काठमाडौं । भन्सारबाट वैधानिक रूपमा आयात भएका सामान ढुवानीकै क्रममा अवैध वस्तुसँग मिसाउने सम्भावना रोक्न सरकारले भन्सार सूचना प्रणाली र सवारीसाधन अनुगमन प्रणाली (भीसीटीएस) लाई एकीकृत गर्ने प्रश्ताव अघि सारेको छ ।
अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले मंगलवार प्रतिनिधि सभाको अर्थ समितिमा विधेयकमाथिको दफावार छलफलका क्रममा भन्सार प्रज्ञापनपत्र स्वीकृत हुनेबित्तिकै त्यसको विवरण स्वतः भीसीटीएसमा प्रविष्ट हुने व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले भन्सारबाट वैधानिक रूपमा सामान लिएर निस्किएका सवारीसाधनले बाटोमा अवैध सामान थप्ने वा वैध सामानसँग मिसाएर ढुवानी गर्ने गरेको उदाहरण प्रश्तुत गरेका छन् । भैरहवा भन्सारबाट सामान लिएर आएको गाडीमा बुटवलमा चोरीपैठारीका जुत्ता थपेर काठमाडौंको थानकोटमा पक्राउ परेको घटनालाई उनले यसैको उदाहरणका रूपमा उल्लेख गरेका छन् । यस्ता गतिविधि नियन्त्रण गर्न भन्सारबाट आएका सामानको विवरण र ढुवानी साधनको विवरणबीच स्वचालित सम्बन्ध स्थापित गर्नुपर्ने उनको भनाइ छ । सचिव उपाध्यायले आन्तरिक उत्पादनबाट बजारमा पठाइने वस्तुका लागि भीसीटीएसमा विवरण प्रविष्ट गर्ने व्यवस्था कायम राख्दै भन्सारबाट आयात हुने वस्तुको हकमा भन्सारको अनलाइन सूचना प्रणालीसँगै आवद्ध गर्नुपर्ने प्रश्ताव गरेका छन् । उनले चोरीपैठारी र भीसीटीएसमा विवरण प्रविष्ट नगर्ने विषय फरक रहेको पनि स्पष्ट पारेका छन् । भन्सारबाट वैधानिक रूपमा आएका सामानको विवरण भीसीटीएसमा प्रविष्ट नगरेमा पहिलोपटक ५० हजार र त्यसपछि एक लाख रुपैयाँ जरिवाना गर्ने व्यवस्था प्रक्रियागत विषय भएको उनले बताएका छन् । चोरीपैठारीमा संलग्नलाई भने छुट्टै कानूनी व्यवस्थाअनुसार कारबाही हुने उनको भनाइ छ ।
त्यस्तै, भीसीटीएससम्बन्धी मापदण्ड कार्यान्वयन गर्नुअघि व्यवसायीलाई पर्याप्त समय दिएर जानकारी गराउनुपर्नेमा पनि उनले जोड दिएका छन् । आन्तरिक राजश्व विभागले मापदण्ड तयार गरी कार्यान्वयन हुनुभन्दा निश्चित दिनअघि नै सार्वजनिक गर्ने व्यवस्था कानुनमा राख्नुपर्ने उनको सुझाव छ ।
उनले भने, ‘भेहिकल ट्रयाकिङ सिस्टमबारे स्पष्ट पार्न चाहन्छु । यो प्रणाली भन्सारबाट वैध रूपमा प्रज्ञापनपत्रमार्फत आएका सामानको आन्तरिक ढुवानीका क्रममा बीच बाटोमा अन्य सामान थप्ने वा अनलोड गर्ने जस्ता गतिविधि नियन्त्रण गरी ढुवानीलाई ट्रयाक गर्न विकास गरिएको हो । चोरीपैठारीबाट आएका सामानको हकमा छुट्टै कानूनी व्यवस्था र कडा कारबाहीको प्रावधान छ । भेहिकल ट्रयाकिङ सिस्टममा जरिवाना भनेको भन्सारबाट वैध रूपमा आएका सामानको विवरण प्रणालीमा प्रविष्ट नगरेको अवस्थामा पहिलो पटक ५० हजार र त्यसपछि एक लाख रुपैयाँ लाग्ने प्रक्रियागत जरिवाना हो । यी दुई विषयलाई एउटै रूपमा हेर्नु हुँदैन । यस प्रणालीलाई थप प्रभावकारी बनाउन भन्सार प्रज्ञापनपत्र अनलाइन प्रणालीसँग भेहिकल ट्रयाकिङ सिस्टम आवद्ध गर्न आवश्यक छ । भन्सार प्रज्ञापनपत्र स्वीकृत हुनेबित्तिकै त्यसको विवरण भेहिकल ट्रयाकिङ सिस्टममा स्वतः प्रविष्ट हुने व्यवस्था गर्न सकिन्छ । आन्तरिक उत्पादनका सामानका हकमा भेहिकल ट्रयाकिङ सिस्टममा विवरण प्रविष्ट गर्ने र भन्सारबाट आएका सामानका हकमा भन्सार सूचना प्रणालीसँग आवद्ध गरी अनुगमन गर्ने व्यवस्था उपयुक्त हुन्छ । त्यसैले उपदफा ५ मा वेबमा आधारित अनलाइन ढुवानी अनुगमन प्रणालीलाई भन्सार सूचना प्रणालीसँग आवद्ध गरिने व्यवस्था थप्न प्रश्ताव गर्दछु । त्यसैगरी, मापदण्ड तयार गरी लागू गर्दा आन्तरिक राजस्व विभागले पर्याप्त समयअघि प्रकाशित गरी सम्बन्धित सबैलाई पूर्वजानकारी दिने व्यवस्था राख्नु उपयुक्त हुन्छ । हरेक मापदण्ड राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था गर्दा प्रक्रिया अनावश्यक रूपमा लामो हुन सक्छ । अतः भेहिकल ट्रयाकिङ सिस्टम र भन्सार सूचना प्रणालीबीच एकीकरण गर्ने तथा मापदण्ड पूर्वप्रकाशन गरी सरोकारवालालाई सुसूचित गर्ने व्यवस्था समावेश गर्न माननीय सदस्यहरूमा अनुरोध गर्दछु ।’
प्रतिनिधि सभाको अर्थ समितिमा मंगलबार ‘अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि दफावार छलफल भएको हो ।
प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलवार