काठमाडौँ।होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपाल भ्रमणको लागि सुरक्षित रहेको सन्देश तत्काल विश्वभर फैलाउन आवश्यक रहेको बताएका छन् ।
भोटेकोशी बाढीले नेपालको पर्यटकीय क्षेत्रमा नकरात्मक असर व्यहोनुपरेकोले त्यसको पुनरुत्थानका लागि तत्काल प्रवद्र्धन अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । कुराकानीमा उनले नेपाल भ्रमणको लागि सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन आवश्यक रहेको उल्लेख गरेका छन् । नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि भारत र चीन लगायतका प्रमुख पर्यटकीय बजारमा तत्काल प्रवद्र्धन अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । भोटेकोशी करिडोरमा आएको विपत्तिले अन्तर्राष्ट्रियस्तरमा नेपालबारे नकारात्मक सन्देश जानसक्ने भएकोले त्यसलाई चिर्न आवश्यक रहेको उनको भनाई छ । उनले विपद् प्रभावित क्षेत्र र सामान्य अवस्थामा रहेका पर्यटकीय गन्तव्यबीचको भिन्नता स्पष्ट पार्न आवश्यक रहेको बताएका छन् । अध्यक्ष साहले काठमाडौं, चितवन र पोखरालगायतका प्रमुख पर्यटकीय गन्तव्य सामान्य अवस्थामा रहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सरकार, नेपाल पर्यटन बोर्ड, विदेशस्थित नेपाली दूतावास र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्नेमा जोड दिएका छन् । उनले दशैं–तिहारको पर्यटकीय सिजनअघि नै भारत र चीनमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् । नेपाल पर्यटन बोर्डको मुख्य जिम्मेवारी पर्यटन प्रवद्र्धन र सहजीकरण भएकाले विपद्पछिको अवस्थामा यस्ता कार्यक्रमलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘नेपाल टुरिजम बोर्डले दशैं–तिहार अगाडि नै भारत र चीनमा गएर नेपाल प्रमोसन गर्नुपर्ने आवश्यकता छ । भोटेकोसीको करिडोरमा यो विपत्ति भएको हो, नेपालभरि त होइन । नेपाल काठमाडौं, चितवन, पोखरा लगायत त सबै नर्मल नै छ । यो मेसेज हामीले स्ट्रङली दिनुपर्छ । हाम्रा संसारभरि छरिएका हाम्रा नेपाली एम्बेसीहरू र नेपाल टुरिजम बोर्ड, हामी निजी क्षेत्र सबैजना यसमा लागि परेका छौँ । अझ यसलाई स्टेप–अप गर्नुपर्छ, अझ बढाउनुपर्छ, प्रवद्र्धन कार्यक्रम अविलम्व छिटो भन्दा छिटो जानैपर्ने अवस्था छ । त्यो गरेको खण्डमा हामीले धेरै बजार गुमाउँदैनौँ । फेरि पनि हामीले फेरि त्यसलाई रिकभर गर्न सक्ने अवस्था छ ।’
उनकाअनुसार नेपाल आउने पर्यटकहरु अधिकांश पदयात्रा, पर्वतारोहण र ¥याफ्टिङजस्ता साहसिक पर्यटनमा आकर्षित हुने गरेका छन् । यस्ता पर्यटक जोखिमबारे जानकार हुने भएकाले प्राकृतिक विपत्तिका कारण समग्र नेपालको पर्यटन प्रभावित हुने अवस्था आउन नदिन वास्तविक अवस्थाबारे सही सूचना संप्रेषण गर्नुपर्ने बताएका छन् । उनले भूकम्प र कोभिड महामारीका बेला पनि नेपाली पर्यटन क्षेत्रले चुनौती सामना गरेको स्मरण गर्दै यसपटक पनि सरकार र निजी क्षेत्रबीच समन्वय गरेर योजनावद्ध रूपमा अघि बढे पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।
प्रकाशित मिति: १३ आश्विन २०८३, मंगलवार