Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

संसदमा डा राणाको प्रश्न, ‘सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?’


६ वैशाख, काठमाडाैँ । प्रतिनिधिसभाका सदस्य डा आरजु राणा देउवाले नेपालका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा प्रश्न उठेको बताउँदै यसका कारणहरुको खोजी गरेर स्तरीय शिक्षाका लागि आवश्यक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेपाल सरकारको तथ्याङ्कअनुसार झन्डै ९७ प्रतिशत शिक्षकहरु तालिम प्राप्त भए पनि नतिजा अपेक्षाकृत नभएको भन्दै सरकारको ठूलो लगानी हुँदाहुँदै पनि विद्यालय शिक्षाको नतिजा उल्लेख्य मात्रामा प्राप्त नहुनुले प्रश्न उठेको बताइन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा राणाले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्किएको दृष्टान्त पेश गर्दै भनिन्, “धनगढी उपमहानगरपालिकाका विद्यालयमा कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका सामुदायिकतर्फका १७ विद्यालयको नतिजा शून्य आउनु एउटा निराशाजनक हो । हाम्रो देशका विश्वविद्यालयहरुमा विद्यार्थी भर्ना सङ्ख्या कम हुँदै जानु पनि राम्रो लक्षण होइन साथै लगानी अनुसारको प्रतिफल नमिल्नु अर्को निराशा रहेको छ ।”

सांसद राणाले यो क्षेत्रको सुधार तथा सुशासन अभिवृद्धिका लागि केही महत्वपूर्ण पक्षमा सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएकी थिइन् । उनले आधारभूत तथा माध्यमिक तहहरुमा निरन्तर मूल्याङ्कन गर्नुपर्ने र सो को ‘रेकर्ड’ राखी पृष्ठपोषण (फिडब्याक) दिनुपर्ने र नतिजाका आधारमा शिक्षक र विद्यालयहरुलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने सुझाव दिइन् । त्यसैगरी विद्यालय व्यवस्थापन समिति गठन र सञ्चालनमा धेरै राजनीतिकरण भएको देखिएको भन्दै समितिको कार्यशैली परिवर्तन गर्न निर्देशिका अद्यावधिक गरिनुपर्ने उनको भनाइ थियो ।

सांसद राणाले देशभरका सरकारी विद्यालयहरुका आधारभूत तहमा अङ्ग्रेजी भाषाबाट पनि पढाइ हुने वातावरण तयार गर्न आवश्यक नीति, नियम र आवश्यक स्रोतसाधनको सुनिश्चितता गरिनुपर्नेमा जोड दिइन् । नेपालका विश्वविद्यालहरुमा विद्यार्थीहरुको भर्ना दरलाई बढाउन बहुक्षेत्रका निकायले ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले शिक्षा अधिकारको सम्बन्धमा सङ्घ, प्रदेश र स्थानीय तहलाई प्राप्त अधिकारका बारेमा स्पष्ट व्यवस्था गरिनुपर्ने र शैक्षिक मूल्याङ्कनलाई अपरिहार्य पाटोका रूपमा स्थापित गर्नुपर्नेमा ध्यानाकर्षण गराइन् ।

“जुन परिकल्पनाका साथ संविधानमा शिक्षाको महत्वलाई अङ्गीकार गर्दै हामीले हाम्रा भावी सन्ततिहरुका लागि नैसर्गिक अधिकारका रूपमा शिक्षालाई समावेश गरिएको थियो त्यसतर्फ उन्मुख हुन अझै धेरै नीतिगत र कार्यगत पहल आवश्यक रहेको हुँदा सम्पूर्ण सरकारी शिक्षा क्षेत्रको पुनर्वालोकनका लागि सम्माननीय सभामुखमार्फत नेपाल सरकारलाई निर्देशन गरिदिन हुन हार्दिक अनुरोध गर्दछु”, संसदमा उनले भनिन् ।

उनले शिक्षाले मानवको चौतर्फी विकासका लागि अहम् भूमिका खेल्ने बताउँदै कुनै पनि देशको विकासका निम्ति शिक्षा महत्वपूर्ण स्तम्भ भएकाले संविधानमा पनि शिक्षाको अधिकारका बारेमा व्यवस्था गरिएको बताइन्।


प्रकाशित मिति: ६ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?