काठमाडौँ।नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते आफूलाई हिंसात्मक गतिविधिमार्फत प्रधानमन्त्रीबाट अपदस्थ गरिएको दाबी गर्दै त्यसबेला राज्यका सुरक्षा संयन्त्रले साथ नदिएको बताएका छन् ।
सम्पादकहरूसँग भएको एक अन्तरक्रियामा अध्यक्ष ओलीले भदौ २३ र २४ गतेका घटनालाई पूर्वयोजनासँग जोड्दै आफूले सम्भावित जोखिमबारे जानकारी पाएको भएपनि राज्य संयन्त्रबाट सहयोग नपाएको बताएका छन् । उनले बंगलादेश र श्रीलंकाका घटनाको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै परिस्थिति निर्माण गर्ने तयारी पहिलेदेखि नै रहेको दाबी गरेका छन् ।
उनले आफूलाई घटनाबारे जानकारी हुँदाहुँदै पनि प्रधानमन्त्रीका रूपमा रोकथाम गर्न नसकेको प्रसंग सुनाउँदै भने , “अगाडिदेखिको एउटा प्लानिङ थियो । बङ्गलादेश यत्तिकै भएको होइन, श्रीलङ्का यत्तिकै भएको होइन, श्रीलङ्का बनाइदिन्छु, बङ्गलादेश बनाइदिन्छु अगाडिदेखिको यहाँ तयारी छँदै थियो, नदेखेको पनि होइन । अघि सोध्नुभाथ्यो एउटा, कसरी थाहा भएन, अरू कसैले पनि सोध्नुभाथ्यो उहाँले सोध्नुभाथ्यो, कसरी थाहा भएन? अष्टमीका दिन एउटा बोको राख्या हुन्छ, त्यसलाई पर्सिन्छन्, खुकुरी पनि उसले देख्या हुन्छ, मार हान्न खोज्या पनि बुझ्या हुन्छ, गर्छ के त त्यसले? गर्छ के? थाहा पाएपछि गर्छ के? राज्य संयन्त्रले साथ नदिएपछि प्राइम मिनिस्टरले गर्छ के ?”
ओलीले उक्त प्रसंगलाई आफ्नो व्यक्तिगत पद वा राजनीतिक भविष्यसँग मात्र जोडेर नहेर्न आग्रह गर्दै यसलाई मुलुक र जनताको भविष्यसँग सम्बन्धित विषय भएको बताएका छन् ।
“म के भन्छु भने म एउटाको कुरो होइन, नेकपा एमालेको २/४ लाख सदस्यको कुरा होइन, यो नेपालको कुरो हो, ३ करोड जनताको कुरा हो, तिनका सन्ततिको कुरा हो, तिनको भविष्यको कुरा हो। एकछिनको कुरा होइन । र मैले मेरा लागि गर्नुपर्ने केही पनि होइन, म त मर्न तयार भएर हिँडेको मान्छे हुँ ।” उनले भने।
तर राज्यका कुन निकायले कुन सूचना दिएनन् वा कुन अवस्थामा सुरक्षा संयन्त्रले सहयोग गरेन भन्ने विषयमा उनले विस्तृत विवरण दिएनन् । उनको भनाइले सुरक्षा संयन्त्रको भूमिकामाथि प्रश्न उठाए पनि त्यसबारे सम्बन्धित निकायको औपचारिक धारणा र घटनाक्रमका अभिलेख आवश्यक पर्ने देखिन्छ ।
प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार