Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

‘देश दुःखिरहेका बेला क्रिकेटमार्फत भएपनि खुशी दिन पाउँदा गर्व लागेको छ’– सन्दीप


‘देश दुःखिरहेका बेला क्रिकेटमार्फत भएपनि खुशी दिन पाउँदा गर्व लागेको छ’– सन्दीप

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका एकदिवसीयतर्फका कप्तान सन्दीप लामिछानेले देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला क्रिकेट टोलीले हासिल गरेको सफलताले नेपालीमा खुशी ल्याउन सकेकोमा गर्व लागेको बताएका छन् ।

एसीसी प्रिमियर कपको उपाधि जितेर आईतवार राति स्वदेश फर्किएका उनले टोलीको सफलताका पछाडि खेलाडी मात्र नभई समर्थक र पर्दापछाडिका सबैको योगदान रहेको बताएका हुन् । शनिवार संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्नुका साथै दोस्रोपटक एशिया कपमा स्थान पक्का गरेको थियो । यसअघि नेपाल सन् २०२३ मा पहिलोपटक एशिया कपमा छनोट भएको थियो । स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै कप्तान लामिछानेले पछिल्लो सफलतालाई नेपाली क्रिकेट सही दिशामा अघि बढिरहेको बताएका छन् ।

लामिछानेले भने, ‘देश दुःखिरहेको बेला क्रिकेटको माध्यमबाट भए पनि खुशी दिन सकिएको छ । त्योभन्दा पनि नेपाल दुःखिरहेको बेला सबैले एक–अर्कालाई साथ दिइरहनुभएको थियो, त्यो निकै प्रशंसनीय थियो ।’

ओमानविरुद्धको सेमिफाइनलमा नेपाल १४७ रनमै अलआउट भएपछि पनि टोलीले आत्मविश्वास नगुमाएको लामिछानेले बताए । उनले उक्त खेलमा आफ्नो आधारभुत क्षमतामा केन्द्रित हुँदै अन्तिम खेलजसरी खेल्ने रणनीति बनाएको बताएका छन् । नेपालले ओमानलाई केवल ६० रनमा अलआउट गर्दै सेमिफाइनलमा शानदार जित निकालेको थियो । लामिछानेकाअनुसार खेलाडीहरूले ‘आफ्नो देशका लागि वा जीवनकै अन्तिम खेल खेलेजसरी’ मैदानमा उत्रिने र प्रत्येक बलमा शतप्रतिशत प्रयास गर्ने योजना बनाएका थिए । बलिङपछि ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरी र बसिर अहमदले टोलीलाई सम्हालेर अघि बढाएको प्रदर्शन पनि उहाँले प्रशंसनीय रहेको बताए ।

फाइनलमा नेपालले पहिले ब्याटिङ गर्दै ३१३ रन बनाएको थियो । कप्तान लामिछानेले फाइनलका लागि विकेट राम्रो भएकाले टस जितेर ब्याटिङ रोज्नु सही निर्णय भएको बताए । आसिफ शेखको शतकसहित नेपाली ब्याटरहरूले राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै उनले बलिङतर्फ पनि टोलीले शुरुवाती विकेट निकाल्न सके खेलमा फर्किन सकिने विश्वास रहेको बताए । यूएईका राहुल चोपडाले राम्रो ब्याटिङ गरेपछि केही समय दबाब सिर्जना भएपनि खेल अन्तिम ओभरसम्म पुग्न सक्ने आँकलन टोलीले गरेको लामिछानेको भनाइ छ ।

कप्तान बनेको पहिलो सिरिजमै नेपाललाई उपाधि दिलाउँदै आफू म्यान अफ द टूर्नामेन्ट बन्न सफल भएपनि लामिछानेले व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित ठूलो भएको बताए । उनले दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, गुल्शन झा, ललित राजवंशी, करण केसी, आसिफ शेख, रोहित पौडेललगायत सबै खेलाडीको योगदान उत्तिकै महत्वपूर्ण रहेको बताएका छन् ।

उनले भने, ‘म्यान अफ द टूर्नामेन्ट व्यक्तिगत रूपमा खुशी लाग्ने उपलब्धि हो । तर टिमको जितमा योगदान गर्न पाएँ भन्ने कुराले अझ खुशी छु । यसको क्रेडिट सबैलाई जान्छ ।’

लामिछानेले प्रशिक्षक, सहायक प्रशिक्षक, ट्रेनर, फिजियो, टेक्निकल एनालिस्ट, व्यवस्थापक तथा अन्य सहयोगी कर्मचारीलाई पनि टोलीको सफलताको ‘पर्दापछाडिका हिरो’का रूपमा स्मरण गरेका छन् । प्रिमियर कपको उपाधिपछि नेपाली टोलीको ध्यान अब आगामी प्रतियोगितातर्फ केन्द्रित हुने लामिछानेले बताएका छन् । केही दिन आराम गरेपछि एशियन गेम्स र त्यसपछि एसिया कपका लागि तयारी शुरु गरिने उनले जानकारी दिएका छन् । नेपालले पछिल्लो सफलतासँगै एशिया कपमा दोस्रोपटक स्थान बनाएको छ । सन् २०२३ मा पहिलोपटक एशिया कप खेलेको नेपालले यसपटक पनि एशियाली क्रिकेटका ठूला टोलीसँग प्रतिष्पर्धा गर्ने अवसर पाएको छ ।


प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?