Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

बागलुङमा डढेलोले ४५० हेक्टर वन सखाप


९ वैशाख ,बलेवा । सुक्खायाम सुरु भएसँगै बागलुङको करिब चार सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । पाँच राष्ट्रिय र १७ सामुदायिक वनमा आगलागी भएको हो । गत माघ १८ गते पहिलो पटक जिल्लाको तमानखोला गाउँपालिकाको खुंखानीमा पर्ने हापली छहरा मठुरे राष्ट्रिय वनमा आगलागी भएको थियो ।

चार दिनसम्म फैलिएको आगलागीले दुई सय हेक्टर वन क्षेत्र मासेको डिभिजन वन कार्यालय बागलुङको तथ्याङ्क छ । गतमाघदेखि सुरु भएको आगलागीको शृङ्खला रोकिएको छैन ।

बस्ती नजिकैका सामुदायिक तथा निजी आवादी वन क्षेत्र र सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भइरहेको डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले बताए । जानीजानी वा दुर्घटनावश बिहीबारसम्म बागलुङका २२ वनमा डढेलो लागेको तथ्याङ्क छ । केही तथ्याङ्क भने आउनै बाँकी छ । यस वर्ष सबैभन्दा धेरै आगलागी बागलुङ नगरपालिकाका वनमा भएको छ ।

बागलुङ नगरपालिकाका छ सामुदायिक वन र एक ठाउँमा राष्ट्रिय वन क्षेत्रमा आगलागी भएको हो । जैमिनी नगरपालिकाका पाँच, बडिगाडका तीन, काठेखोलाका दुई र तमानखोला, निसीखोला र बरेङ गाउँपालिका तथा ढोरपाटन नगरपालिकाको एक/एक वनमा आगलागी भएको छ । जिल्लामा एक लाख पाँच हजार पाँच सय एक हेक्टर जमिनमा वन फैलिएको छ ।

जिल्लाभर पाँच सय २७ सामुदायिक वन ३३ हजार नौ सय नौ हेक्टरमा फैलिएका छन् भने, आठ दर्ता भएका निजी र बाँकी राष्ट्रिय वन क्षेत्र रहेको सहायक वन अधिकृत मदन कँडेलले बताउनुभयो । गत वर्ष हिउँदमा वर्षा हुँदा बागलुङका वन क्षेत्रमा आगलागी भएको थिएन । एकाध वन क्षेत्रमा लागेको आगोसमेत समयमै स्थानीयले नियन्त्रणमा लिएका थिए ।

यस वर्ष हिउँद सुक्खा हुँदा अधिकांश वन क्षेत्र आगलागीको जोखिममा परेको वन अधिकृत अधिकारीले बताए । वर्षा नभएसम्म बाँकी रहेका वन क्षेत्रसमेत आगलागीको जोखिममा छन् । “गत वर्ष डढेलो नलागेकाले वनमा कुहिएका काठ र पात पतिङ्गर सङ्कलन भएर बसेका थिए”, उनले भने, “थुप्रो लागेका काठ, पात र झाडीका कारण यो वर्ष वन थप जोखिममा परे, आगलागी भएको ठाउँमा नियन्त्रण गर्न कठिन भयो ।”

डढेलोको सम्भावित जोखिम भएका ठाउँमा सचेतनामूलक कार्यक्रम गर्ने, अग्निरेखा बनाउने तालिम, आगलागी भइहालेमा रोकथाम र नियन्त्रणका लागि सुरक्षा निकायलाई उपकरण उपलब्ध गराउनेलगायतका काम गरिएको उनले बताए । वनमा आगो लगाउनेलाई बिगो असुल, तीन वर्ष कैद सजाय, रु ६० हजार जरिवाना वा ती सबै सजाय हुने कानुनी व्यवस्था छ तर वनमा आगो लागउनेको पहिचान हुन सकेको छैन ।

जङ्गली जनावरबाट बच्न, वर्षायाममा मल हुने लोभलगायतका कारणबाट वनमा आगो लगाउने गरेको पाईन्छ । खरबारीमा डढेलो लगाएमा नयाँ घाँस राम्रो र बाक्लो पलाउँछ भनेर पनि आगो लगाउँदा नियन्त्रणभन्दा बाहिर गई क्षति हुने गरेको छ । वनजङ्गलमा आगलागी हुँदा बस्तीमा ल्याइएका पानीका पाइप पोलिएर कयौँ ठाउँमा खानेपानीको समस्या छ भने कतिपय जङ्गल क्षेत्रमा रहेका महत्वपूर्ण जडीबुटी जलेका छन् ।


प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?