जर्मनी । नेपालमा हालै आएको आकस्मिक बाढीबाट ज्यान गुमाएका नागरिकको सम्झनामा जर्मनीको फ्राङ्कफर्टस्थित ऐतिहासिक रोमरबर्ग (Römerberg) मा शान्तिपूर्ण दीप प्रज्वलन तथा ऐक्यबद्धता कार्यक्रम आयोजना गरिएको छ।
एनआरएनए एलसीसी हेस्सेन ईभी (NRNA LCC Hessen e.V.)को आयोजनामा भएको कार्यक्रममा नेपाली समुदायसहित विभिन्न देशका प्रतिनिधि, सामाजिक अभियन्ता, शान्ति तथा मानवअधिकारका क्षेत्रमा सक्रिय व्यक्तित्व, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नेपालका शुभेच्छुकहरूको सहभागिता थियो।
कार्यक्रममा बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो भने प्रभावित परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिएको थियो। सहभागीहरूले विपद्को यस कठिन घडीमा नेपाल र नेपाली जनताप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सहयोग तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षणको आवश्यकता औँल्याएका थिए।
कार्यक्रम आयोजक मध्येका एक सन्तोष भट्टका अनुसार, नेपालमा बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउनुका साथै जलवायु परिवर्तनका कारण बढ्दो विपद्को जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा फ्राङ्कफर्टका नगर प्रमुख माइक जोसेफ (Oberbürgermeister Mike Josef) ले नेपालप्रति ऐक्यबद्धता व्यक्त गर्दै सम्बोधन गरेका थिए। आयोजकले Stadt Frankfurt, Ordnungsamt Frankfurt तथा Polizeipräsidium Frankfurt लाई कार्यक्रमका लागि आवश्यक सहयोग र समन्वय गरेकोमा धन्यवाद दिएको छ।
कार्यक्रममा आशा माई मन्दिर फ्राङ्कफर्टका अध्यक्ष जगन्नाथ जी, सुश्री Kyate, भारतीय समुदायका प्रतिनिधि तथा अगुवा, विभिन्न देशका प्रतिनिधि, HWPL Frankfurt, शान्ति तथा मानवअधिकार अभियन्ता, साझेदार संघसंस्था, शुभेच्छुक तथा नेपाली डायस्पोरा समुदाय**को सहभागिता रहेको आयोजकले जनाएको छ।
दीप प्रज्वलन कार्यक्रममा सहभागीहरूले नेपालमा विपद्का कारण प्रभावित नागरिकको पीडामा आफूहरू साथमा रहेको सन्देश दिएका थिए। उनीहरूले प्राकृतिक विपद्बाट हुने मानवीय क्षति न्यूनीकरणका लागि पूर्वतयारी, प्रभावकारी विपद् व्यवस्थापन, वातावरणीय संरक्षण तथा जलवायु परिवर्तनसम्बन्धी सचेतना आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रमले नेपालमा भएको विपद्प्रति जर्मनीमा रहेका नेपाली समुदायसँगै विभिन्न मुलुकका समुदायबीच मानवीय ऐक्यबद्धता प्रदर्शन गरेको आयोजकको भनाइ छ। सहभागीहरूले विपद्का पीडितप्रति सम्मान व्यक्त गर्दै नेपालमा दीर्घकालीन विपद् जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशीलताका लागि सामूहिक पहल आवश्यक रहेको बताएका थिए ।








प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार