Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

पानी नपरेपछि गुजाराको चिन्ता


३ वैशाख, महोत्तरी । वैशाखे तरकारीका लहरा कक्रिँदै र सुक्दै गएपछि यहाँका तरकारी उत्पादक किसान गुजाराको चिन्ताले पिरोलिएका छन् । वैशाख लाग्ने बित्तिकै बढेको रापले उत्पादन दिनेबेलाका तरकारीका लहरा र बोट सुक्दै गएकाले किसानको चिन्ता बढेको हो ।

‘खेतबारीमा भान्टा, परवल, घिराैंला, झिगनी, रामतोरिया, करेला, फर्सी र लौकालगायत तरकारी फसल पानीको अभाबमा सुकिरहेका छन्’, भङ्गाहा–४ का किसान बहुरा महतोले भने, ‘पानी पर्दैन, इनार धमाधम सुके, अब के गरौँ ?’ बारीमा लहलह बढ्नुपर्ने तरकारीका लहरा र बोट सुकेर कक्रिँदै गएपछि गुजारा कसरी गर्ने भन्नेमा चिन्ता बढेको उनले बताए । परवल, घिरौँला, झिगनी, करेला, फर्सी र लौका यसै यामका मुख्य लहरे तरकारी बाली हुन् । खोर्सानी, भान्टा र रामतोरियाका बोट पनि फल्ने बेलामा घामको रापले कक्रिँदै गएका छन् ।

यसपाली हिउँदभर पानी नपरेकाले सिँचाइका लागि प्रयोग गरिने पानीका मुहान खोल्साखोल्सी, इनार र बोरिङ चाँडै सुकेका छन् । गत चैतमा छिटपुट पानी परेपनि त्यसयता बढेको गर्मीले माटो सुकेको कृषक महतोको भनाइ थियो ।

प्रत्येक साता सिँचाइ गर्नुपर्ने भए पनि पानीको अभावले बाली सुक्दै गएको छ । जिल्लाका बर्दिबास, भङ्गाहा, गौशाला, मटिहानी र बलवा नगरपालिकाका बस्ती तरकारी खेतीमा पकेट क्षेत्रका रूपमा मानिन्छन् । आफ्नै गाउँठाउँ भएर बग्ने रातु नदी सिँचाइका लागि प्रयोगमा ल्याउन सके बरदान सावित हुने भन्दै नदीले बर्सेनि उर्वर खेतबारी कटान गरेर थप समस्या निम्ताउने गरेको बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहाले बताए ।

स्थायी सिँचाइको अन्य कुनै व्यवस्था नभएको र अहिलेको लामो खडेरीले गाउँबस्तीका इनार धमाधम सुकेपछि पम्पसेट (इनारबाट पानी तान्ने मोटर)को काम पनि सकिएको सम्बद्ध किसानको किसानको गुनासो थियो । हिउँदे वर्षा नहुँदा यसपाली चाँडै पानीका मूहान सुकेपछि सिँचाइ मात्र नभइ खानेपानीको समेत सङ्कट बढ्ने सर्वसाधारणले बताए । नागरिकको समस्या सरकार र सम्बद्ध निकायले बुझिदिनुपर्ने उनीहरूको माग थियो ।

महोत्तरीमा रहेको करिब ७० हजार हेक्टर जग्गामध्ये हालसम्म छ हजार सात सय ९५ हेक्टरमा मात्र स्थायी सिँचाइको सुविधा पुगेको छ । माटोमा चिस्यान नहुँदा बाँझो जग्गा खनजोत गर्न पनि नपाइएको बर्दिबास–१२ विजलपुराका किसान रामविलास सिंहले बताए । जिल्लाको १० हजार हेक्टरमा व्यावसायिकरुपमै तरकारी खेती हुँदै आएको महोत्तरीस्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?