Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

म्याग्दीका विद्यार्थीले भर्नासँगै पुस्तक पाए


३ वैशाख ,म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाको ज्योति आधारभूत विद्यालयका कक्षा ६ का विद्यार्थीले गत शैक्षिक सत्रमा पूरा पुस्तक बिना नै परीक्षामा सहभागी भएका थिए ।

यसपालि भने नयाँ शैक्षिक सत्रको सुरुआतमै पर्याप्त पुस्तक विद्यालयमा पुगिसकेको प्रअ मीनबहादुर खत्रीले बताए । “गत शैक्षिक सत्रमा कक्षा ६ का विद्यार्थीले अङ्ग्रेजी विषयको पुस्तक बिना नै परीक्षा दिनुपरेको थियो,” उनले भने, “नयाँ शैक्षिक सत्रमा भने भर्ना अभियानसँगै विद्यार्थीको हातहातमा पुस्तक वितरण गर्ने तयारीमा छौँ ।”

ज्योति आधारभूत मात्र नभएर म्याग्दीका दुई सय ५० मध्ये आइतबारसम्म ७० प्रतिशत सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रको पुस्तक पुगिसकेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका जिल्ला अध्यक्ष नवराज पौडेलले शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहको शिक्षा शाखासँग समन्वय गरेर बेनीमा बिक्री केन्द्र स्थापना गरेर पुस्तक बिक्री वितरणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए। “टाढाका विद्यालयलाई प्राथमिकता दिएर गत चैत २८ गतेदेखि पुस्तक वितरण सुरु गरेका थियौँ,” उनले भने, “धवलागिरि, मालिका, रघुगङ्गा, अन्नपूर्ण र मङ्गला गाउँपालिका तथा बेनी नगरपालिकाको ७० प्रतिशत विद्यालयमा पुस्तक पुगिसकेको छ ।”

जनक शिक्षा सामग्री लिमिटेडको पोखरास्थित बिक्री केन्द्रबाट म्याग्दीका व्यवसायीले आयात गरेको पुस्तक विद्यालयलाई पालिकाअनुसार समय तालिका बनाएर बेनीबाट वितरण गरिएको हो । शिक्षा विकास तथा समन्वय एकाइको तथ्याङ्कका आधारमा प्रतिकक्षा एक हजार चार सयदेखि एक हजार नौ सय सेटको हाराहारीमा पुस्तक आयात गरिएको थियो ।म्याग्दीमा वार्षिक रु एक करोड मूल्य बराबरको पुस्तक खपत हुन्छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविका प्रअ शान्तबहादुर नेपालीले आइतबारदेखि विद्यालय भर्नासँगै विद्यार्थीलाई हातहातमा पुस्तक वितरण गर्न थालिएको बताए । बेनी नगरपालिका–१० को विद्योदय आधारभूतका प्रअ गोविन्द पौडेलले समयमै विद्यार्थीको हातमा पुस्तक उपलब्ध भएपछि सिकाइ उपलब्धि वृद्धिमा सहयोग पुग्ने बताए ।

“विद्यार्थीसँग पुस्तक भयो भने स्वअध्ययन गर्न पाउँछन्,” उनले भने, “शिक्षकले पढाएको सहजै बुझ्न र सम्झन सजिलो हुन्छ ।” यसपालि निजी छापाखानामा पनि पुस्तक छपाइ भएकाले पठनपाठन सुरु हुनुअघि नै विद्यार्थीको हातमा पुस्तक पुर्याउन सफल भएको बेनीको प्रकाश माविका शिक्षक शिव पौडेलले बताए ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?