Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र सम्पन्न गराउन माग


४ वैशाख ,खोटाङ । जिल्ला समन्वय समिति खोटाङले मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र तत्काल सम्पन्न गराउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएको छ ।

पटकपटक अनुरोध गर्दा र दबाब दिँदा पनि ठेकेदारले सेखुवा–चखेवाभञ्ज्याङ (दश किलोमिटर) सडकखण्ड कालोपत्रको काम नगरेको जनाउँदै जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले आइतबार मन्त्री ज्वालालाई सिंहदरबार स्थित उनको कार्यकक्षमै ध्यानाकर्षणपत्र बुझाउदै अवरुद्ध सडक कालोपत्रको काम तत्काल सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् ।

ठेकेदारलाई धेरै पटक अनुरोध र दबाब दिँदा पनि काम नभएपछि मन्त्रालयमै पुगेर मन्त्रीलाई ध्यानाकर्षणपत्रमा बुझाउन बाध्य हुनु परेको समन्वय प्रमुख राईले बताए । “मन्त्री ज्यूलाई कार्यकक्षमै भेटेर अवरुद्ध कालोपत्रको काम सम्पन्न गरी यातायात सञ्चालन गर्ने व्यवस्था गरिदिन अनुरोध गरिएको छ । ठेक्का लागेको पाँच वर्ष बित्दासमेत भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभीले सडक कालोपत्रको काम सम्पन्न गर्न सकेको छैन”, उनले भने, “ठेकेदारले गत चैत पहिलो साताबाट डिबिएसटीको काम सुरु गर्ने र वैशाख मसान्तसम्ममा डिबिएसटीको काम सम्पन्न गर्नेलगायतका प्रतिबद्धता जनाएका थिए तर, उसले आफ्नो सेड्युलअनुसार काम नगरेपछि मन्त्री ज्यूलाई भेटेर ध्यानाकार्षणपत्र बुझाएका छौँ । उहाँले चासो देखाउनुभएको छ ।”

जिल्ला समन्वय समितिले खोटाङको ‘लाइफलाइन’का रुपमा रहेको दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार सडक कालोपत्रको काम यथाशीघ्र सम्पन्न गराउनका लागि समेत पहल गर्न मन्त्रीसमक्ष माग आग्रह गरेको छ । महुरे–फोक्सिङटार सडकको महुरे–राजापानीको सिम्पानी (२२ किलोमिटर) सडकखण्ड कालोपत्रको काम भारत कन्ट्रक्सन–सिद्धीशाही र सिम्पानी भञ्ज्याङ–फोक्सिङटार सडकखण्ड (२७ किलोमिटर) कालोपत्रको काम देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले गरिरहेको छ ।

सगरमाथा राजमार्गअन्तर्गत पर्ने उक्त दुवै सडकखण्डको काम प्रगति निरासाजनक छ । महुरे–सिम्पानी (राजापानी) सडक निर्माणको ठेक्का लिएको भारत कन्ट्रक्सन/सिद्धीशाही निर्माणस्थलमा रहेका गाडी, क्रसर मेसिन उठाएर हिँडिसकेको छ । गत पुस अन्तिम सातादेखि निर्माणस्थलबाट उपकरण उठाएर अन्यत्र लैजान थालेको निर्माण कम्पनीले गत माघ ४ गते क्रसरको सामान उठाएर लगेको स्थानीय बासिन्दाले बताएका छन् ।

ठेकेदार कम्पनीले अलपत्र पारेको उक्त सडक कहिले, कसले कालोपत्र सम्पन्न गर्ने भन्ने अन्यौल सिर्जना भएको छ । सडक कालोपत्रको काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तरहीन भएको र त्यहाँ कार्यरत कामदारले वर्षौंसम्म पनि पारिश्रमिक नपाएको विरोधमा स्थानीय बासिन्दाले विसं २०७६ पुस २० गतेदेखि महिना दिन उक्त सडकको काम ठप्प बनाएका थिए ।

उक्त सडक कालोपत्रको काममा सहभागी स्थानीय कामदारले अझै पनि पारिश्रमिक तथा होटल र पसलको भुक्तानी पाउन बाँकी रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईले बताए । महुरे–फोक्सिङटार सडक कालोपत्रको काममा गुणस्तरको विषयमा समेत आवाज उठ्ने गरेको छ । करिब एक सय ३४ किलोमिटर लामो दिक्तेल–गाईघाट सडकखण्डको गाईघाटबाट महुरेसम्म एक सय एक किलोमिटर सडकखण्ड कालोपत्रका लागि रु दुई अर्ब ६८ करोडको लगानीमा सम्पन्न हुने जनाइएको छ ।

निर्माण गरेर सञ्चालनमा आएको २३ वर्षपछि कालोपत्रको काम थालिएको महुरे–फोक्सिङटार सडक अहिले हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुँदा पटकपटक अवरुद्ध हुँदै आएको छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विसं २०५१ मा शिलान्यास गर्नुभएको उक्त दिक्तेल–गाईघाट सडक जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्दछ ।


प्रकाशित मिति: ४ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?