काठमाडौं । मङ्गोलियामा पछिल्लो केही महिनायता आवासीय क्षेत्रमा भालु देखिने क्रम बढेको छ ।
राजधानी उलान बटोरलगायत विभिन्न प्रान्तमा भालुको उपस्थिति र तिनले पशुधनमाथि गरेको आक्रमणका घटनाले स्थानीय जनजीवन त्रसित बनेको छ । प्रशासनले नागरिकहरूलाई सावधानी अपनाउन र सुरक्षाका उपायहरू अवलम्बन गर्न सार्वजनिक सूचना जारी गरेको छ । मङ्गोलियाको विभिन्न प्रान्तहरूमा भालुले परम्परागत आवास ‘गेर’ र स्थानीय घरहरूमा क्षति पु¥याइरहेका हृदयविदारक भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । विशेषगरी केन्टी प्रान्तमा अगस्टको अन्त्ययता मात्रै १९२ पटक भालु देखिएको वातावरण विभागले जनाएको छ । हालैका दिनमा भालुको आक्रमणका श्रृङ्खलावद्ध घटनाहरू सार्वजनिक भएका छन् । सोमवार मात्रै अर्खांगाई प्रान्तको खैरखान सुममा एउटा भालुले एक गोठालाका दुईवटा कुकुरलाई घाइते बनाएको र आठवटा बाख्रा मारेर खाएको छ । त्यसअघि सेलेन्गे प्रान्तको तुशिग सुममा अर्को भालुले आठवटा गाई र एक बाच्छो मारेको थियो । राजधनी उलान बटोरका केही क्षेत्रमा समेत भालु देखिएपछि प्रशासनले सहरवासीलाई समेत सतर्क रहन आग्रह गरेको छ ।
वन्यजन्तु विज्ञहरूकाअनुसार यस्ता घटनाहरू बढ्नुमा जलवायु परिवर्तन, प्राकृतिक बासस्थानमा देखिएको खाद्य संकट र प्राकृतिक स्रोतको अत्यधिक दोहन प्रमुख कारक हुन् । भालुहरू खानेकुराको खोजीमा बस्ती पस्न बाध्य भइरहेको उनीहरूको विश्लेषण छ । प्रशासनले सम्भावित जोखिम कम गर्न फोहोर व्यवस्थापनमा ध्यान दिन र जंगली जनावरको नजिक नजान स्थानीयलाई सचेत गराएको छ ।
प्रकाशित मिति: २२ आश्विन २०८३, बिहीबार