काठमाडौं । नेपाली काँग्रेसका नेता एवं मधेश प्रदेशसभा सदस्य रामसरोज यादवले सभापति गगनकुमार थापामाथि गरिएको तल्लो स्तरको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।
जनकपुरधाम उपमहानगर अधिवेशनलाई सम्बोधन गर्दै उनले सभापति थापालाई ‘ग्याङ्स्टर’ भनी आरोप लगाउनेहरूलाई ‘विनाशकाले विपरीत बुद्धि’ भन्दै कटाक्ष गरेका हुन् । नेता यादवले नाम नलिई काँग्रेसका एक पूर्वउपसभापतिप्रति लक्षित गर्दै पार्टीका जिम्मेवार तहमा रहेका नेताहरूको पछिल्लो अभिव्यक्ति ‘बौखलाहट’ र ‘नैतिकताविहीन’ भएको आरोप लगाएका छन् । यादवले डिजिटल युगमा कसैको पनि विगत र वर्तमानका अभिव्यक्ति लुक्न नसक्ने भन्दै चेतावनीको भाषा प्रयोग गरेका छन् ।
उनले भने, ‘विनाश आउने बेलामा बुद्धि बिग्रिन्छ, हाम्रा यहाँका नेता त्यही नियतिको सिकार भएका छन् । जसले महामन्त्री थापालाई ग्याङ्स्टर भन्छन्, उनीहरूको शब्द चयन नै दुर्भाग्यपूर्ण छ । टिकट लिने बेलामा गगन थापालाई मेरो नेता र भावी प्रधानमन्त्री भन्दै हिँड्नेहरू, आज त्यही व्यक्तिलाई गाली गरेर आफ्नो इमानदारिता प्रदर्शन गर्दै हुनुहुन्छ ?’
काँग्रेस एक लोकतान्त्रिक पार्टी भएकाले राजनीतिमा नैतिकता र इमानदारिता सर्वोपरि हुनुपर्ने उनको भनाइ छ । पुरानो ‘ब्याज’ खाएर राजनीति गरिरहेका पुराना पुस्ताका नेताहरूलाई अब युवा पुस्ताका लागि ठाउँ खाली गरिदिनुपर्ने उनको जोड छ । देशको हरेक राजनीतिक परिवर्तनमा युवाहरूको भूमिका अग्रणी रहेकाले अबको राजनीतिले पनि युवा नेतृत्वलाई नै अवसर दिनुपर्ने यादवले बताएका छन् । उनले सार्वजनिक मञ्चबाट प्रयोग गरिने अमर्यादित शब्दहरूले कार्यकर्तामा गलत सन्देश जाने भन्दै नेताहरूलाई संयमित हुन समेत आग्रह गरेका छन् ।
प्रकाशित मिति: १० आश्विन २०८३, शनिबार