काठमाडौं । नेपाली काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने भएको छ ।
शनिवार पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका नेता डा. प्रकाशशरण महतले मंसिरको २१, २२ र २३ गते पार्टीको महाधिवेशन गर्न लागिएको जानकारी दिएका छन् । उनले त्यसको तयारीका लागि असोजको १५ गतेबाट वडा अधिवेशन शुरु हुने जानकारी दिएका छन् । एकताको महाधिवेशनका लागि प्रयास गरे पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको जानकारी दिए । पछिल्ला दिनमा भएको व्यापक वर्षाका कारण केही काममा ढिलाइ भएपनि केन्द्रिय कार्यालयबाट गर्नुपर्ने तयारी अघि बढिरहेको बताएका छन् । सम्भव भएसम्म स्थानीय वकिल, पूर्वशिक्षक तथा निर्वाचन सम्पन्न गर्ने अनुभव भएका व्यक्तिहरूको सहयोग लिएर अधिवेशन छिटोछरितो रूपमा सम्पन्न गर्ने जानकारी दिएका छन् । नवीकरण भएका तथा नयाँ प्राप्त क्रियाशील सदस्यहरूको सूची अनलाइनमार्फत जिल्ला हुँदै वडासम्म पठाइन र छुटेका व्यक्तिहरूले पनि आवश्यक प्रक्रिया पूरा गरी आश्विन १५ गतेभित्र क्रियाशील सदस्यता प्राप्त गर्ने व्यवस्था गरिने बताएका छन् ।
उनले भने, ‘आश्विन १५ गतेबाट वडा अधिवेशन शुरु हुन्छ । केन्द्रिय महाधिवेशन मङ्सिर २१, २२ र २३ गते सम्पन्न गर्ने तयारी छ । हामीले एकताको महाधिवेशनका लागि प्रयास गरेका थियौँ । त्यसका लागि सबै ढोका खुला राखेर प्रयास गर्दा पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको छ । त्यसैले अहिले आपतकालीन मोडमा तयारी अघि बढाइएको छ । पछिल्ला दिनमा भएको व्यापक वर्षाका कारण केही काममा ढिलाइ भएपनि केन्द्रिय कार्यालयबाट गर्नुपर्ने तयारी अघि बढिरहेको छ । पार्टीका साथीहरूमा सक्रिय सदस्यता, निर्वाचन अधिकृत तथा अधिवेशनसम्बन्धी स्वाभाविक जिज्ञासा छन् । निर्वाचन समितिमार्फत निर्वाचन अधिकृतहरू अब एक–दुई दिनमै जिल्लामा पुग्नुहुनेछ । सम्भव भएसम्म स्थानीय वकिल, पूर्वशिक्षक तथा निर्वाचन सम्पन्न गर्ने अनुभव भएका व्यक्तिहरूको सहयोग लिएर अधिवेशन छिटोछरितो रूपमा सम्पन्न गरिनेछ । नवीकरण भएका तथा नयाँ प्राप्त क्रियाशील सदस्यहरूको सूची अनलाइनमार्फत जिल्ला हुँदै वडासम्म पठाइनेछ । छुटेका व्यक्तिहरूले पनि आवश्यक प्रक्रिया पूरा गरी आश्विन १५ गतेभित्र क्रियाशील सदस्यता प्राप्त गर्ने व्यवस्था गरिनेछ । वर्षाका कारण कुनै वडामा आश्विन १५ गते अधिवेशन सम्पन्न हुन नसकेमा सम्बन्धित निर्वाचन अधिकृतले जिल्ला संयोजन समिति र जिल्ला समितिसँगको सल्लाहमा आवश्यक निर्णय गर्नेछन्। त्यस्ता वडामा स्थानीय परिस्थितिअनुसार आश्विन १६ वा १७ गतेसम्म अधिवेशन सम्पन्न गर्न सकिनेछ ।’
नेता महतले वर्षाका कारण कुनै वडामा आश्विन १५ गते अधिवेशन सम्पन्न हुन नसकेमा सम्बन्धित निर्वाचन अधिकृतले जिल्ला संयोजन समिति र जिल्ला समितिसँगको सल्लाहमा आवश्यक निर्णय गर्ने बताएका छन् । त्यस्ता वडामा स्थानीय परिस्थितिअनुसार आश्विन १६ वा १७ गतेसम्म अधिवेशन सम्पन्न गर्न सकिने जानकारी दिएका छन् ।
प्रकाशित मिति: १० आश्विन २०८३, शनिबार