Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

भक्तपुरको बिस्का : यस्ता छन् जात्राभित्रका जात्रा


३ वैशाख, भक्तपुर । नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले आठ रात र नौ दिनसम्म परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाउने जात्रा हो बिस्का ।

जात्रा भक्तपुरका बासिन्दाले चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म बिस्काः जात्रा मनाउँदै आएका छन् । चैत २७ गते र वैशाख ५ गते भैरवको रथ तान्नु, चैत मसान्तको दिन ल्यासिंखेलमा लिङ्गो उठाउनु र वैशाख १ गते दिनभर जात्रा गरेर साँझ लिङ्गो ढाल्ने मुख्य जात्रा हुन् ।

सुरूमा बिस्केट जात्रा लिङ्गो उभ्याउने र ढाल्ने दिनमा मात्र मनाइन्थ्यो भने पछि मल्लकालमा यो जात्रा भैरव र भद्रकालीको रथयात्रा गरी प्रत्येक टोल टोलमा शक्तिशाली देवीदेवताको पूजा गर्दै मनाउने प्रचलन संस्कृतविद् ओम धौभडेल बताउँछन् ।

भैरव भद्रकालीको रथ जुधाउने जात्रा 

भक्तपुरको प्रसिद्घ बिस्केट जात्राअन्तर्गत भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा पनि एक हो । धार्मिक तथा सांस्कृतिकरूपले अत्यन्त महत्वपूर्ण मानिने रथ जुधाउने जात्रा वैशाख १ गते लिङ्गो ढालेपछि भैरव र भद्रकालीको रथलाई गःहिटी ल्याएर जुधाएर मनाइन्छ । भैरवनाथ र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने सो जात्रालाई स्थानीय भाषामा द्योः ल्वाकिगु भनिन्छ ।

जात्रामा रथ जुधाउनुअधि बेताल देवतालाई गंहिटीमा ल्याएपछि झ्यालबाट कुखुराको बलि चढाएर रथ जुधाउने परम्परा छ । भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन्न भएपछि ती दुवै देवदेवीको पूजा गर्ने परम्परा रहेको धौभडेलले बताए ।

बाराही जात्रा 

शक्तिकी देवी अष्टमातृकामध्येकै देवी बाराही तिसा जात्रा बिस्केट जात्राकै अवसरमा मनाइने जात्रा हो । चैत मसान्तको दिन लिङ्गो उभ्याएपछि तेखाचो टोलस्थित द्योः छे अर्थात देवघरमा रहेको बाराहीको मूर्तिलाई प्यागोडा शैलीमा निर्माण गरी सजाइएको खटमा राखेर जात्रा मनाउने गरिन्छ । वंशगोपालको बाराही द्यौः छेदेखि सुरु हुने बाराही खटजात्रा सूर्यविनायकलैजाने प्रचलन छ ।

जात्रा मनाउँदा यहाँका घरघरबाट हातमा सुकुन्दा तथा चिराग बालेर जात्रासँगै जाने गर्दछन् । खटलाई बाराही मन्दिरमा राखेर पूजा गरिन्छ । भोलिपल्ट लिङ्गो ढालेपछि खटलाई टोलटोलमा लगेर पूजा गरी पुन द्योः छे मै ल्याएर विराजमान गराई जात्रा मनाउने गरिन्छ ।

इन्द्रायणी देवीको त्वारिवा जात्रा
अष्टमातृकामध्येकै इन्द्रायणी देवीको जात्रा पनि यहाँ मनाइन्छ । बिस्केट जात्रामा इन्द्रायणी देवीको खटलाई सिंगारेर इन्द्रायणी द्यो : छेबाट देवीको मूर्तिलाई खटमा राखेर दाफा भजनले गुन्जायमान गर्दै टोलटोलमा परिक्रमा गराएर जात्रा मनाइन्छ । जात्रामा स्थानीयवासीले घरघरबाट पूजाका सामग्री ल्याएर पूजा गर्ने गर्दछन् ।

महाकाली, महालक्ष्मीको जात्रा
बिस्केट जात्राकै अवसरमा वैशाख २ गते महाकाली, महालक्ष्मी जात्रा भक्तपुरमा हर्षोल्लासका साथ मनाउने गरिन्छ । भोलाछेंस्थित महाकालीको द्योः छेमा सिंगारिएको विमान आकारको खटमा महाकालीको मूर्तिलाई विराजमान गराई जात्रा सुरु हुने गर्दछ । त्यस्तै महालक्ष्मी द्योः छेबाट पनि विमान आकारकै सिंगारिएको खटमा महालक्ष्मीको मूिर्तलाई विराजमान जात्रा सुरु गरिन्छ । यो जात्रा सञ्चालन गर्दा एकातिरकाले पहेँलो र अर्को तर्फकाले रातो टोपी लगाउने प्रचलन छ । जात्रा सञ्चालन गर्दा बीचमा यो दुबै रथ एकैस्थानमा भेट भएपछि रथलाई जुधाएर जात्रा मनाउने प्रचलन रहेको छ ।

ब्रह्मायणी, महेश्वरी जात्रा
वैशाख ३ गते बिस्केट जात्राकै अवसरमा अष्टमातृकामध्येको शक्तिदेवी ब्रम्हायणी, महेश्वरी जात्रा भक्तपुरको सूर्यमढीस्थित द्योः छेबाट ब्रम्हायणीको मूर्तिीलाई खटमा राखेर खट जात्रा सुरु हुनेगर्दछ । त्यसैगरी इनाचोमा रहेको महेश्वरी द्योः छेबाट महेश्वरीको मूर्तिलाईलाई पनि सिंगारिएको खटमा राखेर जात्रा सुरु गरिन्छ । जात्रा सुरु हुँदा दबै तर्फका जात्रालुले हातहातमा चिराग लिएर खटजात्रा गरेर जात्रा मनाउने गर्दछन् । जब दुबै दत्तात्रय आइपुगेपछि दुबै रथ जुधाउने र प्रसाद तथा चिराग समेत साटासाट गरेर जात्रा मनाउने गरिन्छ ।

बटुक भैरव, ज्याठा गणेश जात्रा
बिस्केट जात्राकै अवसरमा भक्तपुरको बुलुचा टोलको बटुक भैरव र कुमाले टोलको ज्याठा गणेश जात्रा मनाउने गरिन्छ । आ–आफ्नो टोलमा सिंगारिएको खटमा देवतालाई विराजमान गराई जात्रा सुरु गरिन्छ । जात्रा मनाउने क्रममा यी दुवै खट जहाँ भेटिन्छ, त्यही खट जुधाइन्छ । यो जात्रा टोलटोलमा सञ्चालन गर्ने गरिन्छ ।

छुमा गणेश जात्रा
भक्तपुरकै चोंछे टोलबाट छुमा गणेश जात्रा वैशाख ४ गते मनाउने गरिन्छ । द्योः छेबाट छुमा गणेशको मूर्तिलाई खटमा रोखर चोछें टोलमा घुमाइन्छ । यहाँका बासिन्दाले पूजा गरी प्रसाद चढाएर जात्रा मनाउने गर्दछन् ।

सगुन जात्रा अर्थात द्यः सँग पूजा : यो जात्रालाई महत्वपूर्ण जात्राको रुपमा चिनिन्छ । यो जात्रालाई स्वङ्ग पूजाको रुपमा पनि चिनिन्छ । यो जात्रा भक्तपुरका सबै शक्ति पिठ तथा जात्रा सञ्चालनमा रहेको देवीदेवतालाई आ(आफ्नो द्यो छेंबाट बाहिर निकालेर द्योः छें प्राङ्गन, पाटी, सत्तलमा राखिन्छ । त्यसपछि घरघरबाट पूजा गरेर विभिन्न परिकार तथा सगुन चढाएर यो जात्रा मनाइन्छ ।

अन्तिम रथ तान्ने जात्रा
चैत २७ गतेजस्तै वैशाख छ गते जात्राको अन्तिम दिन गःहिटीमा रहेको भैरवको रथलाई तानेर जात्रा मनाउने गरिन्छ । त्यसदिन रथलाई तानेर टौमढीमा पुर्याएपछि राति रथबाट भैरवको मूर्तिलाई झिकेर देवघरमा लगेर विराजमान गराएसँगै बिस्केट जात्राका सबै जात्रा सम्पन्न हुने प्रचलन रहेको छ ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?