काठमाडौं ।नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन (हिन्दु) राष्ट्रका रूपमा पुनःपरिभाषित गर्ने एजेण्डा पार्टीले बोक्नुपर्ने प्रश्ताव अघि सारेका छन् ।
काठमाडौंको खुलामञ्चमा जारी पार्टीको १५ औँ महाधिवेशनको बन्दसत्र समापन कार्यक्रममा बोल्दै उनले यस्तो प्रश्ताव अघि सारेका हुन् । सभापति शर्माले बहुसंख्यक नेपालीको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक चेतनाको कदर गर्दै नेपालको मौलिक पहिचान र राष्ट्रिय एकता बलियो बनाउन नेपाललाई हिन्दु राष्ट्र बनाउनुको विकल्प नरहेको बताएका छन् । उनले संविधान सभामा उठ्दै नउठेको तथा जनताले माग्दै नमागेको धर्मनिरपेक्षतालाई संविधानमा कुटिलतापूर्वक समावेश गरी प्रजातन्त्रमाथि धोका दिइएको बताएका छन् । उनले धर्मनिरपेक्षताका कारण मुलुकको मौलिकता र राष्ट्रिय एकतामा असर परेको दाबी गर्दै यसबारे देशसँग माफी माग्नुपर्ने समेत बताएका छन् । उनले धार्मिक स्वतन्त्र राज्यको अवधारणा कुनै धर्म वा सम्प्रदायको पक्ष वा विपक्षमा नभएको स्पष्ट पार्दै नेपालको ऐतिहासिक निरन्तरता र मौलिक पहिचानको सम्मानका रूपमा लिनुपर्ने पनि बताएका छन् । उनले राजनीतिक स्थायित्व, शान्ति, सन्तुलन र राष्ट्रिय एकताका लागि २०४७ सालको संविधानका मूलभूत सबल पक्षलाई वर्तमान राजनीतिक परिवेशअनुकूल परिमार्जनसहित पुनःस्थापित गर्न समेत काँग्रेसले पहल गर्नुपर्ने समेत बताएका छन् । विगतका राजनीतिक प्रयोगले मुलुकमा अस्थिरता र वैदेशिक हस्तक्षेप बढाएको भन्दै नेपालको भूराजनीतिक संवेदनशीलता र सनातन परम्परालाई ध्यानमा राखेर लोकतान्त्रिक व्यवस्थाभित्र सबै शक्ति र मौलिकतालाई सन्तुलित गर्ने आधार निर्माण गर्न महाधिवेशनबाट निर्वाचित हुने नेतृत्वले भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।
उनले भने,‘नेपाल प्राचीनकालदेखि सनातन सभ्यताको उद्गम केन्द्र र संरक्षक भूमि हो । राष्ट्रियताको जगलाई बलियो बनाउन बहुसंख्यक नेपाली जनताको धार्मिक, सांस्कृतिक र आध्यात्मिक चेतनाको कदर गर्दै नेपाललाई सनातन धार्मिक स्वतन्त्र राज्यको रूपमा पुनः परिभाषित गरिनुपर्छ । संविधान सभामा उठ्दै नउठेको, जनताले माग्दै नमागेको धर्मनिरपेक्षतालाई संविधानमा कुटिलतापूर्वक समावेश गरियो । देश, जनता र प्रजातन्त्रमाथि धोका दिइयो । देशका सामु माफी माग्नुपर्दछ । यसले नेपालको मौलिकता र एकतालाई क्रमशः खण्डित गर्दै लगेको छ । धर्मनिरपेक्षताको आवरणमा भइरहेको सांस्कृतिक अतिक्रमण, पहिचानको सङ्कट र सामाजिक सद्भावमा आएको ह्रासलाई रोक्न तथा राष्ट्रिय सुरक्षा र सामाजिक स्थिरताका लागि समेत सनातन धार्मिक स्वतन्त्र राज्यको पुनरुत्थान अनिवार्य भइसकेको छ । यो विचार कुनै धर्मविशेषप्रतिको अनुराग तथा कुनै धर्म सम्प्रदायप्रतिको अनादरता होइन । यो नेपालको मौलिक पहिचान र ऐतिहासिक निरन्तरताको उच्चतम् सम्मान हो । सबै सबैसँगै हिँडेर देशलाई समृद्ध बनाउने अभियान हो । यसै सन्दर्भमा देशको राजनीतिक स्थायित्व, शान्ति, सन्तुलन र राष्ट्रिय एकताको रक्षाका लागि २०४७ सालको संविधानका मूलभूत सबल पक्षहरूलाई वर्तमान राजनीतिक परिवेशअनुरूप परिमार्जनसहित ब्युँताउनुपर्ने अनिवार्य ऐतिहासिक आवश्यकता देखिएको छ । विगतका हचुवा राजनीतिक प्रयोगहरूले मुलुकमा चरम अस्थिरता र वैदेशिक हस्तक्षेप मात्र बढाएको तथ्य जगजाहेर छ । नेपालको विशिष्ट भूराजनीतिक संवेदनशीलता र सनातन परम्परालाई दृष्टिगत गर्दै मुलुकमा सबै शक्ति तथा मौलिकतालाई सन्तुलित ढङ्गबाट हिँडाउन सक्नेगरी फराकिलो आधार निर्माण गर्न प्रजातान्त्रिक व्यवस्थामा मात्र सम्भव छ । यसका लागि नेपाली काँग्रेस तयार हुनुपर्छ । परिमार्जित संवैधानिक सन्तुलनले मात्रै देशलाई सम्भावित राजनीतिक दुर्घटनाबाट जोगाउन र राष्ट्रिय सार्वभौमिकतालाई अक्षुण्ण राख्न सक्दछ । यो तथ्यलाई बुझ्न जति ढिला हुन्छ, मुलुकले सार्वभौमससत्ता र प्रजातन्त्रको उन्नत अभ्यास तथा आर्थिक समृद्धितर्फको यात्रा त्यति नै सुस्त र जटिल हुँदै जानेछ ।’
उनले विगतमा पार्टीका मूलभूत सिद्धान्त नै अवलम्बन नगरिएको देखिएको उल्लेख १५ औँ महाधिवेशनले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ ।
प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार