Trending
>>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न… >>   चार महिनामै ८ खर्ब बढीको वस्तु आयात >>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली >>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले
Logo
९ मंसिर २०८३, बुधबार
९ मंसिर २०८३, बुधबार

बाढीले रसुवा र नुवाकोटका १३ जलविद्युत आयोजनामा ठूलो क्षतिः ७४८ मेगावाट बिजुली उत्पादन तथा निर्माण ठप्प


काठमाडौँ। चीनमा भएको अविरल वर्षापछि भोटोकोशीमा आएको भीषण बाढीले नेपालमा ठूलो जनधनको क्षति गरेको छ ।

मुख्य ऊर्जा हब मानिने रसुवा र नुवाकोट जिल्लाका १३ वटा प्रमुख जलविद्युत आयोजनाहरूमा व्यापक क्षति पु¥याएको छ । जल तथा मौसम विज्ञान विभाग र नेपाल विद्युत प्राधिकरण (नेविप्रा) तथा ऊर्जा प्रवद्र्धक कम्पनीहरूबाट प्राप्त प्रारम्भिक तथ्यांकअनुसार कुल ७४८.१२ मेगावाट क्षमताका आयोजनाहरू बाढीको प्रत्यक्ष चपेटामा परेका छन् । यसमध्ये सञ्चालनमा रहेका ८ वटा आयोजनाबाट उत्पादन भइरहेको ३५४.१ मेगावाट विद्युत राष्ट्रिय ग्रिडबाट विच्छेद भएको छ भने ३९४ मेगावाटका ५ निर्माणाधीन आयोजनाका सिभिल तथा हाइड्रोमेकानिकल संरचना क्षतिग्रस्त बनेका छन् ।

बाढीसँगै नदीमा आएको अत्यधिक बालुवा, लेदो र जलमग्नताका कारण सञ्चालनमा रहेका आयोजनाहरू तत्काल बन्द गर्नुपरेको छ । रसुवा जिल्लामा निजी क्षेत्रबाट सञ्चालित १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सान्जेन खोला, २२ मेगावाटको चिलिमे र २० मेगावाटको लाङटाङ खोला गरी २३१ मेगावाट विद्युत उत्पादन बन्द भएको छ ।

त्यसैगरी नुवाकोट जिल्लामा नेपाल विद्युत प्राधिकरण मातहतका ४ सरकारी आयोजनाहरू–६० मेगावाटको माथिल्लो त्रिशूली–३ए, २४ मेगावाटको ऐतिहासिक त्रिशूली जलविद्युत, १४.१ मेगावाटको देवीघाट र २५ मेगावाटको नुवाकोट ग्रिड सोलार गरी कुल १२३.१ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ । विद्युत उत्पादन एकैपटक ३५४ मेगावाटभन्दा बढी गुम्दा काठमाडौं उपत्यका र आसपासका औद्योगिक कोरिडोरमा विद्युत व्यवस्थापनमा ठूलो चुनौती थपिएको छ ।

बाढीले निर्माणाधीन जलविद्युत आयोजनाहरूमा अझ बढी विध्वंश मच्चाएको छ । रसुवामा निर्माण भइरहेको २१६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको निजी आयोजना ‘माथिल्लो त्रिशूली–१को पहुँचमार्ग, एडिफ टनेल र साइट क्याम्पमा ठूलो क्षति पुगेको छ ।
यसैगरी १२० मेगावाटको रसुवा–भोटेकोशी र ६.४२ मेगावाटको माथिल्लो मैलुङ–ए का बाँध र पेनस्टक संरचना बाढीले बगाएको छ । रसुवामा मात्रै निर्माणाधीन ३ वटा आयोजनाको ३४२.४२ मेगावाट क्षमता प्रभावित भएको छ ।

नुवाकोट तर्फ ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी (जनताको जलविद्युत कार्यक्रम) र १५.६ मेगावाटको मिडल त्रिशूली गंगा गरी ५२.६ मेगावाटका २ आयोजनामा बाढी पसेर सिभिल संरचना तथा निर्माण सामग्री नष्ट भएका छन् ।

तथ्यांक विश्लेषण गर्दा बाढीको सर्वाधिक मार निजी ऊर्जा प्रवद्र्धकहरूमाथि परेको देखिन्छ । कुल १३ आयोजनामध्ये ९ वटा निजी क्षेत्रका प्रवद्र्धक कम्पनीहरूका रहेका छन्, जसको कुल क्षमता ६२५ मेगावाट (८३.५%) रहेको छ । सरकारी स्वामित्व (नेपाल विद्युत प्राधिकरण) अन्तर्गत नुवाकोटमा रहेका ४ वटा सञ्चालित आयोजनाहरूको १२३.१ मेगावाट (१६.५%) क्षमता प्रभावित भएको छ। सरकारी तर्फ निर्माणाधीन कुनैपनि आयोजना यस क्षेत्रमा शून्य रहेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले प्रारम्भिक अनुमानअनुसार निजी क्षेत्रका हाइड्रोपावरमा मात्र ५ अर्ब रुपैयाँभन्दा बढीको भौतिक नोक्सानी भएको जनाएको छ ।

त्रिशूली–काठमाडौं प्रशारण लाइन तथा स्याफ्रुबेँसी–रसुवागढी जोड्ने पासाङ ल्हामु राजमार्ग दर्जनौँ ठाउँमा पहिरोले अवरुद्ध भएकाले आयोजना स्थलसम्म प्राविधिक टोली र हेभी उपकरण पु¥याउन कठिन भएको छ । लाङटाङ खोला आयोजनाको २ वटा ट्रान्समिसन टावर ढलेका छन् भने माथिल्लो त्रिशूली–३ए को स्विचयार्ड नजिकैको डाँडो भासिएकाले तत्काल रोकथामको काम थालिएको छ ।

नेपाल विद्युत प्राधिकरणकाअनुसार पहिरो सफा गर्ने र नदीको सतह घट्ने बित्तिकै आकस्मिक मर्मत गरी १ देखि ३ हप्ताभित्र सञ्चालनमा रहेका आयोजनाहरूबाट क्रमशः बिजुली उत्पादन शुरु गरिनेछ ।


प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?