काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शक्ति राष्ट्रहरूबीचको प्रतिष्पर्धाका कारण उत्पन्न जलवायु तथा वातावरणीय समस्याको नेपालले मार खेप्न नहुने बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उनले शक्ति राष्ट्रहरूले गर्ने अत्याधिक खर्च र विकासका कारण उत्पन्न जलवायु परिवर्तनको असर नेपालजस्ता कमजोर मुलुकले भोग्नुपरेको बताएकी छिन् । पूर्वराष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको असर न्युनिकरण तथा संरक्षणका लागि शक्ति राष्ट्रहरूले गर्ने खर्च र उनीहरूले गर्ने विकासको स्तरबीचको सम्बन्धबारे प्रश्न उठाएकी छिन् । उनले जलवायु परिवर्तनको असरमा वर्गीयता समेत प्रकट भएको बताइन् । हिन्दकुश हिमालय क्षेत्रका राष्ट्रहरूको आवाज अन्तर्राष्ट्रिय मञ्चमा बलियो रूपमा उठाउन इसिमोड जस्ता संस्थाको भुमिका महत्वपूर्ण रहेको उनको भनाइ छ । संयुक्त राष्ट्रसंघमा शक्तिशाली राष्ट्रहरूको प्रभाव बढी हुने र नेपालजस्ता मुलुकसँग त्यस्तो प्रभावकारी शक्ति नरहेको उल्लेख गर्दै उनले सामूहिक रूपमा आवाज उठाउनुपर्ने बताइन् । उनले हिमाल तथा पहाडी क्षेत्र कमजोर बन्दै गएको विषय आजको मात्रै नभई लामो समयदेखि देखिँदै आएको समस्या भएको बताएकी छिन् । हिमाल तथा पहाडको संरक्षणका लागि त्यसअनुसारको नीति र कार्यक्रम बनाउनुपर्नेमा उनले जोड दिइन् । विकास र प्रविधिको तिब्र विस्तारसँगै त्यसका नकारात्मक असर पनि बढिरहेको उनको भनाइ छ । विद्युत अभाव हुँदा कोइला प्रयोग गर्ने, यातायातका लागि पेट्रोलियम पदार्थमा निर्भर हुनेलगायतका गतिविधिले वातावरणमा थप असर पारिरहेको उनले बताइन् । उनले जलवायु परिवर्तनमा मानव सिर्जित कारणको भुमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई न्युनिकरण गर्न विकसित प्रविधि र स्रोतसाधनको प्रयोग वातावरण संरक्षणमै केन्द्रित गर्नुपर्ने बताएकी छिन् ।
उनले भनिन् , ‘शक्ति राष्ट्रहरूको प्रतिष्पर्धाको हामी पीडित बन्नु हुँदैन । तर जलवायु परिवर्तनको असर र त्यसबाट हुने क्षति हेर्दा संसार वर्गीय रहेछ भन्ने देखिन्छ । शक्ति राष्ट्रहरूले विकास र प्रविधिमा ठूलो खर्च गरे पनि जलवायु परिवर्तनबाट हुने असर न्युनिकरण र संरक्षणमा त्यहीअनुसार लगानी भएको देखिँदैन । हिन्दकुश क्षेत्रका राष्ट्रहरूको आवाज संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमा बलियो रूपमा उठ्नुपर्छ । हाम्रो भिटो छैन, हाम्रो आर्थिक र राजनीतिक शक्ति पनि सीमित छ। त्यसैले सामूहिक रूपमा आवाज उठाउनु आवश्यक छ । हाम्रा पहाड र हिमाल कमजोर हुँदै गएको विषय आजको मात्र होइन, धेरै अघिदेखि उठ्दै आएको हो । मानव सिर्जित समस्याले यसलाई थप जटिल बनाएको छ । विकास र प्रविधिको नकारात्मक प्रभाव पनि यसमा जोडिएको छ । त्यसैले हिमाल, पहाड र समग्र पर्यावरण संरक्षणका लागि आवश्यक लगानी र नीति निर्माण गर्नुपर्छ । हिन्दकुश क्षेत्रका देशहरूबीच सहकार्य गरेर अन्तर्राष्ट्रिय मञ्चमा साझा आवाज उठाउनु अहिलेको आवश्यकता हो ।’
नेपाल आर्थिक तथा राजनीतिक रूपमा समेत कमजोर अवस्थामा रहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज बलियो बनाउन हिन्दकुश हिमालय क्षेत्रका देशहरूबीच सहकार्य आवश्यक रहेको बताएकी छिन् ।
प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार