काठमाडौँ । जापानका लागि नेपालको प्रश्तावित राजदुत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् ।
संसदीय सुनुवाई समितिको सोमवारको बैठकमा सभापति वोधनारायण श्रेष्ठले प्रश्तावित राजदुत थापाले नाम फिर्ता लिनुभएको जानकारी दिएका छन् । उनकाअनुसार थापाले आफूविरुद्ध उठेको स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) सम्बन्धी प्रश्नका कारण राजदुतका लागि दिएको आफ्नो नाम फिर्ता लिने समितिलाई जानकारी दिएका हुन् ।
सभापति श्रेष्ठले थापाको व्यक्तिगत तथा व्यावसायिक प्रोफाइल राम्रो भएपनि स्वार्थको द्वन्द्वको विषय उठेकाले उक्त निर्णय लिनुपरेको बताएका छन् । थापाले आफूलाई कानूनी रूपमा राजदुत बन्न रोकावट नहुने भएपनि व्यक्तिगत विषय जोडिएकाले नाम फिर्ता लिने निर्णय गरेको बताएको सभापति श्रेष्ठले समितिलाई जानकारी दिएका छन् । थापाको परिवार हाल जापानको स्थायी बासिन्दा रहेकोले समिति सदस्यहरुले प्रश्न उठाएका थिए ।
प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार