काठमाडौँ ।राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले कार्तिकको १२, १३ र १४ गते उच्च शतर्कता अपनाउन आग्रह गरेको छ ।
बंगालको खाडीमा विकसित चक्रवात भारतको आन्ध्र प्रदेश हुँदै जमिनमा प्रवेश गरेपछि कमजोर भएर न्युन चापीय प्रणालीमा परिणत भएको र त्यसको प्रभाव नेपालमा पर्ने सम्भावना रहेको भन्दै प्राधिकरणले यस्तो आग्रह गरेको हो । प्राधिकरणका प्रवक्ता तथा उपसचिव रामबहादुर केसीले हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले १२, १३ र १४ गते पर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह गरिएको जानकारी दिएका छन् । बिहीवार मौसमको सम्भावित प्रभाव र विपद् प्रतिकार्य तयारीबारे जानकारी दिँदै उनले जोखिमयुक्त क्षेत्रमा रहेका मानिसलाई समयमै सुरक्षित स्थानमा सार्न तथा हिमाली क्षेत्रमा गएका पर्यटकलाई सुरक्षित स्थानमा फर्काउन सम्बन्धित निकायलाई निर्देशन दिइएको बताएका छन् ।
उनकाअनुसार मौसमसम्बन्धी विशेष बुलेटिन जारी भइसकेको छ भने त्यसका आधारमा पूर्वसूचना तथा सचेतनामूलक सन्देश प्रवाह गरिएको छ । नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, हिमाली जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न भनिएको उनले बताए । प्रवक्ता केसीले अहिले धानबाली भित्र्याउने समय भएकाले काट्न बाँकी रहेको धान १२ गतेअघि नै काटेर सुरक्षित रूपमा भित्र्याउन आग्रह गरेका छन् । १२, १३ र १४ गते धान काट्ने तथा भित्र्याउने काम गर्दा प्रतिकूल मौसमका कारण क्षति हुन सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । सम्भावित वर्षाका कारण पहिरो तथा आकस्मिक बाढीको जोखिमसमेत हुन सक्ने भएकाले जोखिमयुक्त बस्तीमा रहेका नागरिकलाई विपद् आउनुअघि नै सुरक्षित स्थानमा सार्न स्थानीय तह, जिल्ला प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिइएको उनले जानकारी दिएका छन् । सम्भावित विपद्को प्रतिकार्यका लागि तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको छ । हेलिकप्टर, खोज तथा उद्धार सामग्री र उद्धारमा खटिने जनशक्तिलाई आवश्यकताअनुसार परिचालन गर्न सकिने गरी तयारी गरिएको उनले बताए । प्राधिकरणको सिचुएसन रुम आगामी ३६ घण्टासम्म सक्रिय रहने तथा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र र जिल्लास्थित आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई पनि सक्रिय बनाइएको उहाँले जानकारी दिएका छन् । जोखिमको अवस्था विश्लेषण गर्न तथा पूर्वसूचना र चेतावनी सम्बन्धित समुदायसम्म पुर्याउन केन्द्रदेखि स्थानीय तहसम्म समन्वय भइरहेको उनको भनाइ छ । केसीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै अत्यावश्यक कामबाहेक १२, १३ र १४ गते यात्रा नगर्न तथा हिमाली क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेका छन् । मौसमसम्बन्धी अद्यावधिक जानकारीका लागि मौसम पूर्वानुमानसम्बन्धी हेल्पलाइन ११५५ मा सम्पर्क गर्न सकिने उनले बताएका छन् ।
उनले भने , ‘बङ्गालको खाडीमा विकसित चक्रवात भारतको आन्ध्र प्रदेश हुँदै जमिनमा प्रवेश गरेपछि न्यून चापीय प्रणालीमा परिणत भई कमजोर हुँदै गएको छ । यद्यपि, यसको प्रभाव नेपालमा आज साँझदेखि पर्ने सम्भावना रहेकाले विभिन्न स्थानमा वर्षा र हिमाली क्षेत्रमा हिमपात शुरु भएको छ । मौसम पूर्वानुमानअनुसार हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम उच्च रहेकाले मंसिर १२, १३ र १४ गते पर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह गरिएको छ। जोखिमपूर्ण क्षेत्रमा रहेका व्यक्तिहरूलाई तत्काल सुरक्षित स्थानमा सार्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । धानबाली भित्र्याउने समय भएकाले सम्भव भएसम्म मंसिर १२ गतेअघि नै बाली काटेर सुरक्षित राख्न र त्यसपछिका दिनमा जोखिमपूर्ण अवस्थामा कृषि कार्य नगर्न अनुरोध गरिएको छ। साथै, पहिरो र आकस्मिक बाढीको सम्भावना रहेकाले जोखिमयुक्त बस्तीका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्न स्थानीय तह तथा सुरक्षा निकायलाई निर्देशन दिइएको छ । विपद् व्यवस्थापनका लागि तीनवटै सुरक्षा निकाय, हेलिकप्टर, खोज तथा उद्धार टोली र आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई तयारी अवस्थामा राखिएको छ। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको सिचुएसन रुम पनि आगामी ३६ घण्टासम्म सक्रिय रहनेछ । आम नागरिकलाई यस अवधिमा अनावश्यक यात्रा नगर्न, मौसमसम्बन्धी पूर्वसूचना पालना गर्न र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ ।’
विपद्को जोखिम देखिएमा वा सहायता आवश्यक परेमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन आग्रह गर्दै उनले पूर्वसूचना र चेतावनीको पालना गर्न के मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिने बताएका छन् ।
प्रकाशित मिति: १२ कार्तिक २०८३, बिहीबार