काठमाडौँ ।उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ नहुने बताएका छन् ।
बुधवार निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने प्रतिवद्धता कार्यान्वयन गर्नुपर्ने बताएका छन् । घिसिङले आफ्नो पार्टीले उठाएका मुद्दा कार्यान्वयन भए स्थानीय तहको निर्वाचनमा दलको चुनाव चिह्नभन्दा स्वतन्त्र उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् । उनले उज्यालो नेपाल पार्टी निर्वाचनबाट नभाग्ने स्पष्ट पार्दै गैरदलीय निर्वाचनका लागि सरकारलाई दबाब दिने बताएका छन् । घिसिङले रास्वपाले आफ्नो घोषणापत्र र प्रतिबद्धतापत्रमा स्थानीय तहको निर्वाचन गैरदलीय बनाउने विषय उल्लेख गरेको दाबी गरेका छन् । जनतासँग प्रत्यक्ष जोडिने शिक्षा, स्वास्थ्य, पूर्वाधार र दैनिक सेवा प्रवाहका विषयमा स्थानीय जनप्रतिनिधि राजनीतिक दलभन्दा जनताप्रति जवाफदेही हुनुपर्ने उनको भनाइ छ । दलीय टिकट वितरणमा आर्थिक चलखेल हुने र जनप्रतिनिधि पार्टीको निर्देशनमा चल्नुपर्ने अवस्था अन्त्य गर्न स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने उनले बताएका छन् । उनले आगामी निर्वाचनअघि नै आवश्यक कानून संशोधन र नियम निर्माण गरी उक्त व्यवस्था कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । त्यस्तै, विदेशमा रोजगारी, अध्ययन वा अन्य कारणले रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने विषय पनि आफ्नो पार्टीको प्रमुख प्रतिवद्धता भएको घिसिङले बताएका छन् । अघिल्लो निर्वाचनका बेला अन्तरिम सरकारसँग समयको अभाव, संसद नहुनु र कानुनी प्रक्रियाका कारण विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न कठिनाइ भएको उनको भनाइ छ ।
उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले घोषणापत्र र प्रतिवद्धतापत्रमा स्थानीय तहको निर्वाचन गैरदलीय बनाउने तथा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषय उठाएको थियो । यही प्रतिवद्धताका आधारमा जनताले ठूलो समर्थन दिएका छन् । तर सरकार बनेको लामो समय बितिसक्दा पनि यी विषय कार्यान्वयनका लागि ठोस पहल भएको छैन । स्थानीय तहका जनप्रतिनिधि जनताप्रति प्रत्यक्ष जवाफदेही हुनुपर्छ । दलीय हस्तक्षेप, टिकट वितरणमा हुने आर्थिक चलखेल र भ्रष्टाचार न्युनिकरण गर्न स्थानीय निर्वाचन गैरदलीय हुनुपर्छ भन्ने हाम्रो माग हो । त्यसैले आवश्यक ऐन संशोधन तथा नियम निर्माण गरी आगामी निर्वाचनअघि नै यो व्यवस्था लागू गर्न सरकारसँग जोडदार माग गर्दछौँ । त्यसैगरी, विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्छ । अन्तरिम सरकारका बेला समय अभाव, संसद् नहुनु र कानुनी जटिलताका कारण यो विषय अघि बढ्न सकेन । तर अहिले सरकारसँग आवश्यक बहुमत र संसद भएकाले कार्यान्वयन नगर्नुपर्ने कुनै बहाना छैन । हामी यी दुवै विषय कार्यान्वयनका लागि सरकारलाई दबाब दिन्छौँ । यद्यपि, गैरदलीय निर्वाचन नभए पनि हामी निर्वाचनबाट भाग्दैनौँ । स्थानीय तहको निर्वाचनमा उज्यालो नेपाल पार्टीले जनताका लागि काम गर्नसक्ने, राम्रो विगत भएका र सक्षम व्यक्तिलाई उम्मेदवार बनाउनेछ । त्यस्ता व्यक्ति पार्टीभित्रका वा बाहिरका जोसुकै हुन सक्छन् । तर अहिले नै उम्मेदवारीको टिकट वितरण गर्ने पक्षमा हामी छैनौँ। निर्वाचनअघि गैरदलीय प्रणाली लागू हुनुपर्छ भन्ने हाम्रो माग हो । श्रम संस्कृति पार्टीसँग एकताको विषयमा अहिलेसम्म कुनै संवाद वा भेटघाट भएको छैन । भविष्यमा एकता हुन सक्ने सम्भावना भए पनि त्यसका लागि विचार र एजेन्डामा सहमति हुन आवश्यक छ । अहिले हामी आफ्नै पार्टीलाई बलियो बनाएर अघि बढिरहेका छौँ । उज्यालो नेपाल पार्टीको मुख्य उद्देश्य सुशासन कायम गर्ने, सामाजिक न्याय सुनिश्चित गर्ने र हरित क्रान्तिमार्फत देशलाई समृद्ध बनाउने हो। हामी भाषणभन्दा काममा विश्वास गर्छौँ । देशमा आर्थिक रूपान्तरण, विभेदको अन्त्य र समृद्धि हासिल गर्न हामी प्रतिवद्ध छौँ ।’
उनले अहिले संसद र सरकार दुवै रहेकाले उक्त विषय कार्यान्वयन गर्न कुनै बहाना बनाउन नहुने बताएका छन् । स्थानीय तहको निर्वाचनमा उज्यालो नेपाल पार्टीले कस्ता उम्मेदवार उठाउँछ भन्ने प्रश्नमा घिसिङले विगतको कार्यसम्पादन राम्रो भएका र जनतालाई सेवा दिन सक्ने व्यक्तिलाई प्राथमिकता दिने बताएका छन् । त्यस्ता व्यक्ति पार्टीभित्रका वा बाहिरका जोसुकै हुन सक्ने उनले स्पष्ट पारेका छन् । श्रम संस्कृति पार्टीसँग एकता गर्ने विषयमा भने अहिलेसम्म कुनै संवाद वा भेटघाट नभएको उनले बताए । भविष्यमा एकताका लागि विभिन्न दलसँग छलफल हुन सक्ने भएपनि अहिले आफ्नो पार्टीलाई अगाडि बढाउने उनको भनाइ छ ।
प्रकाशित मिति: ११ कार्तिक २०८३, बुधबार