Trending
>>   मोवाइल फुड ल्याव भ्यानबाट दक्षिणकाली नगरपालिका क्षेत्रमा रहेका खाद्य पदार्थको अनुगमन >>   एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत >>   सार्वजनिक पर्खालका भित्तामा कलात्मक भित्ते चित्र (फोटो फिचर ) >>   फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिए >>   बिना राउत र गायक रबिनको ‘तिमी हिँड्ने बाटो’ सार्वजनिक >>   इमान्दारितापूर्वक आत्मसमीक्षा गर्दै अगाडि बढौँः अध्यक्ष प्रचण्ड >>   ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबिच शिष्टाचार भेट >>   प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छ : परराष्ट्रमन्त्री डा राणा >>   पुनहिलमा विद्युत् र खानेपानीको समस्या >>   रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो
Logo
३० कार्तिक २०८१, शुक्रबार
३० कार्तिक २०८१, शुक्रबार

बागलुङको दुर्गम गाउँमा बिरामीको उपचार गर्दै डा केसी


८ वैशाख ,ढोरपाटन । डा गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिएका छन् । मङ्गलबार निसीखोला आएका डा केसीले वडा नं ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिएका हुन् ।

डा केसीले स्वास्थ्यचौकीमा बिरामीको उपचार गरिरहेको बोहरागाउँ स्वास्थ्यचौकीका प्रमुख कसिन्द शाहीले जानकारी दिए । केसी कुनै खबरबिना नै स्वास्थ्यचौकी पुग्नुभएको हो । शाही भन्छन्, “उहाँ आउने कुनै जानकारी थिएन, स्वास्थ्यचौकीमा हामी बिरामी हेर्दै थियौँ, टुप्लुक्क आउनुभयो, हामी अचम्ममा पर्यौँ ।” डा केसीले तीन दिनसम्म यहाँ बिरामीको उपचार गर्ने जानकारी दिएको उनले बताए।

“सबैलाई खबर गरिदिनु, कुनै रोगको समस्या भए आउनुहुन्छ, उहाँहरूको स्वास्थ्य जाँच गर्छु”, डा केसीको भनाइ उल्लेख गर्दै शाहीले भने । डा केसी गत वर्ष ढोरपाटनको बोबोङ क्षेत्रका नागरिकको उपचारका लागि यहाँ आएका थिए । आफू यो समय फुर्सदमा भएकाले निसीखोला आएको उनले बताए । डा केसी भन्छन्, “पहिला बोबाङमा बिरामीको उपचार गरेको थिएँ, त्यसबेला यहाँका सर्वसाधारणले निसीखोला पनि आउनुपर्यो भन्नुभएको थियो, अहिले मेसो मिल्यो, त्यही भएर आएँ ।”

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले डा केसीले यहाँ तीन दिन बिरामीको उपचार गर्ने बताएपछि गाउँपालिकाले उहाँले सिफारिस गरेका औषधिको व्यवस्थापन गरेको जानकारी दिए । “उहाँ एक्कासी बोहोरागाउँ स्वास्थ्यचौकीमा आएपछि थाहा भयो, उहाँले हाडजोर्नी र नसासम्बन्धीका बिरामीको उपचार गर्दै हुनुहुन्छ”, अध्यक्ष घर्तीमगरले भने, “बिरामी आउन थालेका छन्, हामीले रु एक लाख बराबरको औषधि व्यवस्थापन गरेका छौँ ।”

गलकोटमै आँखाको शल्यक्रिया बागलुङको गलकोट नगरपालिका–३ हटियाका टेकबहादुर नेपालीको मोतियाबिन्दुको समस्याका कारण दुवै आँखामा समस्या थियो । गाउँमै आयोजना गरिएको निःशुल्क शल्यक्रियामार्फत नेपालीसहित ८५ जनाको शल्यक्र्रियामार्फत उपचार गरिएको छ । दुवै आँखा पुरानै अवस्थामा फर्केपछि दङ्ग परेको नेपालीको भनाइ छ । “दुवै आँखामा मोतियाबिन्दुको समस्या थियो, शल्यक्र्रियामार्फत आँखा देख्ने अवस्थामा पुगेँ”, नेपालीले भने, “गाउँमै आँखाको उपचार होला भनेर सोचेकै थिइनँ, अहिले उपचारपछि खुसी छु, भैरव आँखा उपचार केन्द्रले ठूलो गुन लगायो ।”

दुवै आँखाको उपचारपछि स्थानीय नन्दी पुनसमेत खुसी भएका छन् । उनले गाउँमै आँखा उपचारपछि खर्च र समयको बचत भएको बताए । गलकोटस्थित मल्ममा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट पाँच सय ७५ जना लाभान्वित भएका छन् । आँखा शिविरमा लाभान्वितमध्ये ८५ जनाको आँखाको शल्यक्र्रिया गरिएको थियो । गलकोट नपा–७ आँगाखेतमा बिहीबार सम्पन्न तीनदिने निशुःल्क आँखा शिविरबाट गाउँमै आँखाको उपचार तथा शल्यक्रिया सेवा पाउँदा स्थानीय खुसी भएका छन् ।

श्री कृष्ण भैरव आँखा उपचार केन्द्रको आयोजना, श्री कृष्ण नेत्रालय भैरहवाको प्राविधिक सहयोग, हरिकृष्ण आइकेयर फाउन्डेसन र लायन्स क्लब अफ बुटवल मणिउजेशको सहयोग र गलकोट नपा–७ को संयोजनामा आयोजना गरेको आँखा शिविरका क्रममा पाँच सय ७५ जनाको आँखा जाँच गर्दा ८५ जनाको आँखाको समस्या देखिएकाले शल्यक्र्रियामार्फत उपचार गरिएको श्रीकृष्ण भैरव आँखा उपचार केन्द्रका अध्यक्ष लोकबहादुर थापाले जानकारी दिए ।

शिविरमा स्थानीय सङ्घसंस्था र महिला समूहले सहयोगी भूमिका निभाएका थिए । आँखामा समस्या भएर देख्न नसक्नेलाई शल्यक्र्रियामार्फत उपचार गरिएको श्रीकृष्ण नेत्रालयका प्रमुख चिकित्सा निर्देशक डा सल्मा केसीले जानकारी दिईन । ग्रामीण क्षेत्रका जनतालाई घरदैलोमै विशेषज्ञ सेवा प्रदान गरी स्वास्थ्यलाभ प्रदान गर्न शिविर सञ्चालन गरिएकोे डा केसीले बताईन । सेवा लिन गलकोटसहित छिमेकी पालिका र छिमेकी जिल्ला गुल्मीको मुसिकोट नगरपालिकाबाट समेत आँखाका बिरामी आएका थिए ।


प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?