Trending
>>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

फोहर व्यवस्थापनमा रत्ननगरलाई उत्कृष्ट पुरस्कार


४ वैशाख ,चितवन । देशभरका पालिकालाई फोहर व्यवस्थापन चुनौती बनिरहेका बेला यहाँका रत्ननगर नगरपालिकाले नमूना फोहर व्यवस्थापन गरेर उदाहरणीय काम गरेको छ । यही कामले देशभरका ७५३ पालिकालाई उछिनेर नगरपालिकाले उत्कृष्ट पुरस्कार हात पारेको छ ।

नेपाल नगरपालिका सङ्घले सहरी सरसफाइ परियोजनाअन्तर्गत दिसाजन्य लेदो व्यवस्थापनसम्बन्धी नीतिगत पैरवी कार्यक्रम ‘युनाइटेड सिटिज् लोकल गर्भर्मेन्ट एसिया प्यासेफिक’सँगको सहकार्य तथा वातावरण तथा जनस्वास्थ्य संस्थाको प्राविधिक सहयोगमा सञ्चालन गर्दै आइरहेको छ । सो कार्यक्रम प्रभावकारी भएपछि रत्ननगरले पाँच हजार डलर राशिको पुरस्कार प्राप्त गरेको हो ।

युनाइटेड सिटिज् लोकल गर्भर्मेन्ट (युसिएलजी) एसिया प्यासेफिक विल गेट्स एण्ड मेलिन्डा गेट्स फाउन्डेसनद्वारा सञ्चालित अन्तर्राष्ट्रिय संस्था हो । वातावरण संरक्षण तथा सरसफाइका क्षेत्रमा यसले काम गर्दै आएको छ । नगरपालिकाका इन्जिनियर पङ्कज गिरीका अनुसार जनप्रतिनिधि आउनुपूर्व नगरपालिकाले फोहरमैला व्यवस्थापनमा रु एक करोडदेखि एक करोड २५ लाखसम्म वार्षिक खर्च गर्ने गरेको थियो ।

ट्र्याक्टर, मजदुर, ल्याण्डफिल्ड व्यवस्थापनमा खर्च हुँदै आएको थियो । जनप्रतिनिधि आएसँगै फोहरको व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य फोहर व्यवस्थापन हुँदै आएको छ । यसका कारण हाल नगरपालिकालाई वार्षिक रु ४२ लाख आम्दानी हुने गरेको छ । अघिल्लो जनप्रतिनिधि रहँदा यो आम्दानी वार्षिक रु १० लाख मात्रै थियो । उनका अनुसार नगरपालिकाले फोहर निजी क्षेत्रलाई उठाउन मात्रै लगाएको छैन, फोहर न्यूनीकरणका लागि जनचेतनासमेत जगाउँदै आएको छ ।

वडा अध्यक्षको संयोजकत्वमा बजार व्यवस्थापन समिति गठन गरेर नगरवासीलाई प्लाष्टिकजन्य फोहर न्यूनीकरण गर्दै वातावरणमैत्री अभियान सञ्चालन गरेको छ । नगरपालिकाले सौराहालगायतका क्षेत्रमा रहेका अधिकांश होटलमा प्लास्टिकको प्रयोगमा कडाइ गरिएको छ । फोहरको मात्राको आधारमा दैनिकदेखि दुई सातासम्म पालो गरेर उठाउने गरिएको छ ।

इन्जिनियर गिरीको भनाइमा मासिक रु २५ देखि ठूला होटलले रु तीन हजार पाँच सयसम्म फोहर व्यवस्थापनका लागि खर्च गर्दै आएका छन् । घरघरमा कम्पोष्ट मल बनाउन लगाइएको छ भने घर बनाउँदा उच्चस्तरको सेफ्टीट्याङ्की बनाउन अनिवार्य गरिएको छ । बजार क्षेत्रमा कागजको झोला (पेपर ब्याग) को प्रयोगलाई प्रोत्साहन गरिएको छ ।

वडा नं ५, ६ र ७ मा क्लिन सिटी अभियान गैरसरकारी संस्थासँग मिलेर सञ्चालन गरिएको छ । नगर प्रमुख प्रह्लाद सापकोटाले रत्ननगरका चोक बजारमा थुपारिएको फोहर नदेखिने बताए । नगर क्षेत्रमा गुठ्खा, सुर्तीका खोल जस्ता प्लास्टिकजन्य वस्तु फाल्न निषेध गरिएको छ । बजार क्षेत्रका मलमूत्रलाई पाइपलाइनमार्फत वडा नं ४ मा प्रशोधन केन्द्र निर्माण गरिएको छ । जहाँ आठ वटा पोखरीमा मलमूत्र प्रशोधन गरिँदै आएको उनले जानकारी दिए ।

उनले भने, “हामी रत्ननगरलाई स्वच्छ, हराभरा र सुन्दर बनाउन लागिपरेका छौँ”, यस अभियानमा नगरवासीको सहयोग भएकै कारण सफलता मिलेको उनको भनाइ छ । नगरपालिकाले रु पाँच हजार डलर राशिको पुरस्कार सहित उत्कृष्ट हुन सफल भएको जनाउँदै उनले नगरपालिकाले गरेका राम्रा अभ्यास अन्य नगरपालिकाले समेत सिको गर्नसक्ने बताए ।

नगरपालिकाको वडा नं ११ मा ‘ल्याण्डफिल्ड साइड’ छ । नगरपालिकाको वडा नं १, २, १० र ४ सहरी क्षेत्रमा पर्दछ । नगरपालिकाले जनघनत्व धेरै भएका ठाउँबाट फोहर व्यवस्थापनलाई बढी प्राथमिकतामा राखेर काम गर्दै आएको छ । यही नगरमा देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य सौराहा पर्दछ । पर्यटकीय नगरी भएकाले यहाँ ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।

सापकोटाका अनुसार होटल व्यवसायीलाई सरसफाइ र वातावरणीय सन्तुलन कायम गर्न आग्रह गरिएको बताए । निकुञ्जसँग जोडिएको नगरपालिका भएकाले फोहरको प्रभाव वन्यजन्तुमा समेत पर्नसक्ने भएकाले त्यसतर्फ पनि विशेष ध्यान पुर्याइएको नगर प्रमुख सापकोटा बताउछन् ।

उपप्रमुख यादव पाठकले नगरपालिकामा आफूहरु आएको एक वर्ष नपुग्दै फोहर व्यवस्थापनमा उत्कृष्ट बनेको जनाउँदै उनले आगामी दिनमा अझै उत्कृष्ट काम गर्ने प्रेरणा मिलेको बताए ।


प्रकाशित मिति: ४ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?