काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै तीन वर्षपछि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको सम्भावना बलियो बनेको छ ।
फ्लाई दुबईको जहाज पोखरामा अवतरण गरेसँगै पोखराका पर्यटन व्यवसायीहरूमा पुनः आशाको किरण देखिएको हो । जसले लामो समयदेखिको व्यावसायिक शुन्यता अन्त्य हुने अपेक्षा जगाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएयता व्यावसायिक रूपमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । विगतमा हिमालय एयरलाइन्सले पोखरा-ल्हासा उडानको प्रयास गरे पनि यात्रु अभावका कारण सो सेवा निरन्तर हुन सकेन । जसका कारण विमानस्थलको पूर्ण उपयोगमाथि प्रश्न उठ्दै आएको थियो ।
यद्यपि, पछिल्लो समय फ्लाई दुबईको जहाजको अवतरणले पर्यटन क्षेत्रलाई थप उत्साहित बनाएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलकाअनुसार नियमित अन्तर्राष्ट्रिय उडानले पोखरालाई विश्वका पर्यटकीय गन्तव्यसँग प्रत्यक्ष जोड्ने र यहाँको अर्थतन्त्रमा समेत टेवा पुर्याउने निश्चित छ । उहाँले उडान नियमित हुनु नै पोखराको पर्यटनको मेरुदण्ड भएको बताएका छन् ।
पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने उद्देश्यसहित निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको जहाज अवतरण भएसँगै स्थानीय व्यवसायी तथा नागरिकमा उत्साह छाएको छ । भुजेलले फ्लाई दुबईको यस ऐतिहासिक आगमनले पोखराको पर्यटन विकासमा नयाँ कोशेढुङ्गा सावित गरेको प्रतिक्रिया दिनुभयो । उहाँकाअनुसार फ्लाई दुबई विश्वका २५० भन्दा बढी अन्तर्राष्ट्रिय शहरहरूसँग जोडिएको एयरलाइन्स भएकाले यसले पोखरालाई सिधै विश्वबजारसँग जोड्ने बलियो आधार खडा गरेको छ । यो उडान पोखरा र गण्डकी प्रदेशका लागि मात्र नभई सातवटै प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण हुने भुजेलले बताएका छन् । यद्यपि, अन्तर्राष्ट्रिय उडान शुरु हुनु जत्तिकै यसको निरन्तरता र दिगो व्यवस्थापन चुनौतीपूर्ण रहेको व्यवसायीहरूको बुझाइ छ । अध्यक्ष भुजेलले अन्तर्राष्ट्रिय उडानहरूलाई सफल र नियमित बनाउन स्थानीय, प्रदेश र संघीय सरकारसहित राजनीतिक दल, निजी क्षेत्र र सम्पूर्ण सरोकारवाला निकायहरूको साझा सहकार्य आवश्यक रहेको औँल्याएका छन् । उडानको दिगोपन सुनिश्चित गर्नसके यसले नेपालको उड्डयन र पर्यटन क्षेत्रमा सुनौलो इतिहास रच्ने अपेक्षा गरिएको छ ।
नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले उडानको सम्भावनालाई मूर्त रूप दिन विदेशमा आधारित प्रवद्र्धनात्मक अभियानको खाँचो औंल्याए । उनले ‘जाऊँ है पोखरा’ अभियानलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताउँदै पोखराको पर्यटन विकासका लागि पर्यटन व्यवसायी, नागरिक समाज र सञ्चारकर्मीलाई सहकार्य गर्न आह्वान गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमता र दिगो रूपमा सञ्चालन गर्न विश्वभर छरिएर रहेका नेपाली तथा सरोकारवालाहरूले कम्तीमा तीन महिना हातेमालो गर्नुपर्ने पोखरेलले बताएका छन् । अन्तर्राष्ट्रिय उडानले पर्यटकको बसाइ लम्ब्याउन र आगमन बढाउन प्रत्यक्ष योगदान पुर्याउने उल्लेख गर्दै उनले पोखराबाटै यात्रा गरिदिन सबैमा अपिल गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने व्यावसायिक अन्तर्राष्ट्रिय उडानलाई दिगो बनाउन निजी क्षेत्र, सञ्चारमाध्यम तथा विश्वभर रहेका नेपाली समुदायको साझा प्रयास आवश्यक रहेको बताएका छन् । उनकाअनुसार पोखरामा सिधै अवतरण गर्ने वातावरण बन्दा पर्यटकहरूको बसाइ अवधि बढ्ने र स्थानीय अर्थतन्त्र चलायमान हुनेछ ।
उडानको प्रभावबारे चर्चा गर्दै पोखरेलले भने, ‘पोखरा मन पराउने अन्तर्राष्ट्रिय पाहुनाहरू सिधै यहाँ आउँदा उनीहरूको बसाइ लम्बिनेछ भने वाह्य पर्यटकको आवागमन पनि उल्लेख्य रूपमा बढ्नेछ । यसका साथै विदेश जाने स्वदेशी यात्रुहरूले पनि दुई दिन पोखरा घुमेर यहीँबाट उडान भर्न सक्ने भएकाले आन्तरिक पर्यटनमा समेत तत्काल सकारात्मक प्रभाव देखिनेछ । अहिले फ्लाई दुबई वा अन्य अन्तर्राष्ट्रिय उडानमार्फत यात्रा गर्नु केवल उड्नु मात्र नभई पोखराको समग्र समृद्धिलाई सहयोग गर्नु हो ।’
पर्यटन व्यवसायी गोपी भट्टराईले नियमित उडान शुरु भएमा होटल, यातायात र समग्र पर्यटन व्यवसायले नयाँ जीवन पाउने विश्वास व्यक्त गरेका छन् । लामो समयदेखिको प्रतीक्षापछि पोखरामा सुरु भएको फ्लाई दुबईको नियमित उडानले पश्चिमाञ्चल क्षेत्रको समृद्धिको ढोका खोलेको छ । पर्यटन व्यवसायी भट्टराईकाअनुसार दुबई विश्वकै एक प्रमुख ट्रान्जिट हब भएकाले यो उडानमार्फत पोखरा सिधै विश्वका २४० भन्दा बढी सहरहरूसँग जोडिएको छ । पछिल्लो समय विमानस्थलको धावनमार्ग र क्षमताका विषयमा फैलिएका आशङ्काहरू यस उडानले पूर्णरूपमा मेटाएको छ ।
उनले भने, ‘आजको उडानले सबै जिज्ञासाहरूको जवाफ दिएको छ । फुल लोडमा प्लेन अवतरण र उडान हुनुले यो विमानस्थल अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक उडानका लागि पूर्णतः सक्षम छ भन्ने प्रमाणित गरेको छ ।’
दशैँ, तिहार र नयाँ वर्षजस्ता चाडपर्वको मुखैमा शुरु भएको यो उडानले यात्रुहरूको चापलाई समेत सम्बोधन गर्नेछ । काठमाडौंको तुलनामा पोखराबाट पाँच हजार रुपैयाँ सस्तो दरमा उडान सुविधा उपलब्ध गराइनुले पनि यसको लोकप्रियता बढ्ने देखिन्छ । भट्टराईकाअनुसार यो उडानका लागि विगत एक वर्षदेखि निरन्तर गृहकार्य भइरहेको थियो । अबका दिनमा श्रम स्वीकृतिलगायतका प्राविधिक प्रक्रियाहरू पोखराबाटै सहज बनाउनुपर्ने आवश्यकता रहेको उनले औंल्याए । यो शुरुवातसँगै एयर अरेबिया, इमिरेट्स र इन्डिगोलगायतका अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले पनि पोखरामा उडानको तयारी थालिसकेको दाबी गरिएको छ ।
सरोकारवालाहरूकाअनुसार अबको मुख्य चुनौती भनेको उडानलाई केवल चार्टर्डमा मात्र सीमित नराखी नियमित व्यावसायिक तालिकामा कसरी लैजाने भन्ने नै हो ।
प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार