङ्गली जनावरबाट बच्न, वर्षायाममा मल हुने लोभलगायतका कारणबाट वनमा आगो लगाउने गरेको पाईन्छ । खरबारीमा डढेलो लगाएमा नयाँ घाँस राम्रो र बाक्लो पलाउँछ भनेर पनि आगो लगाउँदा नियन्त्रणभन्दा बाहिर गई क्षति हुने गरेको छ । वनजङ्गलमा आगलागी हुँदा बस्तीमा ल्याइएका पानीका पाइप पोलिएर कयौँ ठाउँमा खानेपानीको समस्या छ भने कतिपय जङ्गल क्षेत्रमा रहेका महत्वपूर्ण जडीबुटी जलेका छन् ।


प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?