काठमाडौँ।पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बाढी र पहिरोले अवरुद्ध भएका मुख्य राजमार्गहरू दसैँअघि नै सुचारु गरिने बताएका छन्
सोमवार बसेको पूर्वाधार विकास समितिको बैठकमा सचिव सिग्देलले चाडपर्व लक्षित यातायात व्यवस्थापन, पोडवे परियोजना र तौल पुलको समस्याका बारेमा सांसदहरूको जिज्ञासामा यस्तो प्रतिवद्धता जनाएका हुन् । सचिव सिग्देलले पछिल्लो बाढी–पहिरोले कालीगण्डकी करिडोर, पृथ्वी र त्रिभूवन राजमार्गलगायतका सडक सञ्जालमा पु¥याएको क्षतिबारे जानकारी गराउँदै मन्त्रालयले ‘फुल इफोर्ट’मा काम गरिरहेको बताएका छन् । उनले विशेषगरी पृथ्वी राजमार्गलाई २४ घण्टाभित्र र वीपी राजमार्गलाई दसैँअगावै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जानकारी दिएका छन् । यातायात व्यवसायीसँगको समन्वयमा अग्रिम बुकिङ र प्रभावकारी अनुगमनको तयारी भइरहेको उल्लेख गर्दै सचिव सिग्देलले स्मार्ट ट्राफिक व्यवस्थापनका लागि प्रविधिको प्रयोगमा मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् ।
उनले भने, ‘हामीले अनुगमनलाई कडाइ गर्नेछौँ र संसदीय समितिले दिने निर्देशनलाई पूर्ण पालना गर्छौँ । पोडवे आफैँमा पूर्ण टेस्टेड प्रविधि नभए पनि लगानीकर्ता विश्वसनीय छन् भने हामी बाजागाजासहित स्वागत गर्न तयार छौँ ।’
पोडवे परियोजनाका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले मन्त्रालयले विदेशी लगानीलाई सधैँ स्वागत गर्ने तर लाइसेन्स ओगटेर काम नगर्ने प्रवृत्तिप्रति भने सरकार गम्भीर रहेको स्पष्ट पारेका छन् । यस्तै, लामो समयदेखि बिग्रिएर विवादित बनेको रामनगरको तौल पुल (वे–ब्रिज) का सम्बन्धमा समितिले एक हप्ताभित्र काम सक्न निर्देशन दिएको छ । सो पुलमा ६५० को आइ–बिम राखेर रिफर्बिस गरिने र एक हप्ताभित्र काम सम्पन्न गर्ने सचिवले प्रतिवद्धता जनाएका छन् । समितिका सदस्यहरूले भौतिक पूर्वाधारसँग जोडिएका यस्ता विषयमा थप गहिरो छलफल आवश्यक रहेको भन्दै उपसमितिमार्फत अनुगमन गर्ने निर्णय गरेका छन् ।
प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार