काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले परम्परागत राजनीतिक दलहरूप्रति नागरिकमा बढ्दो वितृष्णाको मुख्य कारण समाजमा मौलाएको उपभोक्तावादी प्रवृत्ति र आम्दानी–खर्चबीचको खाडल भएको बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले विकासका भौतिक पूर्वाधार मात्रै जनताको मत जित्न पर्याप्त नहुने भन्दै वामपन्थी आन्दोलनलाई नयाँ वैचारिक धरातलमा पुनर्गठित गर्नुपर्नेमा जोड दिएका छन् । महासचिव पोखरेलले नेकपा एमालेले विगतमा गरेका सडक, पुल, भवन निर्माण र सामाजिक सुरक्षा भत्ताजस्ता गौरवपूर्ण कार्यहरूको चर्चा गरे पनि जनताको बदलिँदो मनोविज्ञान बुझ्न चुकेको स्वीकार गरेका छन् । उनकाअनुसार आधुनिक समाजमा पूर्वाधार विकासले निम्त्याएको उपभोक्तावाद चरम अवस्थामा पुगेको छ । यसले नागरिकको खर्च गर्ने आकांक्षा बढाए पनि आम्दानीको स्रोत सोही अनुपातमा बढ्न नसक्दा समाजमा आर्थिक असन्तुलन पैदा भएको छ । वामपन्थी आन्दोलनलाई पुनर्जीवित गर्न इतिहासको गौरवगाथाबाट शिक्षा लिँदै वर्तमानका चुनौतीलाई सम्बोधन गर्नेगरी वैचारिक संश्लेषण आवश्यक रहेको उनको तर्क छ । आन्दोलनको ध्रुवीकरण र वैचारिक पुनर्गठन नै भविष्यको राजनीतिक यात्राको मुख्य आधारशिला बन्नुपर्नेमा उनले जोड दिएका छन् ।
महासचिव पोखरेलले भने, ‘हाम्रो आन्दोलनको ध्रुवीकरणको आधार वैचारिक पुनर्गठन हो । इतिहासबाट शिक्षा लिँदै आजका चुनौती र भविष्यका आवश्यकतालाई केन्द्रमा राखेर नयाँ वैचारिक संश्लेषणसहित आन्दोलनलाई पुनर्गठित गर्नुपर्छ । यसले नै नेपालको वामपन्थी आन्दोलनलाई बलियो बनाउन सक्छ । हामीले विगतमा सडक, पुल, भवन निर्माणदेखि सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा र योगदानमा आधारित सामाजिक सुरक्षाजस्ता महत्वपूर्ण काम गरेका छौँ । त्यसमा गर्व गर्नुपर्छ । तर यति मात्र पर्याप्त छैन । आज नागरिकको मनोविज्ञान, आवश्यकता र चुनौती बदलिएका छन् । पुराना राजनीतिक दलप्रतिको असन्तुष्टि केवल सामाजिक सञ्जाल वा एल्गोरिदमका कारण होइन । हाम्रो समाजमा उपभोक्तावाद बढ्दै गएको छ, खर्च गर्ने अवसर विस्तार भएका छन् तर आम्दानीका स्रोत त्यही अनुपातमा विस्तार हुन सकेका छैनन् । आम्दानी र खर्चबीचको यो बढ्दो अन्तरले सामाजिक प्रतिष्ठाका लागि अनावश्यक खर्च गर्ने प्रवृत्ति बढाएको छ । त्यसले भ्रष्टाचार, अपराधीकरण, पैतृक सम्पत्तिको क्षयीकरण, डनगिरी र सामाजिक अराजकता जन्माइरहेको छ । त्यसैले अबको वाम आन्दोलनले यिनै नयाँ सामाजिक यथार्थ र चुनौतीलाई केन्द्रमा राखेर आफ्नो विचार, नीति र संगठनको पुनर्गठन गर्नुपर्छ ।’
महासचिव पोखरेलले राजनीतिक दलहरूले केवल भौतिक विकासमा मात्र केन्द्रित नभई नागरिकको बदलिँदो जीवनशैली र आर्थिक मनोविज्ञानलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार